PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

एक अनि शून्य : पश्चिमा दर्शनलाई बुझाउने पुस्तक सार्वजनिक



पहिलोपोस्ट

एक अनि शून्य : पश्चिमा दर्शनलाई बुझाउने पुस्तक सार्वजनिक

काठमाडौं : पश्चिमी दर्शनमा आधारित सन्जीव पोखरेलको नयाँ कृति ‘एक अनि शून्य’ सार्वजनिक भएको छ। प्रकाशक नेपालयले ल्याएको पुस्तक दशवटा प्रमुख पश्चात्य दर्शनमाथि केन्द्रित छ।

लेखक पोखरेलले प्रकाशित पुस्तक आफ्नै छोरी खुसी पोखरेललाई उपहार दिएर लोर्कापण गरेको नेपालयले जनाएको छ।

'मैले मेरो पहिलो पुस्तक मेरी छोरीलाई उपहार दिएर सार्वजनिक गर्नुको प्रतीकात्मक अर्थ छ,' लेखक पोखरेलले भने, 'मेरा छोरीका पुस्ताले यो पुस्तक पढुन, पढ्ने प्रयास गरून् र यसको अन्तरवस्तुलाई मनन् गरुन् भन्ने मेरो लेखकीय आकांक्षा र सदिक्षा हो।'

उनले पुस्तकमा पाश्चात्य ज्ञान परम्पराका केही आधारभूत प्रश्नहरुलाई सहज नेपाली भाषामा बुझाउने प्रयास गरेका छन्।

नेपाली समाजमा पाश्चात्य दर्शनको प्रभावबारे उनले भनेका छन्, 'हाम्रो समाजमा विद्यमान कतिपय राजनीतिक संरचना र तिनका आधार स्तम्भ पश्चिमी समाजबाट आएका छन्। राज्य संरचना, राज्य र नागरिकबिचका अन्तरसम्बन्ध र तिनका राजनीतिक साथै आर्थिक कर्महरु पाश्चात्य सिद्धान्तमा आधारित छन्। त्यसैले हामीले आफैँलाई बुझ्न पनि पश्चिमलाई बुझ्नु अपरिहार्य हुन्छ।'

विश्लेषक विष्णु सापकोटाले पुस्तकलाई नेपाली भाषामा लेखिएको दुर्लभ ग्रन्थका रुपमा प्रष्ट्याए।

'पाश्चात्य दर्शनशास्त्रका बारेमा प्रशस्त पुस्तक लेखिएका छन् तर यति सहज र सरल नेपालीमा लेखिएका पुस्तकमध्ये यो दुर्लभप्रायः छ,’ सापकोटाले भनेका छन्, ‘साथै, यसले दर्शनलाई राजनीति, साहित्य र सौन्दर्यशास्त्रसँग पनि जोडेको छ।'

पब्लिकेसन्स नेपालयको सन् २०२१ को अन्तिम प्रकाशन हो यो पुस्तक।

'विभिन्न प्रतिकूलता हुँदाहुँदै पनि प्रकाशकका हिसाबले हामीले यो पुस्तकलाई प्रकाशन गर्नैपर्ने पुस्तकका रुपमा बजारमा ल्याउनु एउटा सचेत निर्णय थियो,' प्रकाशन नेपालयकी प्रकाशकीय सम्पादक भूषिता वशिष्ठले भनिन्, 'आजको युगमा हरेक सूचना र समाचारको आयू केही निमेषको मात्र छ, हामी अर्को महामारीको दोसँधमा छौं - विस्मृतिको महामारी। अहिलेको संसारको कोलाहलमा हराएका हामीलाई अल्झाउने कतिपय प्रश्नहरू पहिले नै चर्चा र विघटन भइसकेका छन् भन्ने तथ्यलाई सम्झन गाह्रो छ। त्यसैले, यो पुस्तकले हामीलाई राजनीति र दर्शनमा समसामयिक प्रवचनबाट अनावश्यक आवाजहरू विघटित गर्न मद्दत गर्दछ।'

पुस्तकले विगत तीन हजार वर्षको पश्चिमी बौद्धिक इतिहासको रूपरेखा प्रस्तुत गरेको र कसरी विचारहरू बनाइयो, विघटन भयो र पुन: उत्पन्न भयो भनेर देखाएको नेपालयले जनाएको छ। यसले अनुमान र खण्डनहरू मार्फत बौद्धिक इतिहासको विकासलाई प्रतिनिधित्व गर्ने जनाइएको छ। ‘एक अनि शून्य’को मूल्य नेपाली बजारका लागि ४९५ रुपियाँ रहेको छ। प्रिन्ट कपीसँग इ-बुक संस्करण नेपालयले थुप्रैडटकम र अमेजनमार्फत उपलब्ध हुने जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell