PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

वाग्मती प्रदेशमा थपिए ३ मन्त्री र ३ राज्यमन्त्रीः चौथो पटक मन्त्रिपरिषद विस्तार, मन्त्रीको संख्या १८ पुग्यो



निशा गुरुङ

वाग्मती प्रदेशमा थपिए ३ मन्त्री र ३ राज्यमन्त्रीः चौथो पटक मन्त्रिपरिषद विस्तार, मन्त्रीको संख्या १८ पुग्यो

हेटौंडाः वाग्मती प्रदेशमा थप तीन मन्त्री र तीन राज्यमन्‍त्री थप भएका छन्। नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद र गोपनीयताको शपथ समेत लिएका छन्।

नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ गराएका हुन्। पाण्डेले शुक्रबार नेपालको संविधानको धारा १६८(९) बमोजिम ३ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेका थिए।

निर्णय अनुसार भूमि व्यवस्था सहकारी मन्त्रीमा बलराम पौडेल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा मिलनबाबु श्रेष्ठ र संस्कृति तथा पर्यटन मन्त्रीमा दिपेन्द्र श्रेष्ठले शपथ लिएका छन्।

त्यस्तै भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा सन्तबहादुर प्रजा, उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीमा रजनी अमात्य र स्वास्थ्य राज्यमन्त्रीमा कल्पना नेपालीले पनि शपथ लिएका छन्।

यससँगै वाग्मती प्रदेशमा मुख्यमन्त्रीसहित १४ मन्त्री र ४ राज्यमन्त्री भएका छन्। मन्त्री र राज्यमन्त्रीको संख्या १८ पुगेको छ।

यसअघि मुख्यमन्त्री पाण्डेले पहिलो चरणमा कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेललाई भौतिक पूर्वाधार, माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तानलाई सामाजिक विकास, एकीकृत समाजवादीका संसदीय दलका उपनेता कृष्णप्रसाद शर्मा खनाललाई आन्तरिक मामिला मन्त्री नियुक्त गरेका थिए।

यस्तै, दोस्रो चरणमा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्मकट्टेल आर्थिक मामिला र कांग्रेस सांसद निमा लामाले स्वास्थ्य मन्त्रीको जिम्मेवारी पाएका थिए।

तेस्रो पटक भएको सरकार विस्तारमा क्रमशः श्रम रोजगार तथा यातायात मन्त्रीमा घनश्याम दाहाल, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रीमा वसन्तकुमार मानन्धर, कृषि तथा पशुपन्छी मन्त्रीमा वसुन्धरा हुमागाईं, वन तथा वातावरण मन्त्रीमा विशाल खड्का, युवा तथा खेलकुद मन्त्रीमा रत्नप्रसाद ढकाल र कृषि तथा पशुपन्छी राज्यमन्त्रीमा इन्द्रमाया गुरुङ नियुक्त भएका थिए।

निवर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सामाजिक विकास मन्त्रालय फुटाएर स्वास्थ्य मन्त्रालय थप्दै मन्त्रालय संख्या ८ पुर्याएकी थिइन्। अहिले मुख्यमन्त्री पाण्डेले ८ वटा मन्त्रालयलाई १४ वटा पुर्‍याएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell