
‘पामे इन्टरनेसनल फिल्म फेस्टिभल’ सोमवारबाट सुरु हुँदैछ। पोखराको फेवाताल किनारबाट थालिने फेस्टिभलको पाँचौ संस्करण पुस १५ गतेसम्म चल्नेछ।
महोत्सवमा २० देशका लामा-छोटा गरी ९४ फिल्म तथा डकुमेन्ट्री देखाइनेछन्। निर्देशक इयान स्कट क्लिमेन्टको ‘बासेन्जी’ फिल्म प्रदर्शनसँगै महोत्सवको सुरुवात गरिनेछ। करिब १ घन्टा २१ मिनेटको फिल्ममा असिम निरौला, सुप्रिम राई र सरिता गिरीको मुख्य भूमिका छ।
फिल्म प्रदर्शनीसँगै महोत्सवमा मास्टर क्लास, वर्कसप, ल्याब, फोटो प्रदर्शनी, चित्रकला, साहित्यिक प्रस्तुतिहरु दिइनेछन्। साथै लोक तथा परम्पागत गीत-संगीत, नाचलगायत मौलिक प्रस्तुतिहरू देखाइनेछन्।
साउथ एसियाका डकुमेन्ट्री, महिला निर्देशक तथा फिल्म पढेका विद्यार्थी लक्षित फिल्म र गतिविधि पनि समावेश छन्। यसबाहेक झुमा लिम्बूले नेतृत्व गरेको रैथाने संगीत समूहले संगीत प्रस्तुति दिनेछन्।
सिनेमा र कला क्षेत्रका विभिन्न विधाका सर्जक र यसलाई मन पराउने मानिसहरुलाई जोड्ने उद्देश्यले फेस्टिभलका निर्देशक नवनिधि दाहालले जानकारी दिए। महोत्सवले पर्यटकीय नगरी पोखराको पर्यटन उद्योगमा सिनेमा र कलाका माध्यमबाट योगदानसमेत दिने उनको विश्वास छ।
त्यसैगरी फेस्टिभलका संयोजक प्रवीण कार्की राजधानीबाहिर फिल्म फेस्टिभललाई निरन्तरता दिन पाउँदा खुसी लागेको बताउँछन् । फेस्टिभलको मुख्य कार्यक्रम पोखराको फेवाताल किनारमा हुनेछ भने अन्य गतिविधि विभिन्न हल तथा होटलमा हुनेछ।
भारतीय निर्देशक अजितपाल सिंहको ‘फायर इन दि माउन्टेन’ प्रदर्शनसँगै फेस्टिभलको समापन हुनेछ। महोत्सवमा निर्देशक मोहन राईको 'महानगर' को नेपाल प्रिमियर गरिनेछ। फिल्ममा कर्मा र मेनुका प्रधानको मुख्य भूमिका रहेको छ।
विविध विधाका ९४ फिल्मबीच प्रतिस्पर्धा हुने फेस्टिभलमा लघु फिल्म, डकुमेन्ट्री, स्टुडेन्ट फिल्म, क्रिटिक्स र अडियन्स च्वाइस अवार्डसमेत प्रदान गरिने आयोजकले जनाएको छ।