काठमाडौं : नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटनसत्र प्रज्ञा प्रतिष्ठानको हलमा भइरहेको छ। शनिवारसम्म राष्ट्रिय सम्मेलन गर्ने भनेर तयारी गरेको माओवादीले रातिमात्रै सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको थियो।
सम्मेलनमा कुनै पनि दलका नेताहरुलाई नबोलाउने भनिएको थियो। तर, महाधिवेशन गर्ने भनेपछि सबै राजनीतिक दलका नेताहरुलाई माओवादीले निमन्त्रणा पठाएको थियो।
अहिले प्रतिष्ठानको हलमा महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका अध्यक्ष एवम् नेताहरु उपस्थित छन्।
प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल उपस्थित छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन महाधिवेन कार्यक्रममा पुगेनन्। उनले महामन्त्री कुन्ती शाहीलाई महाधिवेशनमा पठाएका छन्।
महाधिवेशनमा सहभागी हुन प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेर निमन्त्रण गरेका थिए। तर, उनले आफू झापामा रहेको भन्दै महासचिव शंकर पोखरेललाई पठाउने बताएका थिए। प्रज्ञा प्रतिष्ठानमा शंकर पोखरेल अन्तिम समयमा पुगेका थिए।