PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

एक सातादेखि हराएका चन्द्रे कामी बजारमै भेटिए, अपहरण भएकै हो त? अनुसन्धान हुँदै



पहिलोपोस्ट

एक सातादेखि हराएका चन्द्रे कामी बजारमै भेटिए, अपहरण भएकै हो त? अनुसन्धान हुँदै
प्रतीकात्मक फोटो।

काठमाडौं : अन्तर जातीय विवाह गरेपछि वेपत्ता भएका हुम्लाका युवक फेला परेका छन्। आज बिहान हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ स्थित याग्ङ्चु बजारमा उनी भेटिएका हुन्।

'चन्द्रे कामी भर्खरै भेटिएको जानकारी आएको छ। त्यहाँ कसरी पुग्नुभयो? के हो भन्ने विस्तृत अनुसन्धान भइरहेको छ,' जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक सीडीओ दशरदचन्द राईले भने।

चन्द्रेले मल्ल थरकी किशोरीसँग भागी विवाह गरेका थिए। किशोरीको माइती पक्षले चन्द्रेलाई निर्घात रूपमा कुटपिट गर्दै अपहरण गरी बेपत्ता पारेको दावी गरिएको छ। सर्केगाड गाउँपालिका–१ को जैरगाउँका १९ वर्षीय चन्द्रेले मुगु सोरु गाउँपालिका–४ को लिप्रु गाउँकी १९ वर्षीया मल्लसँग अन्तरजातीय विवाह गरेका थिए। मल्लका परिवारले चन्द्रेको घर तोडफोड समेत गरेका छन्।

गत मङ्सिर ५ गते मल्लको घरबाटै भागी विवाह गरेर आफ्नो घरमा ल्याएको भन्दै युवती पक्षका करिब २० जनासम्मको समूहले मङ्सिर २९ आक्रमण गरेका थिए। बुधवार राति जैरका गाउँका अन्य छिमेकीका घरमा ताला लगाई आफ्नो घरको ढोका, झ्याल र छतको दाँती फाल्दै घरपरिवारलाई निर्घातरूपमा कुटपिट गरेको गुनासो बुवा धनजय कामीले दाबी गरे।

'अपहरण हो वा के हो भन्ने कुरा खुलिसकेको छैन। मानिस फेला पर्नुभएको छ। थप अनुसन्धानमा खुल्छ,' सहायक सीडीओ राईले भने।

भागी विवाह गरेका कारण उनीहरूले माइत पक्षको धम्की सहँदै आउनुपरेको थियो। माइती पक्षको धम्कीका कारण छोरा बुहारी सर्केगार्ड गाउँपालिकाका वडा नं २ को रीपगाउँमा बस्दै आएको बुवा कामीले बताए।

यता माइती पक्षले खोजिरहेको भए पनि भेट्टाउन सकेका थिएन। माइती पक्षबाट जातपातको वास्ता नगर्ने भन्दै भेट्न बोलाएको थियो। त्यसपछि विवाहित जोडी घरमा आएका थिए। बुधवार रातिमात्रै युवकको घरमा माइती पक्ष आएर निर्घात कुटपिट गरेका थिए। हुम्लाबाट युवायुवतीलाई लिएर मुगु पुगेको भए पनि युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बेपत्ता भएका युवक कामी र युवती मल्ल पक्षका दुवैसँग बुझ्ने कार्य प्रशासनले अगाडि बढाएको छ। मल्लका बुवालाई पनि प्रहरीले अनुसुन्धानका लागि नियन्त्रण लिएको राईले जानकारी दिए। युवकको खोजीका लागि २५ जनाभन्दा बढी प्रहरी परिचालन गरिएको छ। किशोरी पनि पक्राउ परिसकेकी छिन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell