PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

माडीका बाँदरझुलाबासी र भूमि आयोगबिच तीन बुँदे सहमति, आन्दोलन स्थगित



पहिलोपोस्ट

माडीका बाँदरझुलाबासी र भूमि आयोगबिच तीन बुँदे सहमति, आन्दोलन स्थगित
फाइल फोटो

काठमाडौं : लालपूर्जाको माग गर्दै काठमाडौंमा आएर आन्दोलन गरिरहेका चितवन बाँदरझुलाका स्थानीयको आन्दोलन स्थगित भएको छ। राष्ट्रिय भूमि आयोगसँग भएको छलफल पश्चात आन्दोलन स्थगित गर्न आन्दोलनरत चितवनको माडी नगरपालिका बाँदरझुलाका स्थानीयहरु सहमत भएका हुन्।

माडी नगरपालिका वडा नं ९, बाँदरझलाका स्थानीयहरु आफूले भोगचलन गर्दै आएको जग्गाको लालपूर्जा लगायतको माग गर्दै काठमाडौं आएर आन्दोलन गरिरहेका थिए।

बाँदरझुला संघर्ष समितिले शान्तिपूर्ण संघर्षले गरेको आन्दोलन प्रति राष्ट्रिय भूमि आयोगको विशेष ध्यानाकर्षण भएको आयोगका उपाध्यक्ष तथा प्रवक्ता नहेन्द्र खड्काले जानकारी दिए। भूमि आयोग गठन आदेश, २०७८ को क्षेत्राधिकारभित्र रहंदै आयोगले माडी-१ बाँदरझुलाका जनसमुदायका मागहरु सम्बोधन गर्न र सहजीकरण गर्न तत्पर रहेको प्रतिबद्धतासमेत आयोगले व्यक्त गरेको छ। सोही अनुरुप मंगलवार आन्दोलनरत पक्ष र आयोगबिच तीन बुँदे सहमति भएको प्रवक्ता खड्काले जानकारी दिए। 

मंगलवार भएको सहमति अनुसार बाँदरझुलामा राष्ट्रिय भूमि आयोगले २०७८ फागुन मसान्तसम्म भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन गर्ने र  जग्गा नापजाँचको सूचना निस्केपछि लगत संकलनको निवेदन दिएकै दिनमा निवेदन दिएको निस्सा र जग्गा नापजाँचको निस्सा वितरण गरिसक्ने सहमति भएको छ। साथै बाँदरझलामा विद्युत्तीकरणका लागि बजेट समेत छुटाइसकेको अवस्थामा निर्माण कार्यलाई छिटोभन्दा छिटो अगाडि बढाउन विद्युत प्राधिकरण र सो कार्यको सहजीकरणका लागि सम्बन्धित निकायहरुमा सहयोगका लागि नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई अनुरोध गरी तत्काल पत्राचार गर्नेसमेत सहमति भएको छ। 

हाल बाँदरझलामा खेतीपाती गर्नका लागि ट्याक्टर प्रयोग गर्न नदिइएकोमा सो जमिनमा ट्याक्टर प्रयोग गरी किसानहरुले सहज, सरल र सुपथ तरिकाले कृषि गर्नका लागि सहज वातावरण बनाउन नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र अन्य सरोकारवाला निकायलाई पत्राचार गरी सहजीकरण गरिदिनका लागि नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई तत्काल पत्राचार गर्नेसमेत सहमति भएको प्रवक्ता खड्काले जानकारी दिए। 

सहमति सम्बन्धी जानकारी बोदार्थको रुपमा माडी नगरपालिकालाईसमेत दिइएको छ। आन्दोलनरत स्थानीय र आयोगबिचको सहमति नगरपालिका मेयर ठाकुर ढकालकोसमेत उपस्थितिमा भएको हो। 

यो क्षेत्र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को निर्वाचन क्षेत्र हो।  बाँदरझुलाबासी आइतवार देखि काठमाडौं आएर माइतीघरमा रिले अनसन बसिरहेका थिए। 

यसअघि मंगलवार बिहान प्रचण्डले बाँदरझुलावासीसँग आफ्नै निवास खुमलटारमा छलफल गरेका थिए। छलफलमा भूमि व्यवस्था मन्त्री शशी श्रेष्ठ, आयोगका उपाध्यक्ष खड्का, माडी नगरपालिकाका मेयर ढकालसमेत उपस्थित थिए। प्रचण्डसँगको भेटका क्रममा समस्या समाधानका लागि निकुन्ज सम्बन्धी ऐन बाधक रहेको भन्दै ऐन संशोधनका लागि भूमि मन्त्रालय र वन मन्त्रालयबिच समन्वय गरी संशोधन प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्ने सहमति भएको थियो। सोही अनुरुप दिउँसो आयोगसँग सहमति भएको हो। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell