PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

लोडसेडिङकै झल्को दिनेगरी किन गइरहेको छ बत्ती? अघोषित विद्युत कटौतीको मारमा उपभोक्ता



दिनेश खड्का

लोडसेडिङकै झल्को दिनेगरी किन गइरहेको छ बत्ती? अघोषित विद्युत कटौतीको मारमा उपभोक्ता

काठमाडौंः केही दिनयता काठमाडौं उपत्यकाभित्र बिहान-बेलुकी बत्ती झ्याप झ्याप गइरहेको छ। नेपाल विद्युत प्राधिकरणले बिजुली खपत बढाउन आग्रह गरिरहे पनि बिजुली बेला बेला झ्याप झ्याप गइरहेको हुन्छ।

लोडसेडिङ हटेको लामो समय भए पनि त्यस्तै झल्को दिनेगरी बत्ती किन गइरहेको छ? प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले लोडसेडिङ नभई चिसोका कारण माग ह्वात्तै बढेकाले ट्रान्सफर्मर र तारहरु जल्ने गरेका कारण बत्ती जाने समस्या भएको बताए।

'अहिले बिहान-बेलुकी एकदमै चिसो बढेको छ। धेरै विद्युतीय उपकरण चल्छन्, जसका कारण माग पनि बढेको छ। खासगरी काठमाडौं उपत्यकामा ट्रान्सफर्मर र तारहरु जल्ने गरेर यस्तो समस्या हुने गरेको छ,' उनले भने, 'हामीले तत्कालै मर्मत गर्ने गरेका छौं।'

उनका अनुसार अहिले उपत्यकामा विद्युतको माग ४५० मेगावाटसम्म पुग्ने गरेको छ। सामान्य अवस्थामा २५० देखि २६० मेगावाट पुग्थ्यो। माग अत्यधिक बढेका कारण ट्रिपिङ भएर बत्ती जाने गरेको पाइएको छ।

त्यसैगरी अहिले विद्युतको माग ह्वात्तै बढेको तर उत्पादन घटेको छ। अहिले निजी क्षेत्र र प्राधिकरणको गरी करिब ८ सय मेगावाट विद्युत उत्पादन भइरहेको प्रवक्ता भट्टराईले बताए। उनका अनुसार पिक आवरमा माग १६ सय मेगावाटसम्म पुगेको छ।

'त्यसको व्यवस्थापनका लागि पिक हावरमा कुलेखानी, मर्स्याङ्दी, तामाकोशी, चमेलिया फुल फ्लेजमा चलाएर व्यवस्थापन गरिरहेका छौं,' उनले भने।

ती आयोजना पिक आवरमा चलाउदा पनि माग धान्न नपुगेपछि भारतबाट आयात गरेर व्यवस्थापन भइरहेको छ। केही अघि प्राधिकरणले नेपालको बिजुली भारतमा निर्यात गर्न थालेको थियो। अहिले विद्युत निर्यात शुन्य छ। आयात ५८०० मेगावाट आवर पुगेको छ।

आयोजनाहरुबाट प्राप्त र आयातित गरेर लोड व्यवस्थापन गर्दा पनि बिभिन्न स्थानमा ट्रिपिङको समस्या भने हटाउन सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell