PahiloPost

Aug 29, 2025 | १३ भदौ २०८२

ए डिभिजन लिगमा आज दुई खेल, चारवटै टिमको चिन्ता: स्कोरिङ



पहिलोपोस्ट

ए डिभिजन लिगमा आज दुई खेल, चारवटै टिमको चिन्ता: स्कोरिङ
थ्री स्टारसँग प्रतिस्पर्धाा गर्दै एपीएफका(पहेँलो जर्सी) खेलाडी। फाइल फोटो

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन्।

आज हुने पहिलो खेलमा एपीएफ फुटबल क्लब र न्युरोड टिम (एनआरटी) प्रतिस्पर्धा गर्नेछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे खेल सुरु हुनेछ। अंकतालिकामा एनआरटी ५ खेलबाट १ जित, ३ बराबरी र १ हार ब्यहोर्दै तालिकाको सातौं स्थानमा छ भने एपीएफ समान खेलबाट तीन पराजय, एक जित र एक बराबरी खेल्दै ४ अंक जोडेर तालिकाको ११ औं स्थानमा छ।

एनआरटीका प्रशिक्षक राजुकाजी शाक्यले आफ्नो टोलीका विदेशी खेलाडीहरु चल्न नसकेको बताए। नेपाल सुपर लिगको सर्वाधिक गोलकर्ता मेसुके ओलमोउलगायत उत्कृष्ट प्रदर्शन गरेका विदेशी खेलाडीलाई एनआरटीले अनुवन्धन गरेको थियो।

'सबैले राम्रो खेलिरहेको छ। टिमले राम्रो खेले जस्तो लाग्छ तर स्कोर निकाल्न सकेका छैनौं,' प्रशिक्षक शाक्यले भने, 'एनएसएलमा खेलेको हिसाबले विदेशी खेलाडीले २० प्रतिशत पनि खेलेका छैनन्। विभागीयको खेल राम्रो हुन्छ। सेट टिम हुन्छ उनीहरुको। हाम्रोमा एकअर्कालाई बुझ्न समय लाग्छ।'

त्यस्तै विदेशी खेलाडीमा थप्ने तयारीमा रहेको एपीएफले एनआरटीका कडा प्रतिद्वन्दीका रुपमा लिएको एपीएफका सहायक प्रशिक्षक रत्नकाजी महर्जनले बताए।

'एनआरटी राम्रो टीम हो त्यही अनुसारको तयारी छ,' उनले विदेशी खेलाडी बारे भने, 'पेपरवर्क भइसकेको छ। अर्को एकजना डिफेन्स हुनुन्छ। पेपे पहिला जावलाखेलबाट खेलेको खेलाडी। हरेक म्याच दिनप्रतिदिन सुधार भइरहेको छ। अघिल्लो म्याच जित्दासबै जना मोटिभेट छन्।'

उनले आफ्नो टोलीको मुख्य समस्या स्कोरिङमा भएको बताए।

त्यस्तै दोस्रो खेलमा नेपाल पुलिस र फ्रेन्ड्स क्लब आमनेसामने हुनेछन्। खेल साँझ पौने ५ बजे सुरु हुनेछ।

पाँच खेलबाट २ हार, दुई बराबरी र एक जित निकाल्दै ५ अंक जोडेर पुलिस १० औं स्थानमा छ। त्यस्तै लिगको एकमात्र जितविहीन टोली फ्रेन्ड्स क्लब २ बराबरी र तीन हार ब्यहोर्दै तालिकाको पुछारमा छ।

फ्रेन्ड्स क्लबका प्रशिक्षक मृगेन्द्र मिश्र रेफ्रीको भूमिकालाई लिएर असन्तुष्ट सुनिए। रेफ्रीको खराब निर्णयले आफूले खेलमा पराजय ब्यहोर्नु परेको उनले आरोप लगाउँछन्।

'अघिल्लो खेलमा राम्रो भइरहेको थियो। एपीएफलाई पनि लिड त गरेका थियौ। तर त्यो अफसाइड को कारण के हो?,' उनले अगाडि भने, 'पुलिससँग जित्नुपर्ने गरि खेल्ने हो।'

अंकतालिकाको पुछारमा भए पनि अन्य टीमसँगको अंक दुरी धेरै नहुँदा एउटा खेलले नै अवस्था परिवर्तन गर्ने उनले दाबि गरे।

'एउटा म्याच जित्ने बितिक्कै ५ अंक हुन्छ। अंकको ग्याप धेरै छैन।' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell