
उखुको उत्पादन लगातार घट्दै गएपछि चिनी मिलको माग धान्न सकस पर्ने देखिँदा व्यवसायीहरु उखु खरिदका लागि किसानको घरघर धाउन थालेका छन्।
चिनी मिल संचालक व्यवसायीहरुले उखु किसानको रकम समयमै भुक्तानीमा वित्तीय अनुशासन गुमाउँदा बक्यौता रकम चुलिँदै गएपछि पछिल्लो केही वर्षयता किसानले उखु बाली नै लगाउन कम गर्दै गएका छन्। यसरी किसानले खेती घटाउँदै लग्दा चिनी मिलका लागि चाहिने कच्चा पदार्थ (उखु) को आपूर्तिमा संकट हुने अवस्था सिर्जना भएको छ। त्यससँगै अहिले चिनी मिलहरु पैसा दिएर उखु खरिद गर्न किसानको घरमै धाउन थालेका हुन्।
यसका बाबजुद किसानहरुले भने यही अवस्थामा उखु बिक्री नगर्ने उखु उत्पादक संघले जनाएको छ।
हाल ठुलो परिमाणमा उखु उत्पादन नहुँदा व्यवसायीहरु घरमै खरिद गर्न आउन थालेका हुन्। पहिले किसानले बेच्न खोज्दा पनि अनेक बाहनामा चिनी मिलहरुले खरिद गर्न खोज्दैनथे। किन्नेले पनि किसानलाई भन्दा आफूलाई निक्कै बढी फाइदा हुने अवस्थाका सर्त अघि सारेर मात्र खरिद गर्दथे। अहिले भने तिनै चिनी मिलहरुले किन्छु भन्दा पनि नपाएको उखु उत्पादक संघका अध्यक्ष कपिलमुनी मैनाली बताउँछन्।
उखुको मूल्य नबढे बरु बारीमै छोड्ने, तर नबेच्ने
उखु उत्पादक संघका अनुसार उद्योगीहरुले मूल्य नबढाए यसपालि किसानले उखु बिक्री नै नगर्ने भएका छन्। हरेक वर्ष उखुको मूल्य बढ्ने गरेको थियो। यो वर्ष भने कृषि मन्त्रालयले मूल्य बढेको जानकारी गराएको छैन। किसानहरुले मूल्य बढाउन माग गर्दै आएका छन्।
संघले स्थानीय प्रशासनलाई कति मूल्य बढाउने भनेर भनिसकेको दाबी गरिएको छ। यद्यपि, स्थानीय प्रशासनबाट यस विषयमा किसानलाई कुनै पनि जानकारी नभएको उखु उत्पादक संघको भनाइ छ।
'यही कारण यदि अहिलेकै अवस्था रहने हो भने उखु बिक्री गर्ने सिजन सुरु भए पनि मूल्य नबढेसम्म उखु बनेच्ने, बरु नकाटी बारीमै छोड्ने निर्णय हामीले गरेका छौं,' मैनालीले भन्छन्।
गतवर्ष उखुको मूल्य प्रतिक्विन्टल ८ रुपैयाँ बढेर ५ सय ३६ रुपैयाँबाट ५ सय ४४ रुपैयाँ पुगेको थियो। उत्पादन लागत धेरै भएकाले यसअघि तोकिँदै आएको मूल्यले किसानलाई न्यान नगरेकाले धेरैजना यसको खेतीबाटै पलायन भएको भनाइ संघको छ। यसकारण उखुको मूल्य पनि किसानलाइ राहत हुने गरी बढाउनुपर्ने अध्यक्ष मैनालीको भनाइ छ।
'चिनीको मूल्य महँगिदै गए पनि उखुले भने उचित मूल्य नपाउँदा किसान मारमा परेका हुन्। उखुको मूल्य किसानलाई भन्दा उद्योगीलाई हेरेर समायोजन गर्ने गरिएको छ,' मैनालीको गुनासो छ, 'यसकारण किसानहरु उखु खेतीबाट पलायन हुन थालेका हुन् र अहिले उत्पादन निक्कै घटेको हो।'
पहिले नेपाली किसानहरुले उत्पादन गरेको उखुकै भरमा स्थानीय चिनी मिलहरुले एक सय २० दिनभन्दा बढी समयसम्म मिल चलाएर क्रसिङ गर्थे। अहिले भने चिनी मिललाई क्रसिङका लागि ५० दिन पनि पुग्ने उखु उत्पादन नभएको संघको भनाइ छ। यसको सोझाे असर यसपालि चिनी उत्पादनमा पर्ने देखिएको छ।
यो वर्ष पनि चिनी उत्पादन घट्ने
संघका अनुसार, पछिल्लो पाँच वर्षदेखि नै उखु उत्पादन क्रमिक रुपमा घट्दै गएको छ। हरेक वर्ष उखु उत्पादन २० प्रतिशत घट्दै गएको मैनालीको भनाइ छ। केही वर्षअघिसम्म दुई करोड ५० लाख क्विन्टल उखु उत्पादन हुने गरेकोमा अहिले यो बढीमा एक करोड क्विन्टनलभन्दा धेरै उत्पादन हुने सम्भावना कमै रहेको संघको अनुमान छ।
नेपालमा वार्षिक दुई लाख ५० हजार टन चिनी खपत हुने तथ्यांक छ। यसमा स्वदेशी उत्पादनका साथै आयातित चिनीको पनि हिस्सा ठूलो छ। पहिले बजार मागको अधिकांश हिस्सा स्वदेशी उत्पादनबाटै धानिँदै आएकोमा पछिल्ला केही वर्षयत भने उखु खेती नै कम हुँदै जाँदा स्थानीय उत्पादनभन्दा बढी आयातित चिनीमा निर्भरता थपिँदै गएको छ। यो क्रम यो वर्ष पनि थप हुने व्यवसायीहरुले बताएका छन्।
गत वर्ष नेपाली चिनी मिलहरुले एक लाख ८० हजार टन उत्पादन गर्ने अनुमान गरिएको थियो। तर उनीहरुले अपेक्षा गरेबमोजिम उखु उपलब्ध नहुँदा लामो अवधि क्रसिङ गर्न नपाउँदा करिब एक लाख ५ हजार टन मात्र उत्पादन भएको थियो । सोही कारण पोहोर व्यवसायीहरुले ठूलो परिमाणमा चिनी आयात गरेर बिक्री गरेका थिए। यसपालि पनि बजार माग पूरा गर्नका लागि अन्यन्त्रबाट चिनीको आयात गर्नुपर्ने अवस्था प्रष्ट देखिएको छ ।
उखु खेतीबाट ३० हजारभन्दा बढी किसान पलायन
उखु खेती गर्ने किसानहरुको संख्या पनि वर्षेनी घट्दै गएकाले संघले यस्तो अनुमान गरेको हो। आफूले उब्जाएको बालीको भुक्तानी नै समयमा र पूरा नभएपछि उखुबाटै दैनिक गुजारा गर्दै आएका र यसलाई नै आम्दानीको मुल स्रोत बनाएका किसानहरु उखु खेती छोडेर अहिले अन्नबाली, तरकारी खेती लगायत अन्य नगदे बालीतर्फ लागेका छन्। मैनाली भन्छन्, 'उखु खेती र मूल्यका लागि अब किसानहरुले लडाइ गर्न छाडेका छन्।'
अहिले पुरानो भुक्तानी बाँकी नरहे पनि बिक्री गर्नका लागि किसानहरुसँग मिलले मागेजति उखु छैन। संघका अनुसार, केही वर्षको अन्तरालमा ३० हजारभन्दा बढी किसानहरु उखु खेतीबाट पलायन भइसकेका छन्। पहिले एक लाखभन्दा बढी किसानले उखु खेती गर्दै आएका थिए भने करिब यो संख्या ७० हजारभन्दा तल ओर्लिसकेको संघको आँकडा छ। अहिले उखु खेती गरिरहेका किसानले पनि यसलाई पहिलेजस्तो पूर्णकालिन खेती वा पेशा नबनाएको संघका अध्यक्ष मैनाली बताउँछन्।