PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

मणिपाल कलेजले ६ लाख बढी शुल्क मागेको भन्दै विद्यार्थी आन्दोलित, पठनपाठन प्रभावित 



रिना थापा

मणिपाल कलेजले ६ लाख बढी शुल्क मागेको भन्दै विद्यार्थी आन्दोलित, पठनपाठन प्रभावित 

पोखरा : एमबीबीएसमा भर्ना भएर पठनपाठनका लागि मणिपाल कलेज पोखरा आइपुगेका विद्यार्थी आन्दोलित बनेका छन्। काठमाडौं  शिक्षण अस्पताल अन्तर्गत भर्ना भएर मणिपालमा आएका विद्यार्थी कलेजले अतिरिक्त शुल्क लिएको भन्दै आन्दोलित भएका हुन्।

विद्यार्थीहरुले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा ६ लाख बढी शुल्क कलेजले लिएको गुनासो गरेका छन्। विद्यार्थीको गुनासोलाई समर्थन गर्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले आन्दोलन गरिरहेको छ।

कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता गर्न आग्रह गर्दै संगठनले पत्राचार गरेको थियो। उक्त पत्राचारलाई कलेज प्रशासनले बेवास्ता गरेको भन्दै मंसिर २० गते संगठनले प्रशासनमा तालाबन्दी गरेको थियो।

आन्दोलनकै कारण कलेजमा कक्षा सञ्चालन भएको छैन। सोमवार पनि संगठनले कलेजमा नाराबाजी गरेको थियो। कलेजले अतिरिक्त शुल्क फिर्ता नगरेसम्म आन्दोलन नरोक्ने पक्षमा संगठन छ।

चिकित्सा शिक्षा आयोगले एमबीबीएस पढ्नका लागि शुल्क तोकेर नियम बनाएको छ। आयोगले काठमाडौं उपत्यकाभित्र ४० लाख र उपत्यका बाहिर एमबीबीएस पढ्नका लागि ४४ लाख रुपैयाँ तोकेको छ। आयोगले तोकेको भन्दा ६ लाख रुपैयाँ मणिपालले विभिन्न बहानामा लिएको विद्यार्थीको गुनासो छ।

‘कलेजले हुँदै नहुने शिर्षकमा तोकेको भन्दा ६ लाख बढी शुल्क उठाएको छ, अन्य कलेजमा नभएको नियम ल्याएर शुल्क जोडेको छ,’ मणिपाल कलेजका एक विद्यार्थीले भने।

सेक्युरिटी डिपोजिट, इन्टर्नसिप, स्पोर्टसलगायत विभिन्न शिर्षकमा मणिपालले अतिरिक्त शुल्क लिएको छ। मणिपालले इन्टर्नसिपका लागि दुई लाख मागेको छ। कलेजले इन्टर्नसिपका साथै विभिन्न बहानामा मागेको शुल्क नियम अनुसार तोकिएको ४४ लाख रुपैयाँ भित्र पर्छ।

यस्तै, मणिपालले छात्रावासलाई समेत अनिवार्य बनाएर विद्यार्थीसँग शुल्क उठाएको छ। छात्रावासकै लागि विद्यार्थीले डेढ लाख रुपैयाँ बुझाउनु परेको छ। विद्यार्थीको अनुसार यसअघि कलेजमा अनिवार्य छात्रावासको नियम थिएन।

‘अन्त नभएको नियम बनाउदै यहाँ अनिवार्यरुपमा होस्टल बस्न भनिएको छ, यसअघि यस्तो हुन्थेन, हामी जहाँ बसेपनि विद्यार्थीको कुरा अनावश्यक रुपमा पैसा उठाउन यस्तो नियम राख्दै छ,’ ति विद्यार्थीले भने।

यता संगठनले आन्दोलन गरेपछि कलेज प्रशासनले विद्यार्थीलाई डर देखाएको उनीहरुको आरोप छ। आन्दोलन चलिरहदा एकहप्ता अघि विद्यार्थी, संगठन र प्रशासन वार्तामा बसेका थिए। वार्ता निष्कर्षमा पुग्न सकेन।

प्रशासनले उठाएको रकम फिर्ता गर्न नसक्ने बतायो। उठाई सकेको रकमलाई आउनेवर्षमा समायोजन गर्न मिल्ने विद्यार्थीको प्रस्ताव थियो। तर, प्रशासनले रकम फिर्ता पनि नगर्ने र आउने वर्षको शुल्कमा समायोजन नगर्ने पक्षमा रह्यो।

एकपटक बसेको वार्तापछि कलेज प्रशासनले विद्यार्थीसँग छलफल गर्न नखोजेको उनीहरुको आरोप छ। कलेज डिनसँग वार्ता गर्न नदिएको विद्यार्थीले बताए।

के भन्छ कलेज प्रशासन?

विद्यार्थीबाट लिएको रकम अतिरिक्त शुल्क नभएको कलेज प्रशासन बताउँछ। मणिपाल कलेजका डाइरेक्टर एड्मिसन गौरव यादव कलेजले चिकित्सक शिक्षाको नियम विपरीत शुल्क नलिएको दाबी गर्छन्।

‘पहिलो कुरा यसलाई अतिरिक्त शुल्क भन्नै मिल्दैन, हामीले विद्यार्थीबाट अनावश्यक शुल्क उठाएका छैनौं’, यादवले भने, ‘चिकित्सकको प्रावधानले जे भनेको छ त्यहीँ अनुसार शुल्क लिएका छौँ, अब कानुन र नियम मान्नु हुन्न भने हामी के भन्न सक्छौं।’

विद्यार्थीसँग छलफल गर्न नखोजेको आरोप समेत गलत रहेको दाबी उनले गरेका छन्।

‘खै विद्यार्थी आउनु हुन्न त हामी चौबीसै घण्टा उहाँहरुको कुरा सुन्न त त्यहाँ बस्न सकिन्न होला,’ उनले भने।

अनिवार्य छात्रावासका विषयमा सबै कलेजको आ-आफ्नै नियम हुने उनको भनाइ छ। कलेजले छात्रावासका लागि नियम बनाउन मिल्ने उनको तर्क छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell