PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

जगरनाथपुर पुगेर केपी ओलीले भने : छिटो चुनाव चाहेका छौँ, प्रचण्डलाई आफ्नो विकाससँग मात्र मतलब छ

जगरनाथपुर पुगेर केपी ओलीले भने : छिटो चुनाव चाहेका छौँ, प्रचण्डलाई आफ्नो विकाससँग मात्र मतलब छ

राधेश्याम पटेल/पहिलोपोस्ट


वीरगंज : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले छिटो चुनाव होस् भनेर चाहेको बताएका छन्। पर्साको पश्चिमी भेगको जगरनाथपुर गाउँपालिकामा आयोजित सन्देश सभा तथा वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भ्रष्टचारमा लिप्त गठबन्धनको सरकार रहेकोले देशमा अहिले गरिबी र विकास पुनः अवरुद्ध भएको जिकिर गरे।

‘अहिले देशको विकास फेरी रोकिएको छ, गरिबी बढेको छ, बैंकसँग पैसा छैन। धितो राखेर पनि ऋण लिने अवस्था छैन’, ओलीले भने, ‘देश बचाउने र विकास गरी समृद्ध गर्ने पार्टी नेकपा एमाले मात्रै भएकोले यसमा आउनुहोस्, म स्वागत गर्न तयार छु।’

उनले आफू सरकारमा हुँदा भारतबाट नेपालको भूमि फिर्ता ल्याउने निर्णय गरेको र मधेसलाई बाढीको चपेटाबाट बचाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरेर तराईका विभिन्न बाँधहरु खोलेर पानी निकास गराएको पनि दावी गरे। उनले आफ्नै पालामा हुलाकी सडकलाई हुलाकी राजमार्गमा परिणत गरी तराईको जनजीवन सहज बनाएको चर्चा गर्दै देशमा औद्योगीकरण, कृषि आधुनिकीकरण, नेपाल-भारत तथा तेस्रो मुलुकसँगको व्यापार सहजताको लागि भारतको चार वटा बन्दरगाहबाट रेल्वे कनेक्टिभिटी पनि जोड्न सफल भएको बताए।

उनले नेपालको पानी जहाज र नेपाली स्याटेलाइट राख्न पनि स्पेश किनिसकेको चर्चा गर्दै बालबालिका, वृद्धवृद्धालगायतलाई सामाजिक सुरक्षाभत्तामा पनि बढोत्तरी गरी ठूलालाई सम्मान गरेको पनि जिकिर गरे। उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफूले नै हात समाएर नेकपाको एकता गरी अगाडि बढाएको पनि बताए।

‘प्रचण्डलाई मैले नै हात समाएर नेकपा (एमाले)सँग एकता गरी बामपन्थीको मुलधाराको राजनीतिमा ल्याएको थिएँ, देश विकासमा अगाडि बढाउन खोजेको थिएँ’, उनले भने, ‘तर, उनलाई त्यो पचेन, उनलाई आफ्नो विकाससँग मात्र मतलब छ। आफ्नो परिवार आफन्तजनको विकास मात्र चाहन्छन्।’

ओलीले आफ्नो कार्यकालमा देशमा साढे ४ सय सडक बनेको र देश विकासको बाटोमा अघि बढेको पनि औँल्याए।

कार्यक्रममा एमालेका उपाध्यक्ष विष्णु पौडेलले समाजमा विभेद र असमानता हटाउने पार्टी एमाले भएको बताए। केपी ओलीसँग जगरनाथपुर पुगेका पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले अहिले देशभरी एमालेमा नेता कार्यकर्ताहरुको प्रवेश गर्ने लहर नै चलेको चर्चा गर्दै आगामी चुनावमा एमालेलाई दुई तिहाईको बहुमत प्राप्त हुने पनि उनले ठोकुवा गरे।

‘देशमा एउटा मजबुत पार्टी बचेको छ, भने त्यो नेकपा एमाले हो’, उनले भने, ‘एमालेले तराई मधेस, पहाड हिमालका सबै जनतालाई एक समान नजरले हेरेको छ। देशको विकास क्रमसँगै खोजेको छ।’

जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मियाले केपी ओली देश बनाउने एमालेका महान नेता भएकोले आफू उनीबाट प्रभावित भएर उनको पार्टीमा प्रवेश गरेको स्पष्ट पारेका छन्।

‘मलाई सत्तामा टिकिरहन एमालेमा प्रवेश गरेको आरोप लागिरहेको छ’, उनले भने, ‘प्रचण्डजीले भनेका छन्, कालो गयो, गोरो छ, अर्थात उर्मिला जी हुनुहुन्छ, म कालो गएर। प्रचण्डजीलगायतको पार्टीले गरेको चर्तिकला कसैसँग लुकेको छैन, उहाँहरुबाट देश बन्दैन।’

ओली र हेलिकप्टर हेर्न स्थानीयको ओइरो

केपी ओलीको कार्यक्रममा सहभागी हुन पर्सा, बारा, रौतहट, मकवानपुर, चितवन तथा प्रदेश २ का विभिन्न जिल्लाबाट हजारौँ नेता कार्यकर्ता तथा उनका समर्थकहरु आएका थिए। पैदल, साइकल, मोटरसाइकल, कार, जिप, भ्यान, ट्रयाक्टर, बसलगायत सवारीबाट उनीहरु कार्यक्रम स्थलमा पुगेका थिए।

कतिपय समर्थकले आफ्नो गाडीमै भाडाकुडासहित खानेकुराको प्रबन्ध मिलाएर पुगेका थिए। केही गाडीमा बाजागाजासहित नाच टोली पनि पुगेको थियो। ओली र हेलिकप्टरलाई हेर्न सर्वसाधारणको जगरनाथपुरमा भीड लागेको थियो।

पालिकाभरीको विद्यालय बिदा

ओलीको कार्यक्रमका दिन पालिकाभरीको सरकारी विद्यालयलाई बिदा दिइएको थियो। बिहान एक घण्टा विद्यालय खुलेपनि ११ बजेपछि अधिकांश विद्यालय बन्द गरेर ओलीको भाषण सुन्न स्थानीय तथा विद्यार्थी-शिक्षक पुगेको जगरनाथपुर गाउँपालिका ५ मसिहानीका धर्मेन्द्र पटेलले बताए।

ओलीलाई १ सय ५१ किलोको माला

गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन गर्न पुगेका केपी ओलीको स्वागतमा गाउँपालिकाका कर्मचारी र स्थानीयहरुले भीडभाड गर्न गेट नै भाचिएको थियो। त्यहाँ उपस्थित गाउँपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरुले ओलीलाई पुष्प गुच्छा र फुल माला लगाउन केही बेर तछाडमछाड गरेका थिए।

सिम्रिक एयरको दुई वटा हेलिकप्टरमार्फत काठमाडौंबाट पर्साको जगरनाथपुर-४ पशुबजार नजिकैको रंगशालामा आमसभा आयोजना गरिएको थियो। आमसभा नजिकै हेलिकप्टरबाट अवतरण गरी कार्यक्रम स्थलबाट तीन किलोमिटर दक्षिणमा रहेको जगरनाथपुर गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन गरी उनी फेरी मञ्चमा पुगेका थिए।

ओलीलाई मञ्चमा १ सय ५१ किलोको फूलको मालाले स्वागत गरिएको थियो। दिउँसो करिब सवा १ बजे पर्सा आएका ओली अपरान्ह ४ बजे हेलिकप्टरबाट नै काठमाडौं फिर्ता भएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell