PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

सप्तकोशी डेभलपमेन्ट बैंकमा रेमिट्यान्सको १ करोडभन्दा बढी रकम हिनामिना, एक कर्मचारी पक्राउ



पहिलोपोस्ट

सप्तकोशी डेभलपमेन्ट बैंकमा रेमिट्यान्सको १ करोडभन्दा बढी रकम हिनामिना, एक कर्मचारी पक्राउ

विराटनगर : सप्तकोशी डेभलपमेन्ट बैंकको विराटनगरस्थित कर्पोरेट कार्यालयमा रेमिट्यान्सको १ करोडभन्दा बढी रकम हिनामिना भएपछि एक कर्मचारी पक्राउ परेका छन् ।

बैंक स्रोतका अनुसार रेमिट शाखामा कार्यरत जुनियर अफिसर हिमाल भट्टराई पक्राउ परेका हुन्। भट्टराईमाथि आफ्नो कम्प्युटरको पासवर्डको दुरुपयोग गरेर रकम हिनामिना गरेको अभियोग लगाइएको छ।

बैंकका सिइओ नवीन सुवेदीले कर्मचारी भट्टराई पक्राउ परेको पुष्टि गरे।

सिइओ सुवेदीले यस प्रकरणलाई नेपाल प्रहरीको सिआइबी र नेपाल राष्ट्र बैङ्कले अनुसन्धान गरिरहेकाले बैंकका तर्फबाट तत्काल केही भन्न नमिल्ने बताए ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले सप्तकोशीको मुद्दालाई सिआइबीले हेरिरहेको बताए। प्रवक्ता श्रेष्ठले अभियुक्तलाई कुन कसुरअन्तर्गत मुद्दा चलाउने भन्ने विषयमा छलफल नटुङ्गिएकाले अहिले नै सूचना दिन नमिल्ने बताए।

अभियुक्त भट्टराईलाई देवानी वा फौजदारी कुन प्रकृतिको मुद्दा लगाउने भन्ने बारेमा सिआइबी निक्र्यौलमा पुगिनसकेकाले मुद्दा दर्ता गर्न ढिलो भएको बताइएको छ।

डिएसपी श्रेष्ठले कुन प्रकृतिको मुद्दा लगाउने भन्ने विषयमा राष्ट्र बैङ्क र कानुनविज्ञसित समन्वय भइरहेको जानकारी दिए। उनले हिनामिना भएको रकम कति हो भन्ने विषयमा मुद्दा दर्ता गर्नुपूर्व अहिले बोल्न नमिल्ने स्पष्ट पारे।

उनले भने, ‘मुद्दा दर्ता भएपछि हामी पत्रकार सम्मेलन गरेरै सबै जानकारी दिन्छौँ।’

बैंकको केन्द्रीय कार्यालय धनकुटा र कर्पोरेट कार्यालय विराटनगरमा छ। तर केन्द्रीय कार्यालयका सबै काम कर्पोरेट कार्यालयबाटै गरिन्छ।

सप्तकोशी पूर्वकै ठूलो विकास बैंक मानिन्छ। यो बैंक प्रदेश १ का मोरङ, सुनसरी, झापा, पाचथर, इलाम, धनकुटा र तेह्रथुम गरी ७ जिल्लामा विस्तारित छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell