PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

दुई विदेशी फिल्मले ततायो नेपाली बक्सअफिस, 'स्पाइडरम्यान' ले गर्‍यो ३ करोडको व्यापार र 'पुष्पा' ले कमायो डेढ करोड



लक्ष्मी बलायर

दुई विदेशी फिल्मले ततायो नेपाली बक्सअफिस, 'स्पाइडरम्यान' ले गर्‍यो ३ करोडको व्यापार र 'पुष्पा' ले कमायो डेढ करोड

काठमाडौं: गत शुक्रवार देखि प्रदर्शनमा आएका दुई विदेशी फिल्महरुले नेपालमा आक्रामक व्यापार गरिरहेका छन्। हलिउड सुपर हिरो फिल्म ‘स्पाइडर म्यानः नो वे होम’ले बक्स अफिसमा आकर्षक कलेक्सन गरिरहेको छ। त्यसैगरी अल्लु अर्जुन र रश्मिका मन्दना अभिनित तेलुग फिल्म 'पुष्पा- द राइज' ले पनि नेपाली सिनेमाहलमा राम्रो व्यापार गरिरहेको छ।

यसअघि रिलिज भएको अक्षयकुमार अभिनित बलिउड फिल्म 'सूर्यवंशी' ले कोरोनाअघिको पुरानै माहोल फर्काइदिएको थियो। यो फिल्मले फर्काएको दर्शक देखेर नेपाली निर्माताहरुले पनि फिल्म रिलिजको मिति तय गर्न कस्सिएका थिए। जसकारण यस अवधिमा 'चपली हाइट ३, लप्पन छप्पन २, प्रेमगीत ३, म यस्तो गीत गाउँछु -२, सम्हालिन्छ कहिले मन' लगायत होल्डमा रहेका ठुला बजेटका फिल्महरुले रिलिज मिति तय गरिसकेको छ।

त्यसपछि नेपाली सिनेमाहलहरुमा हलिउड फिल्म ‘फास्ट एण्ड फ्युरियस ९’, ‘नोबडी’, ‘नो टाइम टू डाइ’ र बलिउड फिल्महरु 'बन्टी ‌और बब्ली',सलमान खानको फिल्म ‘अन्तिम’ र जोन अब्राहमको ‘सत्यमेव जयते २’ समेत रिलिज भएका थिए। तर सम्पुर्ण फिल्महरुको व्यापार भने सुस्त रह्यो। कुनै पनि फिल्महरुले दर्शकलाई हलसम्म तान्न सकेन।

निर्माता अर्जुन कुमारको फिल्म 'चपली हाइट ३' पुस २ देखि प्रदर्शनमा आउने घोषणा भएको थियो। फिल्म पुस २ गते सार्वजनिक गर्ने भनेर निर्माता अर्जुन कुमार अन्तिम समयसम्म प्रचार-प्रसारमा सक्रिय थिए। तर सोही फिल्मसँगै स्पाइडरम्यान र पुष्पा समेत प्रदर्शनमा आउने भएपछि अर्जुन कुमार वितरकसँग रिसाए।

बहुप्रतिक्षित हलिउड फिल्म ‘स्पाइडर म्यानः नो वे होम’ र पुष्पासँग रिलिज डेट जुध्न गयो। दुई विदेशी फिल्मको मारमा पर्ने डरले निर्माता अर्जुनकुमारले फिल्म 'चपली हाइट ३' को रिलिज मिति नै सारे। अब यो फिल्म पुस १५ गते प्रदर्शनमा आउने तय भएको छ।

शुक्रबारदेखि भने स्पाइडरम्यान र पुष्पाले फेरि सुस्ताएको दर्शकको माहोललाई सिनेमाघरमा फर्काइदिएको छ। दुई विदेशी फिल्महरुले गर्दा क्युएफएक्सका सम्पुर्ण हलहरुमा दर्शकहरु भरिभराउ रहेको क्युएफएक्सका सीइओ रोशन अडिगाले बताए।

'फिल्म रिलिज अघि नै टिकट सोल्ड आउट भइसकेको थियो। कोरोना महामारीलाई मध्यनजर गर्दै ७५ प्रतिशत अकुपेन्सीमा हल खुलाएका छौँ। काठमाडौंका छाया सेन्टर, लबिम मल, सिभिल मल, भाटभटेनी-भक्तपुरको हलहरु भरिभराउ छन्' उनले भने।

क्युएफएक्समा फिल्म पुष्पाको भन्दा स्पाइडर म्यानले बढी शो पाएको छ।

त्यसैगरि चावहिलस्थित एफ क्युब सिनेमामा पनि सम्पुर्ण शोहरु हाउसफुल छन्। एफ क्युब सिनेमाका व्यवस्थापक रामहरि कोइराला पनि दर्शकको खचाखच भिड देख्दा दंग छन्। यी फिल्महरु सिनेमाहलमा ब्लकबस्टर भइरहेको उनको भनाइ छ।

'यी दुवै फिल्महरुले बक्सअफिसमा राम्रो कलेक्सन गरिरहेको छ। शतप्रतिशत अकुपेन्सीमा हलहरु खुलेका छन्। बिचमा केही फिल्मको व्यापार सुस्त भएपनि यी दुवै फिल्महरुले सिनेमाहलमा फेरि दर्शक फर्काइदिएको छ' कोइरालाले भने।

एफ क्युब सिनेमामा फिल्मस्पाइडर म्यानले १२ शो पाएको र पुष्पाले भने ४ शो पाएको उनले जानकारी दिए। साथै फिल्म रिलिज अघि नै गत आइतबार देखि अनलाइन अग्रिम टिकट खुलाइएको थियो।

त्यसैगरि कमलादीस्थित क्युज सिनेमामा पनि सम्पुर्ण शोहरु हाउसफुल रहेको इन्चार्ज अभिषेक थपलियाले बताए।

'हलमा दर्शकको संख्या राम्रो छ। कतिपय दर्शकहरु टिकट नपाएर फर्किनु समेत भएको छ। अहिले स्पाइडर म्यानलाई ८ शो र पुष्पाले भने ३ शो पाएको छ। अब पुष्पाको शोहरु बढ्दै गइरहेको छ।'

फिल्म 'स्पाइडरम्यान' र 'पुष्पा' को नेपालको व्यापार कति?

फिल्म 'स्पाइडरम्यान' लाई नेपाल वितरक एप्पल इन्टरटेनमेन्टमार्फत नेपाल ल्याइएको हो। यस फिल्मले उपत्यकाभित्र नै ३ सयभन्दा बढी शो पाएको एप्पल इन्टरटेनमेन्टकी कार्यकारी निर्देशक जेनिश पहारीले बताइन्।

भन्छिन्, 'वर्षकै बहुप्रतिक्षित फिल्म भएकोले स्पाइडरम्यानको प्रदर्शनले दर्शकमा निकै उत्साह थपेको छ। यस फिल्मले निकै उच्च शो पाएको छ। तीन दिनमै यस फिल्मले नेपालभर ३ करोडको व्यापार गरिसकेको छ।'

फिल्म 'पुष्पा' लाई गोपीकृष्ण मुभिजले भित्र्याएको हो। गोपीकृष्ण मुभिजका म्यानेजर निरज पौडेलले यस फिल्मलाई ५० लाखमा नेपालमा लिएको बताए।

फिल्मले सोचेभन्दा निकै राम्रो कमाई गरेको उनी बताउँछन्। फिल्मले अहिलेसम्म डेढ करोडको कमाई गरिसकेको उनले बताए। अब यसपछि फिल्म 'आरआरआर' पनि लाइनअपमा रहेको समेत उनको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell