PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

थ्रीस्टारसँग बराबरीमा रोकिएसँगै एएफसी कपमा जाने आर्मीको समीकरण सकियो

थ्रीस्टारसँग बराबरीमा रोकिएसँगै एएफसी कपमा जाने आर्मीको समीकरण सकियो

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र थ्री स्टार क्लब बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा आर्मी र थ्री स्टार गोलरहित बराबरीमा रोकिएका हुन्।

प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले राम्रा अवसरहरु बनाए पनि गोलमा परिणत भने गर्न सकेनन्। उल्लेखनिय दर्शकहरुको उपस्थिति रहेको खेलमा पहिलो हाफमा दुवै टोलीले धेरै सुनौला अवसरहरु बनाएका थिए।

बराबरीमा रोकिएसँगै एएफसी कपमा जाने आर्मीको समीकरण पनि टुंगिएको छ। सातौं चरणको समाप्तीमा शीर्षस्थानमा रहने टोली एएफसी कपको छनोटमा नेपालबाट जानेछन्। यसका लागि एएफसी लाइसेन्स अनिवार्य छ।

नेपालमा मछिन्द्र क्लब, मनाङ मर्स्याङदी क्लब, त्रिभुवन आर्मी फुटबल क्लबर र एपीएफ फुटबल क्लबसँग एएफसी लाइसेन्स छ। जसमध्ये एपीएफ यो होडबाट धेरै पछाडि छ भने थ्री स्टारसँगको बराबरीसँग आर्मी पनि यो होडमा पछि परेको छ।

शीर्षस्थानमा रहेको मछिन्द्र क्लब र दोस्रो स्थानमा रहेको मनाङमात्र अब यो होडमा कायम छन्। अघिल्लो खेलमा मनाङलाई हराएको मछिन्द्र क्लब १४ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ भने १३ अंक जोडेको मनाङ दोस्रो स्थानमा छ।

सातौं चरणको खेलमा मछिन्द्रले जित निकालेको खण्डमै पनि एएफसी कपमा जाने टुंगो हुनेछ भने मनाङले सातौं चरणको खेल जितेर पनि मछिन्द्रको हार या बराबरी पर्खनु पर्नेछ। सातौं चरणमा मछिन्द्रले नेपाल पुलिस क्लब र मनाङले ब्रिगेड ब्वाइज क्लबको सामना गर्दैछ।

अंकतालिको शीर्ष दुईमा मछिन्द्र र मनाङसँगै तेस्रो स्थानमा १२ अंक जोडेको संकटा क्लब छ भने चौथो स्थानमा १० अंक जोडेको आर्मी छ। त्यस्तै, थ्री स्टार ७ अंक जोडेर तालिकाको सातौं स्थानमा छ।



ट्रेन्डिङ पोस्ट

Ncell