PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सर्वोच्चमा 'हड्ताल' जारी रहँदा प्रधानन्यायाधीशले बोलाए न्याय सेवा आयोगको बैठक, सदस्यहरुलाई बारको आग्रह : उपस्थित नहुनु



पहिलोपोस्ट

सर्वोच्चमा 'हड्ताल' जारी रहँदा प्रधानन्यायाधीशले बोलाए न्याय सेवा आयोगको बैठक, सदस्यहरुलाई बारको आग्रह :  उपस्थित नहुनु

काठमाडौं : प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराले न्याय सेवा आयोगको बैठक बोलाएका छन्। लामो समयसम्म अदालतमा ‘हड्ताल’ जारी रहँदा आयोग र न्याय परिषद्को समेत बैठक बस्न सकेको छैन। जबराले बुधबार दिउँसो ३ बजेका लागि बैठक बोलाएका छन्। तर, बैठकमा सर्वोच्चका वरिष्ठतम न्यायाधीशसहित अन्य सदस्यहरु जाने नजाने निश्चित छैन।

असोजमा संचालित जिल्ला न्यायाधीशको परीक्षाको नतिजा सार्वजनिक गर्न जबराले आयोगको बैठक बोलाएका हुन्। लामो समय नतिजा प्रकाशन नभएको भन्दै असन्तुष्टि बढेपछि बैठक बोलाइएको हो। बैठक बसेमा जिल्ला न्यायाधीशको नतिजा प्रकाशनको प्रक्रिया अघि बढ्नेछ।

तर, प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलन गरिरहेको नेपाल बार एशोसिएशनले आयोग सदस्यहरुलाई बैठकमा नजान आग्रह गरेको छ। बारले यसअघि लिखित रुपमा नै प्रधानन्यायाधीशले बोलाउने बैठकमा नजान आग्रह गरिसकेको छ। बुधबारका लागि बैठक बोलाएपछि बार पदाधिकारीले पुनः निर्णयबारे सदस्यहरुलाई स्मरण गराएका छन्।

स्रोतका अनुसार बारका पदाधिकारीहरुले वरिष्ठत न्यायाधीश दीपककुकार कार्की, महान्यायाधिवक्ता खम्मबहादुर खाती र कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुलाई बैठकमा नजान आग्रह गरेको छ।

जबराको अध्यक्षतामा हुने आयोगमा सर्वोच्चका वरिष्ठत न्यायाधीश, कानुनमन्त्री, महान्यायाधिवक्ता तथा लोक सेवा आयोगका अध्यक्ष सदस्य रहने व्यवस्था छ।

प्रधानन्यायाधीशसँग असन्तुष्ट रहेका न्यायाधीशहरुले कात्तिक ८ गतेपछि बेञ्च सेयर गरेका छैनन्। पछिल्लो समय जबरा दैनिक प्रशासनिक काममा मात्र सीमित छन्। सर्वोच्च अदालतमा गोला प्रणालीबाट पेसी व्यवस्थापन सुरु भएयता जबराले मुद्दा हेरेका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell