PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

मध्यतराईमा चिसो बढ्यो, वीरगंजमा बिहानको कक्षा दिउँसोमा सार्ने विद्यालयको तयारी



पहिलोपोस्ट

मध्यतराईमा चिसो बढ्यो, वीरगंजमा बिहानको कक्षा दिउँसोमा सार्ने विद्यालयको तयारी

वीरगंज : तराईका जिल्लाहरुमा चिसो अत्यधिक बढ्दा जनजीवन प्रभावित भएको छ्। पर्सा, बारा, रौतहटलगायत मध्यतराईका जिल्लाहरुमा शीतलहरसँगै चिसो बढ्दै गएको छ।

चिसो बढेसँगै नागरिकको दैनिकी पनि प्रभावित भएको छ। यस्तै, वीरगंजसहितका जिल्लामा शीतलहर सुरु भएसँगै हुस्सु लाग्ने क्रम पनि बढेको छ। दिउँसोको तुलनामा बिहान र बेलुकी चिसो बढी हुने गरेको छ।

गत शनिवारदेखि वीरगंजको दैनिक तापक्रम घट्दै गएको छ। सोमवार वीरगंजको अधिकतम तापक्रम २४ डिग्री सेल्सियस र न्यून्तम तामक्रम ८ डिग्री सेल्सियस मापन गरिएको छ। सोमवारको औसत तापक्रम १५ डिग्री मापन गरिएको थियो। यस्तै, मंगलवारको अधिकतम तापक्रम २४ डिग्री सेल्सियस र न्यून्तम ७ डिग्री सेल्सियस मापन गरिएको छ। मंगलवारको औसत तापक्रम १८ डिग्री सेल्सियस मापन गरिएको प्रदेश २ को क्षेत्रीय कषि अनुसन्धान केन्द्रको जल तथा मौसम विज्ञान तथा हावापानी केन्द्रले जनाएको छ।

अबको चार दिन तापक्रम अझै घटने अनुमान गरिएको छ। शुक्रवारसम्म औसत तापक्रम ८ डिग्रीमा झर्ने अनुमान केन्द्रको छ।

चिसोका कारण मानिसहरुलाई हिँडडुल गर्न समेत समस्या भइरहेको स्थानीय बताउँछन्। चिसोका कारण सबैभन्दा बढी प्रभावित बालबालिका र वृद्धावृद्धा भएको छन्। चिसो मौसममा बिहानै स्कुल कलेज जाने बालबालिकाहरुलाई समस्या हुने गरेको छ।

चिसो बढेसँगै बिहानको कक्षालाई दिउँसो सार्ने तयारी विद्यालयहरुले गर्न थालेका छन्। मुनलाईट मा.वि.का प्रधानाध्यापक श्याम केसीले भने, 'चिसो अत्याधिक बढेसँगै बिहान कक्षामा आउन विद्यार्थीलाई गाह्रो भएको छ। कक्षा दिउँसो संचालन गर्ने बारेमा छलफल भइरहेको छ।'

चिसो बढ्न थालेपछि बजारमा न्यानो लुगाको बिक्री बढेको कपडा व्यावसायी कौशल किशोर वर्णवालले बताए। बजारमा कोट, ज्याकेट, स्वीटरसहितका न्यानो कपडाको बिक्री बढेको वर्णवालको भनाई छ।

यस्तै, चिसो बढ्दै जाँदा मौसमी रुघाखोकी र ज्वरोका बिरामीको संख्या पनि बढ्न थालेको नारायणी अस्पतालका फिजिसियन डा. उदयनारायण सिँह बताउँछन्। चिसो मौसममा विशेष गरी बालबालिका, वृद्धवृद्धा र शारीरिक अवस्था कमजोर रहेका व्यक्तिको विशेष ख्याल राख्न उनको सुझाव छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell