
नेकपा (माओवादी केन्द्र)को आठौँ महाविधेशनको तयारी पूरा भएको छ । माओवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज अपराह्न १ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्मेलनका उद्घाटन गर्ने कार्यक्रम रहेको छ। देशव्यापीरूपमा कार्यकर्तापङ्क्तिमा छाएको उत्साह तथा जनस्तरबाट प्राप्त सुझावका आधारमा राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरिएको माओवादीले जनाएको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार साँझ बसेको स्थायी समितिको बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको थियो । सो निर्णयलाई आज बस्ने केन्द्रीय समितिको बैठकले अनुमोदन गर्ने जनाइएको छ । स्थायी समितिको बैठकपछि पार्टी प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रिय सम्मेलनप्रति जनआकर्षण एवं पार्टीपङ्क्तिमा पनि विशेष चासो बढेकाले यसलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरिएको जानकारी दिए।
राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय भएसँगै यसलाई आठौँ महाविधेशनको नाम दिइएको छ। महाधिवेशनले पार्टीको समग्र नयाँ नेतृत्व चयन गर्ने छ । अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालसम्म विकल्प देखिएको छैन। हाल माओवादीको केन्द्रीय समिति १७९ सदस्यीय छ। महाधिवेशनमा २९९ सदस्यीय केन्द्रीय समितिको प्रस्ताव गरिने जनाइएको छ। यसमा दलितको प्रतिनिधित्व ४५ जनाको हुनेछ। मुस्लिम १५, महिला ६७, युवा ४८ र अन्य खुला १२४ जना सदस्य रहने व्यवस्था गरिएको छ।
माओवादीले प्रौढ, वयस्क र युवाको तीन तहको समिश्रणलाई पार्टीको केन्द्रीय समिति निर्माण हुने जनाएको छ। पाकाको अनुभव, युवाको जोशलाई देश निर्माणमा अगाडि बढाउने नीति अख्तियार गरेको छ। माओवादीको विधानले युवालाई २० प्रतिशतको हिस्सा छुट्याएको छ। कूल ४० वर्ष र सोही आसपासको उमेर समूहका नेतालाई विशेष भूमिका दिने तयारी गरिएको छ । माओवादीको अन्तरिम विधान २०७८ को धारा १६(४) र धारा ३८(१–८) अनुसार महिला ३५ प्रतिशत, युवा २० प्रतिशत, दलित १५ प्रतिशत र मुस्लिम पाँच प्रतिशत रहने गरी व्यवस्था गरिएको छ । यसपटक माओवादीले पुनः बहुपदीय प्रणालीको अवलम्बन गर्ने भएको छ।