PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

८औँ महाधिवेशनका आठ दृष्यः भीड थाम्न स्वयंसेवकलाई हम्मेहम्मे, पार्टी र नेताको नाममै झुक्किए नेता



विधुर ढकाल

८औँ महाधिवेशनका आठ दृष्यः भीड थाम्न स्वयंसेवकलाई हम्मेहम्मे, पार्टी र नेताको नाममै झुक्किए नेता

काठमाडौं: प्रथम राष्ट्रिय सम्मेमलनलाई रातारात महाधिवेशनमा रुपान्तरण गरेको नेकपा (माओवादी केन्द्र) को ८औं राष्ट्रिय महाधिवेशनको उद्घाटन आइतवार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भयो। महाधिवेशन उद्घाटनको अघिल्लो साँझसम्म राष्ट्रिय सम्मेलन भनिरहेको माओवादी केन्द्रको महाधिवेशन उद्घाटन कार्यक्रममा त्यसैको अन्योलमा देखिन्थ्यो व्यवस्थापन पक्ष पनि।

प्रज्ञामा महाधिवेशन, सडक र आकाशे पुलमा सम्मेलन

अन्तिम तयारी प्रथम सम्मेलनको रुपमा गरिरहेको अवस्थामा शनिवार साँझमात्र महाधिवेशनमा रुपान्तरण गर्ने निर्णयपछि रातारात प्रचारका लागि लगाइएका सामाग्री हटाउन कार्यकर्ता परिचालन हुनुपर्‍यो।

त्यसकारण महाधिवेशन सुरु हुन ढिलाइ भयो। १ बजे सुरु हुने भनिएको कार्यक्रम तीन बजे सारिएको थियो।

प्रज्ञा भवन परिसरमा राखिएका राष्ट्रिय सम्मेलन लेखिएका ब्यानर तथा होडिङबोर्ड रातभर र बिहान ‘आठौं राष्ट्रिय महाधिवेशन’मा रुपान्तरण गरिए। काठमाडौंका सडकमा बनाइएका गेट र आकाशे पुलमा भने माओवादी केन्द्रको प्रथम सम्मेलन नै चलेको देखिन्छ।

राष्ट्रिय सम्मेलन भनेर प्रतिनिधिहरूलाई सोही अनुरुपको कार्ड वितरण गरिसकेको माओवादी केन्द्रले रातारात परिचयपत्र पनि तयार भए। यसरी तयार भएका परिचयपत्रमा कतिपयका नाम मिलेनन् कतिमा फोटो देखिएन्। डिजिटल परिचयपत्र क्युआरकोडसहित बनाइए पनि कतिपयका परिचयपत्रमा हातले नै नाम लेखेर फोटो टासेँर महाधिवेशन स्थलमा वितरण गरिँदै थियो।

हल खचाखच भएपछि स्वयंसेवकलाई हम्मेहम्मे

१५३३ प्रतिनिधि सहभागी हुनेगरी सम्मेलन प्रज्ञा भवनमा आयोजना गरियो। तर, अन्तिममा महाधिवेशनमा रुपान्तरित भएपछि आयोजकलाई समाल्न गाह्रो भयो। प्रज्ञाको हलमात्र होइन डबली सानो भयो।

प्रज्ञा प्रतिष्ठानको हल खचखच भरिँदा प्रतिनिधि बाहिरै रोकिए। प्रतिनिधि ढोकामा बसेका स्वयंसेवकलाई पेलेरै भित्र त पसे, तर भित्र टेक्ने ठाउँ फेला पारेनन् र उसैगरी बाहिरिए।

स्वयंसेवकले ढोका बन्द गरेका थिए। तर, कार्यकर्ताहरुले पेलेरै हलमा प्रवेश गरेका थिए।

हलभित्र र बाहिर धेरै संख्यामा कार्यकर्ताको उपस्थिति छ। प्रतिष्ठानको बाहिर ठूलो डिस्प्लेमा महाधिवेशनको उद्घाटनसत्र लाइभ हेर्न मिल्ने व्यवस्था गरिएको छ। तर, कार्यकर्ता हलमै प्रवेश गर्न खोजेपछि प्रहरीले माइकिङ गरेर चौरमा गएर बस्न भनेको थियो।

'हल भरिएको छ। चौरमा गएर बसेर मजाले हेर्नुस्। तपाईंको कार्यक्रम हो। हलको क्षमताभन्दा बढी तपाईंहरु आउनुभएको छ। चौरमा बसेर हेर्नुस्' प्रहरीले माइकिङ गर्दै भनिरहेको थियो।

एकेडेमी परिसरमा राखिएको पुस्तक स्टल समेत प्रहरीले हटाएको छ। मानिसहरु थपिने क्रम जारी भएकाले पुस्तकको स्टल हटाइएको हो। 'तपाईँहरु यहाँ व्यापार गरेर बस्ने? उठाइदिनुस्। तयाईँले यो पेटी छाडे यहाँ १०/१५ जना बस्न सक्नुहुन्छ,' एक प्रहरी अधिकृत डिस्प्ले अगाडि रहेको बुक स्टलबाट पुस्तक हटाइदिँदै भन्दै थिए।

बाहिर अडियो नसुनिँदा कार्यकर्ताको हुटिङ

दुईतर्फ डिस्प्ले र स्पिकर राखेर प्रत्यक्ष देखाइए पनि बाहिर पटक-पटक आवाज काटिँदा कार्यकर्ताले हुटिङ गरिरहेका थिए।

राष्ट्रिय गानपछि कलाकारहरुले भित्र कम्युनिस्टको अन्तर्राष्ट्रिय गीत गाइरहँदा बाहिर आवाज काटियो। कार्यकर्ताहरुले हुटिङ गरिरहे। पम्फा भुसालले स्वागत मन्तव्य दिन थालिन्। तर, आवाज बाहिर सुनिएन्। केही समय प्राविधिकहरुले मिलाए। फेरि निरन्तर आवाज काटिइरह्यो। कार्यकर्ताले हुटिङ गरिरहे।

साँघुरो ठाउँप्रति प्रतिनिधिको आक्रोश

सम्मेलन भनेर शनिवार राति आफ्नो ठाउँबाट हिँडेका प्रतिनिधि काठमाडौंमा पुग्दा नपुग्दै महाधिवेशन प्रतिनिधिको परिचय पाए।

सम्मेलन प्रतिनिधि बनेर कार्यक्षेत्रबाट हिँडेका नेता-कार्यकर्ता महाधिवेशन प्रतिनिधि त भए। तर, महाधिवेशनको उद्घाटनमा हलबाहिर डिस्प्ले हेरेरै बस्न बाध्य भए।

'महाधिवेशन त खुल्ला ठाउँमा पो गर्नुपर्छ। एउटा सानो कोठामा किन राखेका होला?' महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिहरु आपसमा कुरा गर्दै थिए, 'थोरै हुन्छन् भनेर हलमा राखे होलान्। मान्छे भरिएछन्।'

सम्मेलनलाई महाधिवेशन बनाएको कुरामा पनि कार्यकर्ता आपसमा गफिँदै थिए।

'महाधिवेशन नै गर्ने भनेको भए पहिलेदेखि नै सोही अनुसार तयारी गर्नुपर्थ्यो,' अर्को समूहमा प्रतिनिधि गफिँदै थिए, 'जान्छौँ भन्नेलाई हुँदैन, अर्कोपटक महाधिवेशनमा जाउँला अहिले सम्मेलन हो भनेर गाउँमै रोक्यौँ। अहिले यहाँ आइपुग्दा महाधिवेशन भनियो। समयमा नै निर्णय गर्नुपर्छ नी। जे कुरा पनि अन्तिममा गर्दा माओवादीलाई घाटा परिरहेको छ।'

नेता र पार्टीको नाममै नेताहरु कन्फ्युज्ड

सम्मेलन हो भन्दै अन्य पार्टी तथा विदेशबाट पाहुनालाई नबोलाउने बताउँदै आएको थियो माओवादी केन्द्र। रातारात महाधिवेशनमा रुपान्तरित भएपछि महाधिवेशनमा अन्य पार्टीका पाहुना बोलाए। तर, पाहुनाको नाममा आयोजक नै कन्फ्युज्ड, पाहुना नै कन्फ्युज्ड देखिए।

स्वागत मन्तव्य राख्ने क्रममा ऊर्जामन्त्री समेत रहेकी पम्फा भुसालले अतिथिको नाममा कन्फ्युज्ड देखिइन्। उनले नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेलको नाम लिँदा एकैछिन रोकिइन्। त्यतिमात्र होइन राप्रपाकी पाहुनको नाम र पद नै बिगारिन्।

राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन आएनन्। उनको प्रतिनिधित्व महामन्त्री कुन्ती शाहीले गरेकी थिइन्। भुसालले महासचिव कुन्ती शर्मा भन्दै सम्बोधन गरिन्।

शाही पनि कन्फ्युज्ड देखिइन्। उद्घाटनसत्रमा आमन्त्रित अतिथिमध्ये पहिलो वक्ताका रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी महामन्त्री कुन्ती शाहीले सम्बोधन सुरु गरिन्। तर, सम्बोधनको क्रमम उनले उपस्थित नेता र पार्टीको नाम नै बिगारिन्।

शाहीले सम्बोधनका क्रममा एमालेका महासचिव शंकर पोखरेललाई ईश्वर पोखरेल भनेर सम्बोधन गरिन्। यस्तै, एमालेलाई नेपाल कम्युनिस्ट पार्टी नेकपा भनिन्।

सुरुमा उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई 'प्रचण्ड' मात्रै भनिन्। पछि मात्रै उनले पुष्पकमल दाहालज्यू भनिन्।

शाहीले माधव नेपाललाई नेकपा समाजवादीको अध्यक्ष भनिन्। उनले अरु पार्टीको नाम नै थाहा पाइनन्। त्यसपछि माइक राखिएको स्थानबाट पछाडि फर्केर उनले नेता र पार्टीको नाम सोधेकी थिइन्। तर, नाम प्रष्ट हुन नसकेपछि उनले कसैलाई सम्बोधन गरिनन्। 'नेता गण' भन्दै उनले सम्बोधनलाई अगाडि बढाइन्।

माधवलाई सम्झिए तर पार्टीको नाम लिएनन्

मञ्चमा शुभकामना दिन बोलाउँदै गर्दा माओवादी केन्द्रले दलले गरेको प्रतिनिधित्वको हैसियत अनुसार अनुसार बोलाउँदै थियो। राप्रपाबाट शुभकामना मन्तव्य सुरु भएको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसम्म सम्बोधन गरे। त्यसपछि कुन दलको पालो आउला?

उद्घोषक अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्माले एमालेका महाचसिव शंकर पोखरेललाई शुभकामना दिन बोलाए। शुभकामना दिन पोडियममा उभिएका उनले माधव नेपालको नाम लिए। 'पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल' उनले नेकपा (एकीकृत समाजवादी) नाम स्किप गरे।

माओवादी केन्द्रको महाधिवेशन सफलताको शुभकामना दिन पुगेका पोखरेलले त्यही मञ्चको सदुपयोग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिए। कांग्रेसको सम्पन्न महाधिवेशनबाट पुन: सभापतिमा निर्वाचित देउवालाई पोखरेलले सफलताको शुभकामना दिए।

माधव नेपालको मन मिल्दा हुटिङ

शंकर पोखरेलपछि शुभकामना दिन पुगे एकीकृत समाजवादीका अध्यक्ष नेपाल। उनले एमाले र महासचिव पोखरेललाई सम्बोधनमा स्किप गरे।

त्यति मात्र होइन उनले सम्बोधनको सुरुवातमै माओवादी कार्यकर्ताबाट हुटिङ पाए। सम्मेलनलाई महाधिवेशनमा रुपान्तरित गरेको प्रसंगलाई जोड्दै आफूहरुको मन मिलेको भन्ने टिप्पणी गरे।

'मैले सोचिरहेको थिएँ- यत्रो तयारी गरेपछि अधिवेशन (सम्मेलन) किन भनिरहनुभएको छ? महाधिवेशन किन भनिरहनु भएको छैन?' उनले भने, 'आज महाधिवेशन गर्न थाल्नुभयो। हाम्रो ठ्याक्कै मन मिलेछ। मन र भावना मिलेपछि बाँकी अरु कुरा मिल्दै जान्छ।'

नेता नेपालले नयाँ नेपाल निर्माणको अभियान र नयाँ विचार निर्माणको अभियानलाई जोड्नुपर्ने बताए। 'हामी नयाँ नेपाल निर्माणको अभियानमा छौँ। तपाईँहरु नयाँ विचार र नयाँ क्रान्तिकारी पार्टी बनाउने भन्दै हुनुहुन्छ,' उनले अगाडि भने, 'नयाँ नेपाल निर्माणका लागि नयाँ विचार र क्रान्तिकारी पार्टी आवश्यक पर्छ।'

एमसीसीविरुद्धको मत, दुर्गा पौडेललाई हुटिङ

सत्तारुढ गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले राष्ट्रियताको विषयमा सबै दल एक भएर जानुपर्ने बताउँदै एमसीसीको कुरा कोट्याइन्।

'राष्ट्रियताको सवालमा एक भएर जानुपर्छ। गठबन्धनको एक घटक माओवादी हो। निर्णय गर्दा त्यसलाई ध्यान दिनु होला' उनले भनिन्।

पौडेलले मिलिनियन च्यालेन्ज कोर्पोशेरनबारे भइरहेको बहसतर्फ लक्षित गर्दै माओवादीलाई निर्णय लिँदा विचार गर्न भनेकी हुन्। त्यसक्रममा उनले 'एमसीसी खारेज गर्नुपर्छ' भनेपछि सभाहलमा भएकाहरुले हुटिङ गरेका थिए।

एमसीसीविरुद्ध हुटिङ भइरहँदा सँगै रहेका नेपाली कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हाँसिरहेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell