
काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेश विद्रोह माओवादीको जनयुद्धको जगमा भएको बताएका छन्।
प्रज्ञा प्रतिष्ठानमा भइरहेको नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटनसत्रमा सम्बोधन गर्दै उनले जनयुद्ध र मधेश विद्रोह नै कारण देशमा गणतन्त्र आएको बताए।
आफूले माओवादीसँग जनयुद्धमा संगै रहेर काम गरेको स्मरण गर्दै उनले भने, 'कुनै जमानामा लडाइँको बेला सँगै काम गरेको सम्झना आइरहेको छ। त्यही जगबाट उभिएर मधेश जनविद्रोह भयो। माओवादीको जनयुद्ध र मधेश विद्रोह नभएको भए मुलुक संघिय लोकतन्त्रिक गणतन्त्र हुने थिएन। निरंकुश शासनको अन्त्य हुने थिएन।'
उनले गठबन्धनको सरकार एक ठाउँमा भएको भन्दै विगतका गल्तीलाई सच्याएर अघि बढ्नुपर्ने बताए।
'संघीय गणतन्त्रको विकल्प छैन। संसद संचालन हुन रोक्न कसैले सक्दैन,' एमालेका महानसचिव शंकर पोखरेललाई लक्षित गर्दै उनले भने, 'माधवजी भएर नआउनु भएको रे। माधवजी यहीँ हुनुहुन्छ। उहाँ पनि यहीँ हुनुहुन्छ। सबै यहीँ छन्। काठमाडौंमै घर छ। अनि एकै ठाउँमा कसरी नमिल्ने?'