PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सुनको अबैध ओसारपसार : दुबईबाट हिमालय एयरलाइन्सको यात्रा, काठमाडौं ट्रान्जिट, सुन बोकेर बंगलादेशतिर



सविन ढकाल

सुनको अबैध ओसारपसार : दुबईबाट हिमालय एयरलाइन्सको यात्रा, काठमाडौं ट्रान्जिट, सुन बोकेर बंगलादेशतिर

काठमाडौं : आइतवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक बंगलादेशी नागरिक समातिए। हिमालयन एअरलाइन्सबाट नेपाललाई ट्रान्जिट बनाएर बंगलादेश जाने तयारीमा थिए उनी। दुबईबाट काठमाडौं उत्रिएका उनलाई विमानस्थल प्रहरीले नियन्त्रणमा लिएको हो।

राहदानी नम्बर ई एन ०९८७८१ बाहक ३५ वर्षीय अस्राफुल इजलामलाई आइतवार दिउँसो प्रहरीले पक्राउ गरेको थियो। उनी पक्राउ पर्नुको कारण अवैध तरिकाले भित्र्याएको सुन नै थियो। विमानास्थलमा खटिएको प्रहरीले उनको ह्‍याण्ड व्यागेज चेक गर्दा २ सय ३३ ग्राम तौल रहेका दुई थान सुनका बिस्कुट र १ सय ग्रामको चेनरोल फेला परेको थियो।

'लुकाई छिपाई गरेर ल्याएको जस्तो देखिँदैन। आफूले बोक्ने लगेजमा नै ल्याएको भेटिन्छ। तर हाम्रो कानुनले यति मात्रामा सुन ल्याउन पाइँदैन,' विमानस्थलका प्रहरी प्रमुख एसएसपी सुरेन्द्र मैनालीले भने।

आइतवारमात्र होइन, एक सातादेखि विमानस्थलबाट धमाधम बंगलादेशी नागरिक पक्राउ परिरहेका छन्। आइतवार जसरी नै अवैध तरिकाले सुन भित्र्याउन खोज्दा उनीहरु पक्राउ परिरहेका हुन्। एक हप्तामा ९ जना बंगलादेशी नागरिक समातिसकेको त्रिभुवन विमानस्थलका भन्सार प्रमुख महेश भट्टराईले जानकारी दिए। यसरी पक्राउ पर्ने बंगलादेशी नागरिकबाट बरामद भएको सुनको परिमाण करिब उस्तै देखिन्छ। अर्थात् २ सयदेखि ५ सय ग्राम।

एकसाता अघि (मंसिर २८) पनि १ किलो भन्दा बढी सुन सहित पाँच जना बंगलादेशी नागरिक समातिएका थिए। १ हजार ३ सय ११ ग्राम बिष्‍कुट आकारको सुन, चेनरोल, औठी र चुरा सहित ५ जना बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा बंगलादेशी नगरिकहरु राहदानी नम्बर ए ०१२४१४६९ बाहक ३० वर्षीय तौहिदुल तनविर, राहदानी नम्बर बीक्यू ०३९३२८८ बाहक ३० वर्षीय एमडि युनुस अलि, राहदानी नम्बर बीटी ०६९३५९९ बाहक ५० वर्षीय सोभान तालुकदार, राहदानी नम्बर ए ००१००८८५ बाहक २५ वर्षीय जाहिदुल ईस्लाम र राहदानी नम्बर इबी ००५२३४७ बाहक ३७ वर्षीय एमडी मिराजुल ईस्लाम रहेका छन्। यसरी पक्राउ पर्नेमा दुई जना भिजिट भिषा र बाँकी वर्किङ भिषामा गएका मानिसहरु थिए। जसमा एक जना बंगलादेशका सरकारी कर्मचारी समेत रहेको भन्सार कार्यालयले जानकारी दिएको छ।

पक्राउ परेकामध्ये तौहिदुलको साथबाट २ सय १६ ग्राम, युनुसको साथबाट २ सय ३३ ग्राम, सोभानको साथबाट १ सय ग्राम, जाहिलदुलको साथबाट ३ सय ३२ ग्राम र मिराजुलको साथबाट ४ सय ३० ग्राम सुन भेटिएको थियो।

आइतवार र मंसिर २८ गते समातिएकाको धेरै कुरा समानता देखिन्छ। उनीहरुले ल्याउने सुनको मात्रा, आउने र जाने देश मात्र होइन, एयरलाइन्स पनि एकै छ। उनीहरु पनि हिमालयन एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं हुँदै बंगलादेश जान लागेका थिए।

दुबईबाट नेपाल तस्करीको सुन आउने र भारत जाने घटना नौलो होइन। पछिल्लो समय दुबईबाट नेपाल ट्रान्जिट बनाएर बंगलादेशतिर तस्करी हुने घटना भने सार्वजनिक भएको हो। दुबईबाट नेपाल आउने भारतीय नागरिकलाई विमानस्थलमा कडाईको साथ चेक हुनेगर्छ। काठमाडौंको विमानस्थललाई नै ट्रान्जिट बनाउने कमै छन। त्यसैले पनि सुन तस्करहरुले तस्करीका लागि नयाँ रुट, व्यक्ति र शैली प्रयोग गर्न लागेको हुनसक्ने आशंकामा अनुसन्धान सुरु भएको छ।

'हाम्रो दिमाग डाइभर्ट गर्न तस्करले यस्तो तरिका अपनाएको हुनसक्ने सम्भावना देखिन्छ। अन्य के कस्ता पाटा हुन् भनेर पनि अनुसन्धान भइरहेको छ,' भन्सार प्रमुख महेश भट्टराईले भने।

यसरी बंगलादेशी नागरिक समातिने शिलशिला जारी छ भन्ने गत शुक्रवार समातिएका दुई बंगलादेशी नागरिकबाट पनि खुल्छ। उनीहरुबाट विमानस्थलमै ५ सय ९० ग्राम सुन फेला परेको थियो।

पक्राउ पर्नेहरूमा बंगलादेशी नागरिकहरू राहदानी नम्बर इएफ ०३९४७४१ बाहक २२ वर्षीय सलमान अहमेद र राहदानी नम्बर बिटी ०२१२१५४ बाहक ३० वर्षीय एमडी अबु जिहाद रहेका छन्। उनीहरूमध्ये अहमेदको साथबाट ३ सय ३० ग्राम र जिहादको साथबाट २ सय ६० ग्राम सुन भेटिएको थियो। उनीहरु पनि हिमालयन एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं हुँदै बंगलादेश जान लागेका थिए। उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय ह्याण्ड ब्यागेज चेकिङ एरियामा विमानस्थल प्रहरी र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त परिमाणको धातु फेला परेको थियो।

पक्राउ परेका विदेशी नागरिकले भने आफूहरुलाई नेपालको नियम थाहा नभएको र आफ्नो देश जान लागेको भन्दै आफ्नो प्रतीरक्षा गरिरहेका छन्।

'हाम्रो कानुनले उनीहरुलाई छुट दिँदैन त्यसैले कानुन अनुसार उनीहरुलाई नियन्त्रणमा लिएको हो,' विमानस्थल प्रहरी प्रमुख सुरेन्द्र मैनालीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell