PahiloPost

Aug 29, 2025 | १३ भदौ २०८२

अमेरिकी प्रजातन्त्र द्वैध चरित्रको भएको चिनियाँ प्रतिवेदन : अरुको देशमा प्रजातन्त्रका नाममा हिंसा भड्काउने, आफ्नो देशमा जनप्रदर्शन दबाउने



पहिलोपोस्ट

अमेरिकी प्रजातन्त्र द्वैध चरित्रको भएको चिनियाँ प्रतिवेदन : अरुको देशमा प्रजातन्त्रका नाममा हिंसा भड्काउने, आफ्नो देशमा जनप्रदर्शन दबाउने

काठमाडौं : पछिल्लो समय प्रजातन्त्रको विषयलाई लिएर चीन-अमेरिका बिच वाकयुद्ध चलिरहेको छ।

चीनले अमेरिकी प्रजातन्त्र आधुनिक प्रजातन्त्रका लागि एकमात्र र अन्तिम प्रणाली नभएको र हुनै नसक्ने बताएको छ। चीनको सोसाइटी फर ह्युमन राइट्स स्टडिजले बिहीवार 'अमेरिकी प्रजातन्त्रका सीमितता र कमजोरी' शीर्षकमा र २९ पृष्ठ लामो प्रतिवेदन सार्वजनिक गर्दै यस्तो बताएको हो।

प्रतिवेदनमा राजनीतिक विशेषता र विचारधारका आधारमा अमेरिकी प्रजातन्त्र पुँजीवादी प्रजातन्त्र भएको आरोप समेत लगाइएको छ। 

प्रतिवेदनमा अमेरिकी प्रजातन्त्रमा लामो समय रंगभेदका कारण जनताहरु प्रजातान्त्रिक सहभागिताका लागि वञ्चित भएको समेत बताइएको छ। 

'स्वतन्त्रताको घोषणाले सबैजना समान रूपमा जन्मेका छन् भनी बताउँछ। तर, पूर्व राष्ट्रपति बाराक ओबामाले पनि स्वीकार गरे : जातीय भेदभावले हाम्रो जीवनलाई नियन्त्रण गर्ने लगभग हरेक प्रणालीलाई असर गर्छ। यसले गहिरो प्रभाव पार्छ र यो हाम्रो डीएनएको भाग को भाग हो,' ओवामाको भनाइलाई उद्धरणमा राखेर प्रतिवेदनमा अगाडि भनिएको छ, 'यसले देशको स्थापनादेखि अहिलेसम्म नै जातीयता अमेरिकी प्रजातन्त्रको डीएनएमै रहेको देखाउँछ।'

त्यस्तै, अमेरिकी प्रजातन्त्र दोहोरो चरित्रको रहेको समेत आरोप लगाएको छ। खाडीमा अरब स्प्रिङ, युक्रेनमा राजनीतिक संकटलाई मलजल गरिरहेको र हङ्कङमा पृथकतावादीको प्रदर्शनलाई प्रजातन्त्रको नाममा सहयोग र समर्थन गरिरहेको अमेरिकाले आफ्नो देशमा सडकमा भइरहेका प्रदर्शनहरुलाई दबाइरहेको आरोप समेत प्रतिवेदनमा लगाइएको छ।

'यद्यपि, विडम्बनाका रूपमा, अमेरिकाले हालैका वर्षहरूमा अमेरिकामा सडक राजनीति आन्दोलनहरूलाई बलपूर्वक दबाएको छ। आर्थिक संकटको प्रभावका कारण, विशेषाधिकार विहीन अमेरिकी जनताले सामाजिक अन्याय र सम्पत्तिको असमान वितरणविरुद्ध कडा आक्रोश र अकुपाय वालस्ट्रिट आन्दोलन सुरु गरे,' प्रतिवेदनमा भनिएको छ, 'प्रतिक्रियामा अमेरिकी राजनीतिज्ञहरुले आन्दोलनकारीलाई भिडको संज्ञा दिँदै अपमानित गरे। र, अमेरिकी प्रहरीले हिंसात्मक बल प्रयोग गरी दबायो।'

अमेरिकामा जर्ज फ्लोइड जस्ता काला जातिका नागरिकहरुको हत्या भएको र प्रदर्शनमा उत्रिएका नागरिकलाई हुलदंगाको संज्ञा दिइएको समेत आरोप लगाए।

अमेरिकामा प्रदर्शन हुँदा अमेरिकी मिडियाले काला जातिका प्रदर्शनकारीको अनुहार देखाउने तर गोरा जाति प्रहरीको अनुहार नदेखाउने गरेको आरोप लगाउँदै प्रतिवेदनमा भनिएको छ, 'तर, हङ्कङमा प्रदर्शन हुँदा अमेरिकी मिडियाको क्यामेरा प्रहरीतिर फर्किरहेको हुन्छ। त्यहाँ प्रदर्शनकारीले पुर्‍याइएको क्षतिलाई नजर अन्दाज गरिन्छ र गलत मनासयका साथ हङ्कङ प्रहरीको छवि धुमिल बनाउन लागिन्छ।'

रिपोर्टमा अमेरिकी प्रजातन्त्र माथि पैसा हाबी भएको समेत आरोप लगाइएको छ।

प्रतिवेदनमा अमेरिकाले प्रजातन्त्रको 'आफ्नो मोडल' लाद्नका लागि विश्वभर नाकाबन्दी गरिरहेको आरोप समेत लगाइएको छ। 'यदि हामीले प्रजातन्त्रको एउटा मात्र मोडल विश्वमा लागू गर्न खोज्यौं भने यो आफैँमा प्रजातन्त्रको विरुद्धमा हो,' प्रतिवेदनमा भनिएको छ। 

अमेरिकाले 'प्रजातन्त्रका लागि सम्मेलन' आयोजना गरी प्रजातन्त्रको परिभाषा गर्ने एकाधिकार ठेकेदारी लिन खोजेको र प्रजातन्त्रका नाममा आफूमात्र न्यायाधीश भएको उभ्याउन चाहेको आरोप समेत प्रतिवेदनमा लगाइएको छ।

प्रजातन्त्र कस्तो हुने भन्ने छनोट गर्ने अधिकार पनि प्रजातन्त्र भएको भन्दै प्रतिवेदनमा भनिएको छ, 'सबै देशका नागरिकले स्वतन्त्र रूपमा प्रजातान्त्रिक विकासलाई आफ्नो विशेषता सहित अगाडि बढाउन र राजनीतिक उपलब्धिहरूको विविधतामा आफ्नो बुद्धि र शक्तिको योगदान गर्न पाउनुपर्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell