PahiloPost

Jan 17, 2025 | ४ माघ २०८१

वैशाख १४ गते स्थानीय तहको चुनाव एकै चरणमा गर्ने निर्वाचन आयोगको प्रस्ताव



रासस

वैशाख १४ गते स्थानीय तहको चुनाव एकै चरणमा गर्ने निर्वाचन आयोगको प्रस्ताव

काठमाडौंः निर्वाचन आयोगले आगामी वैशाख १४ गते स्थानीय निकायको निर्वाचन गर्ने प्रस्ताव गरेको छ। आयोगका पदाधिकारीले शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्दै एकै दिन एकै चरणमा निर्वाचन हुने गरी मिति तोक्नु उपयुक्त हुने सुझाव दिएको हो।

पहिलो चरणमा सबै स्थानीय निकायको निर्वाचन गर्न सम्भव नभए दोस्रो चरणमा आगामी वेशाख २२ गते बिहीबारका दिन गर्न सकिने व्यहोरा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।

आयोगले गरेको प्रस्ताव र सम्पादन गरेका कामलाई धन्यवाद दिँदै प्रधानमन्त्रीले राजनीतिक दलहरुसँगको छलफलपछि आयोगको प्रस्तावलाई अगाडि बढाउने बताए। आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार निर्वाचमा भोटिङ मेसिनको प्रयोग गर्ने सन्दर्भमा कुराकानी भएको थियो। प्रधानमन्त्रीले राजनीतिक दलसँगको छलफलका आधारमा सबै क्षत्रेमा प्रयोग गर्न नसकिए पनि केही निश्चित क्षेत्रमा भोटिङ मेसिन प्रयोग गर्दै जाने बताए।

स्थानीय तह निर्वाचन ऐन, २०७३ अनुसार स्थानीय तहको निवार्चनका लागि आयोगले सिफारिस गर्ने र सरकारले मिति तोक्ने व्यवस्था छ। छलफलमा आयोगका पदाधिकारीको सहभागिता थियो।

सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाण, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, मुख्यसचिव, गृह र अर्थ सचिवको उपस्थिति थियो।

आयोगका अनुसार आजसम्म कूल पाँच लाख ७७ हजार ६६९ नयाँ मतदाताले आफ्नो नामावली दर्ता गराएका छन्। मतदाता नामावलीमा नाम दर्ता गर्ने समय यही पुस २० गतेसम्म रहेको छ। आगामी जेठ ५ गते स्थानीय तहको पदाधिकारीको पदावधि सकिँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell