PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

पूरा परिणाम नआउँदै सानेपामा छोपिए उपसभापति र महामन्त्रीको ‘नेमप्लेट’



पहिलोपोस्ट

पूरा परिणाम नआउँदै सानेपामा छोपिए उपसभापति र महामन्त्रीको ‘नेमप्लेट’

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मतपरिणाम पूरा आइसकेको छैन। मंसिर २४ गते भृकुटीमण्डपमा उद्घाटन भई २७ गते मतदान भएकोमा २८ केन्द्रीय सदस्यको मतपरिणाम आउनेक्रममा छ। केन्द्रीय निर्वाचन समितिले निर्वाचन परिणाम घोषणा गरेपनि निर्वाचित पदाधिकारी र सदस्यहरुलाई निर्वाचित भएको प्रमाण पत्र दिएको छैन।

तर पार्टी मुख्यालय सानेपामा भने उपसभापति र महामन्त्रीको नेमप्लेट छोपिसकिएको छ। सहमहामन्त्री, कोषाध्यक्षको नेमप्लेट भने छोपिएको छैन।

कांग्रेसमा यसअघि डा शशांक कोइराला र पूर्णबहादुर खड्का महामन्त्री थिए। सानेपाको कांग्रेस कार्यालयको तेस्रो तल्ला र चौथो तल्लामा रहेको महामन्त्रीको नेमप्लेट छोपिएका छन्।

तेस्रो तल्लामा कोइराला र चौथो तल्लामा खड्काको कार्यकक्ष रहेको थियो। कोइराला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने खड्का उपसभापतिमा। १४ औं महाधिवेशनबाट महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन्।

चौथो तल्ला र छतमा रहेको उपसभापतिको नेमप्लेट पनि छोपिएका छन्। उपसभापति रहेका विमलेन्द्र निधि सभापतिमा भिडेर पराजित बनेका छन्। उनको कार्यकक्ष चौथो तल्लामा रहेको थियो।

उपसभापति नै रहेका विजयकुमार गच्छदारको कार्यकक्ष छतमा रहेको थियो। उनी यसपटक उपसभापतिमा पराजित बने। उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन्।

निर्वाचन समितिले औपचारिक रुपमा प्रमाणपत्र नदिइ नेमप्लेट छोपिनु गलत प्रवृत्ति भएको एक कांग्रेस कार्यकर्ताले बताए। 

दोस्रो तल्लामा रहेको सहमहामन्त्री सुनिलबहादुर थापा र कोषाध्यक्ष सीतादेवी यादवको नेमप्लेट भने हटाइएको छैन। थापा केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भन् यादवले कुनै पदमा उम्मेद्वारी दिइनन्।

सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना, भिष्मराज आङदेम्बे, किशोरसिंह राठौर, जीवन परियार, महेन्द्र यादव, उमाकान्त चौधरी, फरमुल्लाह मन्सुर र बद्री पाण्डे निर्वाचित भएका छन्।

दोस्रो तल्लामै सभापति शेरबहादुर देउवाको कार्यकक्ष रहेको छ। देउवा पुन सभापतिमै निर्वाचित भइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell