PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

दरबारमार्गको सडकमा पैसा फ्याँलेर आक्रोशित देखिएका र्‍यापर भीटेनको बारेमा के भन्छ प्रहरी?



पहिलोपोस्ट

दरबारमार्गको सडकमा पैसा फ्याँलेर आक्रोशित देखिएका र्‍यापर भीटेनको बारेमा के भन्छ प्रहरी?

काठमाडौं : केही दिनदेखि सामाजिक सञ्जालमा र्‍यापरका रुपमा चिनिएका भीटेन उर्फ समीर घिसिङको एउटा भिडियो निकै भाइरल बनेको छ। 'मेरो आँसु झरेको छ। कसैले चुकाउन सक्छ?' भन्दै उनले दरबारमार्गको मध्य सडकमा पैसा छरेर सडकमा मुड्की बजारिरहेको देखिन्छ।

निकै आक्रोशित रुपमा प्रस्तुत भएका भीटेनले अश्लिल शब्द समेत बोल्दै निस्किएको देखिन्छ। उनका पछिपछि एक युवक पनि देखिन्छन् जसले बोलेको सुनिन्छ पैसा टिप पैसा टिप। दृश्य दरवारमार्गको मुल सडकको हो। रातिको समय उनको यस्तो 'हर्कत' हेर्न मानिसहरु झुम्मिएका छन्। भाइरल भएको भिडियोमा कसैले बोलेको सुनिन्छ - भीटेन पो रहेछ!

आखिर भीटेन यस्तो अवस्थामा कसरी र किन पुगे? भिडियोमा देखिएको दृश्य असामान्य नै देखिन्छ। त्यसैले गर्दा पनि होला भिटेनको भिडियो चर्चामा आयो। घटना भएको स्थानबाट महानगरीय प्रहरी वृत्त दरबारमार्गको दुरी झन्डै २ सय मिटरमा छ। दरबारमार्ग त्यसै पनि प्रहरीको उपस्थिति बाक्लै हुने ठाउँ। तर, प्रहरीले भीटेनको यो प्रकारणबारे पत्तै पाएन!

'यस घटना बारे खासै जानकारी भएन। कसरी के को लागि भयो भन्ने पनि थाहा छैन,' महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी विश्वराज खड्काले भने।

पैसा छरिएको केही समयपछि एक ट्याक्सी चालकले पैसाको झोला प्रहरीलाई बुझाएका रहेछन्। त्यसपछि प्रहरीले पैसा सहितको झोला भीटेनलाई नै बुझाएको दाबी गरेको छ।

'पैसा भएको झोला लिएर हामी कहाँ बुझाएका थिए। त्यसै दिन हामीले भीटेनलाई नै फिर्ता गरेका छौं। अरु कुरा केही थाहा भएन। त्यो सुटिङ भएको हुनसक्ने बुझिएको छ,' डीएसपी खड्काले भने।

२०७६ कार्तिकमा 'हामी यस्तै त हो नि ब्रो' बोलको र्‍यापबाट भीटेन चर्चामा आएका थिए। र्‍यापमा प्रहरी अश्लिल शब्द प्रयोग गर्दै गाली गरेपछि उनी प्रकाउ पनि परेका थिए। अश्लिल गाली गरेको आरोपमा महानगरीय अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell