PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

चिसिँदो मौसमसँगै तातिँदो मृत्युका घटना : न्यानोको लोभमा जसले गुमाइरहेछन् ज्यान...



सविन ढकाल

चिसिँदो मौसमसँगै तातिँदो मृत्युका घटना : न्यानोको लोभमा जसले गुमाइरहेछन् ज्यान...
File Photo

काठमाडौं : केही दिनयता बागबजारस्थित काठमाडौं मोडल कलेजमा अध्ययनरत विद्यार्थीहरू आन्दोलित छन्। निजी क्षेत्रको कहलिएको शैक्षिक संस्थामा विद्यार्थी आन्दोलन हुनुको पछाडि कुनै राजनीति कारण छैन। छ त - ज्यान गुमाएका साथीका लागि न्याय माग्नु।

गएको सोमवार दिउँसो कलेजको होस्टेलमा रहँदै आएका एक विद्यार्थी बाथरुममा अचेत अवस्थामा भेटिए। रौतहटको गढीमाई नगरपालिकाका १८ वर्षीय सुशील सहनीलाई अचेत अवस्थामा नजिकै रहेको काठमाडौं मोडल अस्पताल पुर्‍याइएको पनि। तर, उनलाई चिकित्सकले बचाउन चाहिँ सकेनन्।

त्यस दिन बाथरुममा नुहाँउदै गर्दा उनी बेहोस भएका थिए। ग्यास गिजर बेहोस् हुनुको कारण बन्यो। सहनी कक्षा १२ मा अध्ययनरत थिए। गिजर चलाएर नुहाउँदा उनको निसास्सिएर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। अक्सिजन कम भएर मृत्यु भएको प्रारम्भिक आँकलन रहे पनि घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

गएको साता जुम्लामा पनि यस्तै भयो। गिजरले पानी तातो पारेर नुहाउँदा स्टार्फ नर्सको मृत्यु भयो। बाँके कोहलपुरकी २६ वर्षीय अनुपमा श्रेष्ठ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनमा कार्यरत थिइन्। चन्दननाथ नगरपालिका ५ मा डेरा गरिबस्ने उनी पुस १ गते बाथरुममा अचेत अवस्थामा भेटिएकी थिइन्। उनलाई तत्कालै स्वास्थ्य विज्ञान प्रतिष्ठान लगियो। भोलिपल्ट दिउँसो २ बजे चिकित्सकले उनलाई मृत घोषणा गर्‍यो।

काठमाडौंदेखि जुम्लासम्म एकै प्रकृतिका मृत्युका सबै घटना रेकर्डमा पनि आउँदैनन्। 'यसरी मृत्यु हुने सबैको जानकारी सार्वजनिक हुँदैन। चिसोमा यस्ता घटना धेरै नै हुने गरेको छ,' डाक्टर निरज बमले भने। डाक्टर बमका अनुसार यस्ता घटनामा परेका कति उपचारका लागि अस्पताल पुग्न सक्दैनन् त कति घटनास्थलमै मरिसकेका हुन्छन्। र, मृत्युको यस्तो श्रृङ्खला हरेक जाडोको सिजनमा जारी रहन्छ।

२०७६ पुस २२ गते काठमाडौंको बानेश्वर मिलन चोकमा रहेको रुबिज गर्ल्स होस्टेलमा ताप्लेजुङकी २१ वर्षीय शोशिका शेर्पा नुहाउन छिरिन्। दिउँसो २ बजेतिर नुहाउन छिरेकी उनी साँझ ५ बजेसम्म पनि ननिस्किएपछि साथीहरू हेर्न पुगेका थिए। उनी बेहोस् अवस्थामा भेटिएपछि तत्कालै नजिकैको भेनस अस्पताल लगिएको थियो। त्यहाँबाट सिभिल अस्पताल रिफर गरियो। तर, उनलाई चिकित्सकले बचाउन सकेनन्।

काठमाडौं मोडल कलेजमा युवकको मृत्यु हुनुभन्दा केही दिन अघि पूर्वी काठमाडौंको सीमा नजिकैको जहरसिंह पौवामा पनि यस्तै घटना भयो। शंकरापुर नगरपालिका ३ मा रहेको लाङटाङ इको रिसोर्टमा काम गर्ने किशोरी मृत अवस्थामा फेला परिन्।

ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका ९ घर भएकी उर्मिला आले मृत अवस्था रिसोर्टको कोठाभित्र भेटिएकी थिइन्। उनीसँगै रहेका अर्का युवक भने अचेत अवस्थामा भेटिए। मोरङ लेटाङ घर भएका अर्जुन मगर थिए उनी। रिसोर्टको कोठा फोरेर हेर्दा उर्मिला मृत भेटिएकी थिइन्। केही दिनदेखि बढेको चिसो छल्न उनीहरूले मकल बालेर सुतेका थिए। मक्कलबाट निस्किएको ग्यास र बाहिरको अक्सिजन भेन्टिलेट हुन नसक्दा उर्मिलाको निसासिएर मृत्यु भएको देखिएको छ।

'ग्यास गिजर अथवा कोइला बाल्दा अक्सिजन सकिँदै जान्छ भने कार्बनमोनोअक्साइड उत्पादन हुन्छ। विस्तार नै त्यो ग्यास मानिसको शरीरभित्र पुगेर रक्तकोसिकामा टाँसिएर बसेको अक्सिजनलाई शरिर बाहिर निकाल्दिन्छ,' चिकित्सक निरज बमले बोहोस् र मृत्युको कारण खुलाए, 'अक्सिजन फ्यालेर कार्बोनमोनोअक्साइड भित्र टाँसिन्छ। अनि त्यो नै शरीरको अन्य भागमा पुगेर मुटुको चाललाई परिवर्तन गर्नेगर्छ।'

पछिल्लो समय मकल, ब्रिकेट र ग्यास गिजरको प्रयोगमा ध्यान नदिँदा मानिसको ज्यान जाने गरेको छ। एक जनामात्र होइन, सिंगो परिवारका सदस्य नै समाप्त हुने घटना पनि भएका छन्। देशको सबै भुगोलमा यसरी हुने मृत्युको दर पनि बढ्दो छ।

२०७६ माघ १० गते मकवानपुर थाहा नगरपालिका ४ दामनमा भारत केरला घर भएका ८ जनाको मृत्यु भएको थियो। पानोरोमा रिसोर्टमा हिटर बालेर बसेका उनीहरू बेहोस अवस्थामा भेटिएका थिए। त्यसपछि उनीहरूलाई कैलाश एयरलाइन्सबाट काठमाडौं ल्याइएको थियो। उनीहरूको उपचारको क्रममा मृत्यु भएको थियो। मृत्युको कारण अरु केही थिएन, माथिकै जस्तै केस थियो।

चिसोमा न्यानो खोज्दा हुने मृत्युको भयावह स्थिति एकातिर भए पनि नेपाल प्रहरीको रेकर्डमा भने संख्या ज्यादै न्युन देखिन्छ। विगत १० वर्षमा हिटर र ग्यास गिजर बालेर बस्दा मृत्यु हुनेको संख्या २२ जना मात्रै रजिस्टर भएको छ। १० जना यस्ता घटनामा परेर बाच्न सफल भएको रेकर्ड रहेको नेपाल प्रहरीका प्रवक्ता वसन्त बहादुर कुँवरले जानकारी दिए। २१ वटा घटनामध्ये सबैभन्दा धेरै काठमाडौं उपत्यकाभित्र नै रहेका छन्।

यस्ता सबै केस प्रहरीकहाँ पुग्दैनन्। उपचारका लागि अस्पताल पुग्ने र त्यहाँबाट बाँच्न सक्नेहरु त्यसको रेकर्ड प्रहरीकहाँ पुर्‍याउँदैनन्। अस्पतालमा उपचारका क्रममा मृत्यु भएका धेरै केस त प्रहरीसम्म पुग्दै पुग्दैन। त्यसैले भुसको आगो झै फैलिरहेको छ - न्यानो खोज्दा मृत्यु हुनेहरुको संख्या।

२०७२ भदौ १८ गते इलामको श्री अन्तुमा कृयापुत्री कुरेर बसेका तीन जना हिटर बालेर सुतेका थिए। भोलिपल्ट बिहान आफन्त तथा छिमेकीले नउठेपछि ढोका खोलेर हेर्दा उनीहरु बेहोस अवस्थामा भेटिए। त्यसपछि उपचारको लागि फिक्कल अस्पताल पुर्‍याइयो। अस्पतालले उनीहरुको मृत्यु घोषणा गरिदियो।

निसासिएरमात्र होइन, ग्यास गिजर पड्किएर पनि मानिसको मृत्यु भएको छ। २०७३ माघ ५ गते सामाखुसीस्थित टाउन प्लानिङमा ३२ वर्षीय सुमिता सुराफ नुहाउँदा ग्यास पड्कियो। र, उनको मृत्यु भयो।

पर्याप्त हावा प्रवाह नहुने ठाउँमा यस्ता साधन प्रयोग नगर्नु नै उत्तम उपाय मान्छन् डाक्टर बम। ता कि जाडोमा जोगिन खोज्दा ज्यान नै गुमाउने स्थिति नबनोस्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell