नेपाली कांग्रेसको महाधिवेशनले प्रजातान्त्रिक अभ्यासमा सबैलाई उछिन्यो। भर्खरै सकिएको नेकपा एमालेको महाधिवेशन छायाँमा पर्यो। पार्टी अध्यक्ष केपी शर्मा ओलीको खल्तीबाट जन्मिएका पदाधिकारी र केन्द्रीय सदस्यको तुलना हरिया ड्रममा झरेका मतसँग तुलना गरियो। प्रविधिमैत्री एमाले महाधिवेशनको विपरीत हरिया ट्याङ्कीमा परम्परागत मतपत्र खसाउने कांग्रेसको अभ्यासलाई धेरैले रुचाए। लोकतान्त्रिक अभ्याससँगको तुलनामा पछि पर्यो, प्राविधिक रुपमा चुस्त भएको एमालेको अभ्यास। एमालेमा ओलीको स्तुतीगान गाउनेहरुले पुरस्कार पाए, कांग्रेसमा आलोचना गर्नेहरु पनि पुरस्कृत भए। कांग्रेसको महाअधिवेशन जारी रहँदा ओलीको खल्तीबाट केन्द्रीय सदस्यका नाम चुहिनेक्रम जारी रह्यो। होनाहार कार्यकर्ताका नाम मेटिँदा, मार्सीहरु जोडिए। दुई महाधिवेशन बिच भिन्नताहरु धेरै नै रहे यसर्थ। तर, पनि समानता पनि उत्तिकै देखिए।
कांग्रेस महाधिवेशनले एउटा फरक परिदृश्य सामुन्ने ल्यायो। महाधिवेशनको मैदानमा बयोवृद्ध शेरबहादुर देउवा 'स्ववियू निर्वाचनमा खडा भएको ठीटो' झै चलायमान हुन वाध्य भए। जित पनि निकाल्न सके। संस्थापनमाथि लगातार आक्रमणमा उत्रिरहने गगन थापाले पदाधिकारीमा सबैभन्दा लोकप्रिय मत ल्याउन सफल रहे। दुवै परिणाम कति अलग? त्यसैका आधारमा कांग्रेसको महाधिवेशनलाई एमालेकोसँग तुलना भयो।
कांग्रेसको महाधिवेशन एमालेसँग तुलनायोग्य मात्र रह्यो त? होइन। कांग्रेसभित्रको प्रतिस्पर्धा र निर्वाचित हुनेहरुको सूचीले त्यहीँभित्र पनि तुलना गर्ने ठाउँहरु प्रशस्त छोड्यो। जसरी शेरबहादुर देउवा जित निकाल्न रात दिन मैदानमा खटिए त्यसैगरी खटिनेमा थिए केन्द्रीय सदस्यमा उम्मेदवार बन्नेहरु। त्यो सूचीमा त्रिभुवन विश्वविद्यालयमा निवर्तमानमा उपकूलपति प्राध्यापक डा तीर्थ खनिया पनि थिए। त्यही सूचीमा गणेश लामा पनि थिए। सार्वजनिक पहिचानमा लामा चाहिँ गुण्डा नाइके। मैदानमा खटिएका यी दुई पात्रले कांग्रेस र कांग्रेसी चरित्रलाई सबैभन्दा सहज रुपमा चित्रण गर्छन्। मैदानमा उत्रिएका एक प्राज्ञ र पटक पटक हिरासतको यात्रा गरेको 'डन'।
गणेश लामाले केन्द्रीय सदस्यको खुलातर्फको ३५ जनाको सूचीमा आफूलाई भित्र्याए। प्राध्यापक खनियाले हार बेहोरे। अब नेपाली कांग्रेसका युवा कार्यकर्ताले गणेश लामालाई 'दाइ, जय नेपाल' भन्नेछन्। प्रहरीले गुण्डाको सूचीबाट उनलाई अलग्याउनेछ। उनको पहिचान फेरिएको छ - केन्द्रीय सदस्य नेपाली कांग्रेस। अनि खनियाँलाई भनिने छैन - हरुवा कांग्रेस केन्द्रीय सदस्य। उनलाई पुकार्नेहरुले - प्राध्यापक नै भन्नेछन्, पूर्व उपकूलपति नै भन्नेछन्। गणेशको तुलना प्राध्यापक खनियासँग हुनु चाहिँ विडम्बना नै लाग्न सक्छ। तर, त्यसो होइन।
गणेश लामा समकालीन नेपाली समाजमा स्थापित गुण्डा हुन् जो पछि राजनीतिमा आए। तिनै गुण्डासँग चुनावी मैदानमा उत्रिएका खनिया स्थापित प्राध्यापक र नेपाली शैक्षिक क्षेत्रका एक 'डन' जस्तै हुन् जसको सधैं 'शैक्षिक सत्ता'मा डनगिरी चलिरह्यो। खनियामाथि बौद्धिक चोरीको आरोप नलागेको होइन। त्यसैले दुवै 'डन' शक्तिको आडमा सदा सत्ता नजिक रहिरहनेछन्। टेन प्लस टूदेखि त्रिभुवन विश्वविद्यालयसम्म सधैं 'गणेश लामा' नै बनिरहे खनिया। त्यसैले कांग्रेसको महाधिवेशनमा एउटा गणेशको जित हुँदा अर्का गणेशमात्र हारेका हुन्। गुण्डा र प्राज्ञिक बिच कांग्रेसको यस अधिवेशनमा प्रतिस्पर्धा भएको नै थिएन।
यसर्थमा केपी ओलीको खल्तीबाट झरेका नाम र कांग्रेसको निर्वाचनबाट आएका कतिपय अनुहारबिच अन्तर भेटिन्न। जसले अन्तर खोज्छ, त्यो उसको मुर्ख्याई हो। नेपाली समाजमा उन्नतिका लागि गणेश प्रवृत्तिका आफैँमा सबैभन्दा उत्कृष्ट प्रयोग हो। प्राज्ञिक आवरणमा तीर्थ खनियाले त्यही प्रवृत्ति रोजिरहे। कहिले सुशील कोइरालाका प्यारा भए त कहिले केपी शर्मा ओलीको। कुनै बेला प्रचण्डको परिक्रमा पनि जारी राखेका थिए उनले। त्यसैले गणेश लामाभन्दा उनमा ठूलो अन्तर भेटिन्न।
यतिमात्र हो, तीर्थले चुनाव हारे। गणेश लामासँग हारे। एउटा डनसँग हारे। खासमा उनी प्रतिस्पर्धीसँगै हारे - उनकै हैसियतको। शैक्षिक संस्थामा राजनीतिक भागवण्डालाई स्थापित गर्ने गणेशहरुले खडा गरेका पात्र अर्थात् तीर्थले हारिरहँदा पनि खुशी भइहाल्नुपर्ने अवस्था भने छैन। जितेर आउने कतिपय उम्मेदवारको अनुहार पनि तीर्थ वा गणेशको भन्दा कम छैन।