काठमाडौं : नेकपा माओवादी केन्द्र र नेकपा मसाल सम्पर्क केन्द्रबिच एकता भएको छ। काठमाडौंको त्रिपुरेश्वरमा आयोजित सभामार्फत् एकताको घोषणा भएको हो। नेकपा मसाल सम्पर्कका तर्फबाट लोकेन्द्र लम्साल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता सभालाई सम्बोधन गरेका थिए।
प्रचण्डले मसाल सम्पर्क केन्द्रसँगको एकता रणनीतिक नभएको बताए। उनले सैद्धान्तिक र विचारधारात्मक रुपमा एकीकरण भएको बताए। प्रचण्डले पहिला नेकपा एमालेसँग पनि आफ्नो भूमिकाका कारण एकता सम्भव भएको सुनाए।
'यो कुनै रणनीतिक एकता होइन। विधारधारत्मक एकता हो। कुनैबेला एमालेसँग पनि एकता भएको थियो नि,' उनले भने।
उनले समाजवादीको नयाँ बाटोको खोजी हुने बताए। कम्युनिस्ट नेताहरुबाटै बेलाबेलामा प्रतिक्रान्ति हुने गरेको आरोप पनि लगाए। अहिले पनि प्रतिक्रान्तिको षड्यन्त्र भइरहेको उनको भनाइ थियो। 'अहिले पनि दुईवटा बिचार बिच ध्रुविकरण भइरहेकै छ,' उनले भने।
उनले अहिले पनि विभिन्न अप्ठेरो अवस्था भएको भन्दै रिल्याक्स नगर्न कार्यकर्तालाई निर्देशन दिए।
'अहिले पनि हामी ढुक्क हुने अवस्था छैन्। राष्ट्रका पक्षधर एक हुनुपर्ने अवस्था छ। रिल्याक्स गर्ने अवस्था छैन,' उनले भने, 'प्रतिक्रान्तिको विरोधीको भूमिका खेल्न सक्नुपर्छ।'
उनले ओलीको धाकधम्की मात्रै भएको बताए। उनले जनताले चुनावमा देखाउने बताए।
उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी प्रवेशका नाममा गाउँगाउँमा हिँडिरहेको बताए।
'केही मानिसहरु अहिले पनि शिला खोज्दै हिँडेका छन् पार्टी एकताका नाममा। सुनारको सय चोट, लोहारको एक चोट भन्छन्। विदेशी दलालका अगाडि आत्म समर्पण गर्ने नेपालका क्रान्तिकारीको अगाडि चल्ने छैन,' उनले भने।
एकता सभामा मसाल सम्पर्क केन्द्रका तर्फबाट संयोजक लोकेन्द्र लम्सालले अहिलेको आवश्यकता एकता नै भएको बताए। उनले प्रचण्डलाई ताकेरमात्रै आफ्नो भूमिकाबाट कसैले पन्छिन नमिल्ने बताए। उनले माओवादी केन्द्रसँग विचार मिलेकाले एकता भएको बताए।