PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

तीन वर्षपछि राष्ट्रिय टोलीमा मानबहादुरको पुनरागमन, भन्छन्: फेरि त्यही पोजिसन लिन सजिलो छैन



मुकुन्द घिमिरे

तीन वर्षपछि राष्ट्रिय टोलीमा मानबहादुरको पुनरागमन, भन्छन्: फेरि त्यही पोजिसन लिन सजिलो छैन

काठमाडौं : नेपाली पुरुष तथा महिला राष्ट्रिय भलिबल टोली एभीसी सेन्ट्रल जोन च्याम्पियनसिपमा सहभागी हुन बंगलादेश पुगिसकेको छ। नेपाली भलिबलका चर्चित खेलाडी मानबहादुर श्रेष्ठले यो प्रतियोगितामार्फत राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन्। विभागीय टोली आर्मीबाट खेल्ने उनी विभागको स्वीकृतिबिनै जापान खेल्न पुगेपछि विभागीय कारवाहीमा परेर ८ औं राष्ट्रिय खेलकुदमा उपलब्ध थिएनन्। जसका कारण राष्ट्रिय टोलीबाट यसअघिको सेन्ट्रल जोनमा पनि उनी समावेश थिएनन्।

तीन वर्षको अवधिका घरेलु प्रतियोगिताहरुमा राम्रो प्रदर्शन गर्दै आएका उनी राष्ट्रिय टोलीमा फर्किएका हुन्।

'तीन वर्षपछि म राष्ट्रिय टोलीमा फर्किएको छु,' श्रेष्ठले खुशी सुनिए।

राष्ट्रिय टोलीमा पर्दाको यो अवसरलाई उनी आमासँग भेट हुँदा हुने खुशीसँग तुलना गर्छन्।

'मेरो जन्मदिने ममीजस्तै मलाई बाटो देखाउने ममी राष्ट्रिय टोली हो,' उनी भन्छन्, 'तीन वर्षपछि भेट्न पाउँदा कति खुशी हुन्छु भन्ने कुरा यति भन्दा नै पुग्छ होला।'

पुरुष राष्ट्रिय टोलीको यसपटकको लक्ष्य सेन्ट्रल जोनमा मेडल टच गर्ने रहेको छ। खेलाडी बिदाइ कार्यक्रममा टोलीका कप्तान इम मगरले मेडल हात पार्ने लक्ष्य रहेको बताए। श्रेष्ठ कप्तान मगरको लक्ष्यसँग सहमत छन्।

'यसअघि सन् २०१७ मा एउटा मेडल लिएर आएका थियौं। त्यसअघि २०१८ मा पनि माल्दिभ्स र बंगलादेशलाई हराएका थियौं। २०१९ मा म थिइन,' उनले भने।

त्यसपछिको सेन्ट्रल जोन खेल्न गइरहेका उनलाई राष्ट्रिय टोलीका केही परिवेश फरक पनि छ।

उनी भन्छन्, 'पहिले र अहिलेमा केही फरक हुन्छजस्तो लाग्छ।'

तीन वर्षपछि राष्ट्रिय टोलीको ट्रेनिङमा जाँदा केही गाह्रो भएको उनी बताउँछन्। तीन वर्षपछि सुरुमा ट्रेनिङमा जाँदा पहिलो केही हप्ता टिममा भिज्नका लागि गाह्रो भएको अनुभव उनले सुनाए।

'टिममा कोच पनि नयाँ नै भन्नुपर्छ। उहाँ यसअघि आउँदा म थिइनँ। यसर्थ उहाँका लागि म नयाँ र मेरा लागि उहाँ नयाँ,' प्रशिक्षकसँगको समन्वयबारे श्रेष्ठले भने।

टिममा पुनरागमन गर्न कठिन भएको उनले महसुस गरेका छन्। खासगरी उनको पोजिसनमै अन्य खेलाडीले खेलिसकेको अवस्थामा फेरि त्यही स्थान लिनु सहज पक्कै हुँदैन।

'पहिलाको पोजिसन जुन छ, अहिले म सेटमै खेलिरहेको छु। त्यो लेभलमा पुग्छुजस्तो लाग्छ,' उनले भने, 'मेहेनत गर्न परिहाल्छ। त्यही पनि बर्षौ भयो। आफ्नो ठाउँमा अर्कोले खेलिसकेको छ। प्रतिस्पर्धा त हुन्छ। एकहिसाबले फेरि त्यो स्थान खोस्नुपर्‍यो।'

यसबीचमा राष्ट्रिय टोलीमा पुनरागमन गर्नका लागि धेरै मेहेनत गरेको उनले सुनाए। पहिलोबाट चौथोसम्म सेन्ट्रल जोनमा निरन्तर सहभागी उनी अहिले पनि उत्तिकै उत्साहित देखिन्छन्। यद्यपि टिममा कमब्याक हुँदा पुराना साथीहरु र अन्य खेलाडीसँग पनि घरेलु प्रतिस्पर्धामा खेलिरहेको हुँदा सेट हुन धेरै समय नलागेको उनको ठम्याई छ।

'पहिलाको पोजिसनमै रहेर खेलिरहेको छु,' उनले भने।

सेन्ट्रल जोन प्रतियोगितामा सहभागी सबै टिमसँग खेलिसकेको हुँदा मेडल टचसम्मको आशा भएको उनले बताए।

'टिमको पोजिसनभन्दा सबै टिमसँग खेलिसकेका छौं। फरकफरक प्रतियोगितामा भए पनि। मेडल टच सम्मको आशा छ,' उनले भने, 'तेह्रौं सागमा प्रदर्शन राम्रो भएन। त्यसअघि जितिरहेको टिम हो। बंगलादेश र माल्दिभ्सलाई हराइन्छ भन्ने हो। प्रेसर लिएको छैन।'

उज्वेकिस्तानसँग भने आफूले नखेलेका कारण धेरै बुझ्न बाँकी रहेको उनले स्वीकारे।

यसअघि राष्ट्रिय टोलीबाट अन्तिम म्याच मंगोलियासँग खेलेको उनले बताए।

सेन्ट्रल जोनमा महिलातर्फ ६ टोली (नेपाल, बंगलादेश, कीर्गस्तान, माल्दिभ्स, श्रीलंका र उज्बेकिस्तान) प्रतिस्पर्धा गर्नेछन् भने पुरुषतर्फ ५ टोली (नेपाल, बंगलादेश, माल्दिभ्स, श्रीलंका र उज्बेकिस्तान) प्रतिस्पर्धामा रहने छन्।नेपाली पुरुष टोलीले पहिलो खेलमा २३ डिसेम्बरमा उज्बेकिस्तानसँग खेल्नेछ। त्यस्तै दोस्रो खेलमा २४ डिसेम्बरमा बंगलादेशसँग, २५ डिसेम्बरमा माल्दिभ्ससँग र २६ डिसेम्बरमा श्रीलंकासँग खेल्नेछ।

नेपाली पुरुष टोली

इमबहादुर मगर, हरिबहादुर थापा, दुर्गाबहादुर खड्का, हरिबहादुर अधिकारी, भैरवबहादुर बम, मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट, टेकराज अवस्थी, राजेन्द्र बिस्ट, विशालबहादुर बिक, शरणसमरी क्षेत्री, बिनोदबहादुर चन्द।

नेपाली महिला टोली

अरुणा शाही, प्रतिभा माली, सरस्वती चौधरी, शान्ती थारु,उसा भण्डारी, सुनिता खड्का, मनिषा चौधरी, कामना बिस्ट, लक्ष्मी चन्द, सफिया पुन, कृपा अधिकारी, सलिना श्रेष्ठ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell