PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

हेलिकप्टर समुद्रमा खसेपछि बाँचेका यी मन्त्री भन्छन् : १२ घण्टा समुद्रमा पौडिएर बाँचे



पहिलोपोस्ट

हेलिकप्टर समुद्रमा खसेपछि बाँचेका यी मन्त्री भन्छन् : १२ घण्टा समुद्रमा पौडिएर बाँचे
Photo : President Andry Rajoelina

मादागास्करका एक मन्त्री हेलिकप्टर दुर्घटनाबाट बाँचेका छन्। हेलिकोप्टर समुद्रमा दुर्घटना भएपछि १२ घण्टा पौडी खेलेर बाँचेको बीबीसीले जनाएको छ। 

'मेरो मर्ने बेला आएको रहेनछ,' त्यहाँका मन्त्री गर्ज गेल्लेले भनेका छन्। उनीसँगै हेलिकप्टरमा रहेका उनका दुई सुरक्षा अधिकारी पनि दुर्घटनाबाट बाँचेका छन्। 

यो टोली देशको दक्षिण-पूर्वी क्षेत्रको अनुगमनका लागि निस्किएको थियो। त्यस क्षेत्रमा यात्रु बोकेको डुंगा दुर्घटना भएपछि अनुगमनका लागि पुगेका मन्त्री बोकेको हेलिकप्टरसमेत सोमवार दुर्घटना भएको थियो। 

सो डुंगा दुर्घटनामा कम्तिमा ३९ जना मानिसको मृत्यु भएको थियो। हेलिकोप्टर दुर्घटना भएपछि त्यहाँका राष्ट्रपति आन्द्रे राजोइलिनाले मृतक प्रति श्रद्धान्जली व्यक्त गर्दै मन्त्री र अन्य दुई जना प्रति पनि सम्मान व्यक्त गरेका थिए। 

सोमवार हेलिकप्टर दुर्घटना कति बजे भयो भन्ने स्पष्ट नभए पनि मन्त्री गेल्लेले आफू अघिल्लो रात साढे सात बजे देखि बिहान साढे सात बजेसम्म पौडीएर महाम्बो पुगेको उल्लेख गरेका छन्। उनले आफू घाइते नभए पनि चिसो महसुस गरिरहेको बताएका छन्। 

'मैले यो भिडियो सन्देश मेरा परिवारका सदस्यहरु, मेरा सहकर्मीहरु र सरकारका सदस्यहरुलाई म जिवित छु भनेर देखाउन जारी गर्न चाहन्छु,' महाम्बोमा पुगेका उनले स्थानीयसँग भनेका छन्। 

त्यहाँका प्रहरी प्रमुख जाफिसाम्वात्राले मन्त्री दुर्घटनापछि हेलिकोप्टरको एक सिटलाई तैरिनका लागि प्रयोग गरेको बताएका छन्। 

उनी मन्त्रीमा नियुक्त हुनु अगाडि तीन दशकसम्म प्रहरी अधिकारीको रुपमा कार्य गरेका थिए। गत अगस्टमा मात्र उनी मन्त्रीमा नियुक्त भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell