PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

जब फ्रेन्ड्स क्लबका खेलाडीले खेलको २५ मिनेटपछि फुटबल खेल्न बिर्सिए...



पहिलोपोस्ट

जब फ्रेन्ड्स क्लबका खेलाडीले खेलको २५ मिनेटपछि फुटबल खेल्न बिर्सिए...

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा विभागीय टोली एपीएफले फ्रेन्ड्स क्लबलाई पराजित गर्‍यो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा एपीएफले ३-१ गोलअन्तरको जित निकाल्यो।

तीन अंक जोड्ने लक्ष्यका साथ मैदानमा उत्रिएको फ्रेन्ड्स क्लब पराजयसँग पाँचौं चरणको समाप्तिसँगै अंकतालिकाको पुछारमा रह्यो। हार पछि फ्रेन्ड्स क्लबका प्रशिक्षक मृगेन्द्र मिश्रले राम्रो अवसर बनाएर पनि पराजय ब्यहोर्नुपरेको प्रतिक्रिया दिए।

'आजको खेल जित्ने थियौं। प्रेसर थियो। तीनचारवटा अप्सन राम्रो थियो। टिमले फुटबल खेल्नै बिर्सिए जस्तो भयो अफसाइड गोल भएपछि,' उनले भने, 'कन्फिन्डेन्स देखिएन। सबै टिम आफ्नै लेभलको छ। आज जितेको भएमाथि जान्थ्यो होला। हामीसँग स्टार प्लेयरहरु छैन।'

उनले लिगमा यसपटक आफ्नो टिमलाई कसरी जोगाउने भन्ने लक्ष्य रहेको बताए। आजको खेलमा २५ मिनेटसम्म टिमले राम्रो दबाब बनाए पनि त्यसपछि भने एपीएफ खेलमा हावी भएको थियो। फ्रेन्ड्स क्लबका कप्तान प्रकाश बुढाथोकी चोटका कारण खेलमा नहुँदाको प्रभाव टिममा देखिएको थियो।

'हाम्रो पहिलो लक्ष्य भनेको टिमलाई यसपटक कसरी जोगाउने भन्ने छ। कप्तान प्रकाश बुढाथोकी अनुभवी खेलाडी थिए। उनी नहुँदा लिडरसिपको अभाव देखियो,' प्रशिक्षक मिश्रले आजको खेलमा जोड दिँदै भने, ' हाम्रो टिमले २५ मिनेट राम्रो खेल्यो। अनि फुटबल खेल्नै बिर्सियो।'

विभागीय टोलीमा पहिलो विदेशी खेलाडी

ए डिभिजन लिगमा एपीएफले आज नयाँ प्रयोग गर्‍यो। विदेशी खेलाडी बिनै मैदान उत्रने विभागीय टोलीमध्येको एपीएफले आज पहिलो पटक विदेशी खेलाडी मैदानमा उतार्‍यो।

युरा कुरियामालाई गोलकिपरका रुपमा उतारेको एपीएफले जारी लिगमा पहिलो जित पनि निकालेको थियो।

'बटम टू को खेल इन्ट्रेस्ट्रिङ भयो। आशिषले ह्याट्रिक मिस गर्‍यो। ५ खेलबाट ४ अंक भनेको सन्तुष्ट हुनै पर्छ,' प्रशिक्षक कुमार थापाले भने, 'डिफेन्समा विदेशी खेलाडी ल्याउँछौं। अर्को स्ट्राइकर पनि खोजी रहेका छौं। पहिलो पटक विदेशी कोटाको प्रयोग गरेका छौं।'

विदेशबाट खेलाडी झिकाएको नभएर नेपालमै उपलब्ध विदेशी खेलाडीको प्रयोग गरेको उनले बताए।

'नेपालमै भएको विदेशी खेलाडी प्रयोग गरेको हो। बाहिरबाट खेलाडी ल्याउन त ४०/५० लाख विदेशी खेलाडीमै लाग्छ। यो नेपालका सबै क्लबहरुको चुनौती नै हो,' उनले अगाडि भने, 'हाम्रो अरु खेलाडीले पनि त्यो क्वालिटीलाई भेटाउने प्रयास गरिरहेको छ। लिगमा जित लगातार निकाल्न नसक्दा नाम, इज्जत सबैतिर दवाब हुन्छ।'

एपीएफबाहेक अर्को विभागीय टोली नेपाल पुलिसका प्रशिक्षक अनन्त थापाले पनि टिममा विदेशी खेलाडीको अभाव खड्किएको जनाएका थिए। यद्यपि पुलिसले हालसम्म विदेशी खेलाडी मैदान उतारेको छैन।

पाँचौ चरण सकिँदा को कहाँ?

एपीएफ र फ्रेन्ड्स क्लबको प्रतिस्पर्धा सँगै ए डिभिजन लिगमा पाँचौं चरणका खेलहरु सकिएका छन्। पाँचौ चरणको समाप्तिमा ५ खेलबाट १३ अंक जोडेको मनाङ मर्स्याङदी शीर्षस्थानमा छ भने ११ अंक जोडेको मछिन्द्र दोस्रो स्थानमा छ। तेस्रो र चौथो स्थानमा समान ९ अंक जोडेको त्रिभुवन आर्मी फुटबल क्लब र संकटा क्लब छन्।

ए डिभिजन लिगको नवप्रवेशी सातदोबाटो युथ क्लब ८ अंक सहित तालिकाको पाँचौ स्थानमा रहँदा समान ६ अंक जोडेका थ्री स्टार र न्युरोड टिम एनआरटी छैटौ र सातौं स्थानमा छन्।

त्यस्तै हिमालयन शेर्पा क्लब, ब्रिगेड ब्वाइज क्लब र नेपाल पुलिस क्लब समान ५ अंक जोडेर आठौं, नवौं र दशौं स्थानमा कायम छन्। अघिल्लो चरणसम्म रेलिगेशन जोनमा रहेका एपीएफ र जावलाखेल युथ क्लब पाँचौ चरणमा जित निकालेसँगै ४ अंक जोडेर एघारौ र बाह्रौं स्थानमा उक्लिएका छन्। रेलिगेशन जोनमा ४ अंक जोडेको च्यासल र २ अंक जोडेको फ्रेन्ड्स क्लब छन्।

ए डिभिजन लिगमा एपीएफको पहिलो जित, विभागीय टोलीमा पहिलो पटक विदेशी खेलाडी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell