PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

गण्डकीका मुख्यमन्त्री पोखरेल कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित



रासस

गण्डकीका मुख्यमन्त्री पोखरेल कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौँ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। पार्टीको १४औँ महाधिवेशन अन्तर्गत मङ्सिर २७ गते भएको मतदानको मङ्गलबार राति सार्वजनिक मत परिणामअनुसार मुख्यमन्त्री पोखरेलले दुई हजार ३सय ६ मत ल्याई विजयी भएका हुन्।

गण्डकी प्रदेशको खुलातर्फको दुई पदमा मुख्यमन्त्री पोखरेलसँगै तनहुँका ध्रुव वाग्ले निर्वाचित भएका छन्। वाग्लेले दुई हजार ७ सय २० मत ल्याए। यस्तै, शोभियतबहादुर अधिकारीले दुई हजार ३४ र रेशमबहादुर बानियाले एक हजार ९ सय ३८ मत प्राप्त गरेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। यस्तै, केन्द्रीय सदस्य महिलातर्फ सरस्वती अर्याल तिवारी निर्वाचित भएकी छिन्।

यसअघि कांग्रेसको सह महामन्त्रीमा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही पराजित भएका थिए। उनलाई बद्री पाण्डेले पिछडिएको क्षेत्रअन्तर्गत सहमहामन्त्री पदमा पराजित गरेका हुन्।

निर्वाचित भएलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री पोखरेलले अहिलेको महाधिवेशनको म्यान्डेट नै युवा पुस्तालाई अगाडि बढाउने रहेकाले युवापुस्ता र पुराना पुस्ताबिचको अन्तरसंवाद कायम गरी अनुभव र सिकाइलाई हस्तान्तरण र पुस्तान्तरण गर्न लागिपर्ने बताए। उनले पार्टीलाई आगामी निर्वाचनमा बहुमत दिलाउन र हिमाल, पहाड तथा तराईका समग्र कार्यकर्तामा रक्तसञ्चार गर्न लागिपर्ने प्रतिबद्धता जनाए। मुख्यमन्त्री पोखरेल यसअघि पार्टीको १२औँ महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell