PahiloPost

Aug 29, 2025 | १३ भदौ २०८२

कहाँबाट कति जना आउँदै छन् माओवादीको राष्ट्रिय सम्मेलनमा? १५३३ जनाले तय गर्दै नयाँ विचार र केन्द्रीय कमिटी



पहिलोपोस्ट

कहाँबाट कति जना आउँदै छन् माओवादीको राष्ट्रिय सम्मेलनमा? १५३३ जनाले तय गर्दै नयाँ विचार र केन्द्रीय कमिटी

काठमाडौं : नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि भन्दै नेकपा (माओवादी केन्द्र)ले प्रथम राष्ट्रिय सम्मेलन आइतवारदेखि काठमाडौंमा गर्दैछ। 

सम्मेलनले केन्द्रीय नेतृत्व चयन गर्नुका साथै नयाँ कार्यदिशा तय गर्नेछ। त्यसका अलावा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन सहितको पार्टीको कार्यदिशालाई छलफलमार्फत् निर्धारण गर्नेछ। 

यतिबेला प्रचण्ड सम्मेलनमा प्रस्तुत हुने प्रतिवेदनको ड्राफ्ट गरिरहेका छन्। प्रचण्डले प्रस्तुत गर्ने प्रतिवेदनमाथि सम्मेलनको बन्दसत्रमा सहभागी हुने एक हजार ५ सय ३३ प्रतिनिधिहरु छलफलमा भाग लिनेछन्। 

माओवादी केन्द्रले सीमित संख्यामा प्रतिनिधिहरुलाई सम्मेलनमा सहभागी गराई नयाँ क्रान्तिकारी विचारलाई अगाडि बढाउने बताइरहेको छ। 

को कहाँबाट बन्दैछन् प्रतिनिधि?
केन्द्रीय सम्मेलन अगाडि माओवादी केन्द्रले स्थानीय तहदेखि नै सम्मेलन गरेर आएको छ। केन्द्रले टोल भेला हुँदै वडा सम्मेलन, पालिका सम्मेलन, प्रदेश सम्मेलन सम्पन्न गरेको छ। प्रदेश सम्मेलन मार्फत् कतिपय प्रदेशले नयाँ नेतृत्व पाइसकेको छ भने कतिपय नेतृत्व चयनको चरणमै छन्। 

'हामीले वडा तहदेखि प्रदेश तहसम्म सम्मेलन सम्पन्न गरिसकेका छौँ,' माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले भने, 'अधिकांशमा नयाँ नेतृत्व चयन भइसकेको छ। केही प्रदेशमा नेतृत्व चयनकै क्रममा छ। सम्मेलन अगाडि नै नेतृत्व चयन भइसक्छ। सोही अनुसार प्रतिनिधिहरु राष्ट्रिय सम्मेलनमा सहभागी हुनेछन्।'

केन्द्रीय सम्मेलनमा माओवादीले ८ सय ३ जना प्रतिनिधि प्रदेशबाट सहभागी गराउनेछ। माओवादी केन्द्रका सात भौगोलिक तथा तीन गैर भौगोलिक गरी १० प्रदेश कमिटी रहेको छ। माओवादी केन्द्रले सात भौगोलिक प्रदेश मध्ये प्रदेश १ बाट ९६, प्रदेश २ बाट १ सय ६, वाग्मतीबाट १ सय २८, गण्डकीबाट ७४, लुम्बिनीबाट १ सय ५, कर्णालीबाट ८७ र सूदुर पश्चिम प्रदेशबाट ८४ जना प्रतिनिधि सहभागी गराउँदैछ। त्यस्तै, गैर भौगोलिक तर्फको प्रवासबाट ३४, विशेषबाट ४२ र सम्पर्क समन्वय प्रदेशबाट ४३ प्रतिनिधि सम्मेलनमा सहभागी हुने प्रवक्ता महराले जानकारी दिए। 

त्यस्तै, आयोजकको रुपमा केन्द्रीय कमिटीका १ सय ७९, सल्लाहकार १ सय ४९, जेष्ठ कम्युनिस्ट मञ्चका प्रतिनिधि १२५ जना सम्मेलनमा पार्टीको नयाँ विचार र नेतृत्व चयनका लागि सहभागी हुँदैछन्। पार्टीका विभिन्न आयोगबाट ७५, केन्द्रीय विभागबाट १ सय २, केन्द्रीय प्रतिनिधिको रुपमा २७ जना प्रतिनिधि सम्मेलनको बन्दसत्रमा सहभागी हुँदैछन्। 

कूल प्रतिनिधिको ५ प्रतिशत मनोनित हुन आउने ७३ जना पनि सम्मेलनमा प्रतिनिधि हुनेछन्। यससँगै सम्मेलनमा एक हजार ५ सय ३३ जना प्रतिनिधि सहभागी हुने प्रवक्ता महराले जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell