
स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिडले एथलेटिक बिल्बाओमाथि जित निकालेको छ। सन मामेस बेरिया स्टेडियममा सम्पन्न खेलमा मड्रिडले घरेलु टोलीमाथि २-१ गोलअन्तरले जित निकालेको हो।
खेलको १० मिनेटभित्र तीनवटै गोल भएका थिए। खेलको चौथो मिनेटमा टोनी क्रुसको पासमा गोल गर्दै करिम बेन्जेमाले मड्रिडलाई अघि बढाए। त्यस्तै ७ औ मिनेटमा बेन्जेमाले नै अर्को गोल थप्दै अग्रता दोब्बर बनाए। यो सँगै जारी सिजन बेन्जेमाको गोल संख्या २० पुगेको छ।
उता बिल्बाओका लागि १० औं मिनेटमा ओस्कार डी मार्कोसको पासमा ओइहन सानसेटले गोल फर्काए। त्यसपछि दुबै टीमले गोल गर्न नसक्दा खेल मड्रिडले २-१ ले आफ्नो पक्षमा पार्यो।
जितसँगै मड्रिडले अंकतालिकामा ८ अंकको अग्रता बनाएको छ। शीर्षस्थानमा रहेको मड्रिडले १९ खेलबाट ४६ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको सेभियाले १८ खेलबाट ३८ अंक जोडेको छ। बिल्बाओ भने २४ अंक जोडेर १० औं स्थानमा छ।