PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

पोखराको सडक : इलाइट अस्फाल्ट बनाउँदै, जाइका सडक भत्काउँदै



रिना थापा

पोखराको सडक : इलाइट अस्फाल्ट बनाउँदै, जाइका सडक भत्काउँदै

पोखरा : केही समय अघिसम्म पोखराका सडकमा खाल्डाखुल्डी देखिनु नौलो थिएन। सडकमा पिच कम, खाल्डा ज्यादा हुन्थे। तर, पोखरा महानगरले अमेरिकी प्रविधि मार्फत् ‘अस्फाल्ट पिच’ गर्न थालेपछि सडकको खाल्डो हराउँदै गयो। यद्यपि, पोखरा महानगरले अघि सारेको योजना भने हालसम्म सम्पन्न भइसकेको छैन।

सडक कालोपत्रेमा अस्फाल्ट पछिल्लो पद्धती हो जसमा कालोपत्रेमाथि थप कालोपत्र हालेर सडक तयार पारिन्छ। पुरानो कालोपत्र उप्काएर नयाँ कालोपत्र गरिसकेपछि थप केमिकलहरु प्रयोग गरेर कालोपत्र थपिन्छ यस पद्धतीमा। यसले सडकको आयुलाई लम्ब्याउने प्राविधिकहरुको भनाइ छ।

पोखरा महानगरभित्र सडक मर्मत गर्न प्रदेश सरकार, पोखरा महानगरपालिका तथा सडक डिभिजन कार्यालयले 'अस्फाल्ट पिच' योजना अघि सारेको थियो। गत वर्ष दशैंको मुखैमा सुरु भएको अस्फाल्ट पिच हालसम्म सकिएको छैन। सडक कालोपत्रेका लागि पोखरा महानगर र प्रदेश मातहात पूर्वाधार विकास कार्यालयले गतवर्ष ठेक्का लगाएको थियो। प्रदेश मातहातमा ५ किलोमिटर र पोखरा महानगर मातहातमा २७ किलोमिटर गरि ३२ किलोमिटर पिच सुरु भएको थियो।

प्रदेश मातहातमा रहेको पाँच किलोमिटर सडकको काम अघिल्लो वर्ष नै सकिसकेको छ। मुस्ताङ चोकदेखि राष्ट्र बैंक, शहीद चोकदेखि गौरीघाट, बाराही चोकदेखि हल्लन चोक हुँदै जिरो किमीसँगको सडक अस्फाल्ट पिच भइसकेको हो। यता, महानगरले जिम्मा लिएको पोखराको सडक स्तरोन्नतिको कार्य भने अझै सकिएको छैन।

सडक पिचका लागि पोखराको न्युरोड, महेन्द्रपुल हुँदै हस्पिटल चोकदेखि अमरसिँह चोक, सिद्धार्थ चोकदेखि बिपी चोक, महेन्द्रपुल हुँदै केआइ सिँह पुल सम्मको सडक गरी २७ किलोमिटर सडक महानगरले आफनो जिम्मामा लिएको छ। महानगरको आफ्नो जिम्मा रहेको २७ किलोमिटर सडक पिच गर्न गत वर्ष इलाइट कन्स्ट्रक्सन कम्पनीसँग १७ करोडमा ठेक्का सम्झौता गरेको थियो।

उक्त ठेक्का सम्झौताको म्याद यही भदौमा सकियो। सम्झौता सकिए पनि पिच बनाउने कार्य भने सकिएन। कोरोना र खानेपानी आयोजनाका कारण काममा ढिलाई भएको कम्पनी बताउँछ। कोभिड १९ कै कारण निर्माण कार्यमा असर पुगेकाले सरकारले पनि चैत मसान्तसम्म म्याद थपिसकेको छ। थपिएको म्यादमा कार्य सम्पन्न गर्न इलाइटले केही स्थानमा कामको गति बढाएको छ। थपिएको म्यादमा अस्फाल्ट कार्य सक्ने सुरमा धमाधम काम भएपनि इलाइटले कतिपय स्थानमा काम रोक्नु परेको छ। इलाइटका प्रोजेक्ट इन्चार्ज जीवन पौडेलका अनुसार खानेपानी आयोजनाका कारण पिचमा समस्या भएको हो।

पौडेलले बताएको खानेपानी योजना जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) हो।

नगरवासीलाई स्वच्छ खानेपानी वितरण सहज र पर्याप्त बनाउन जाइकाले सडकमा पानीको पाइप बिछ्याइरहेको छ। २०७६ साल जेठ ३० गते ३ अर्ब ९४ करोड २७ लाख रुपैयाँको लागतमा आयोजना शिलान्यास भएको थियो। योजनाको काम ७० प्रतिशत सम्पन्न भइसकेको छ। जाइकाले सन् २१ अगष्टसम्म सकिने गरी योजना अघि बढाएको थियो। तर, अहिले १ वर्ष म्याद थपेर आगामी वर्षको पुससम्म पुर्‍याइएको छ।

सोही आयोजनाका कारण अस्फाल्ट कार्यमा ढिलाई भएको पौडेल सुनाउँछन्। जाइकाकै कारण केहीस्थानमा निर्माण कार्य अवरुद्ध बनेको उनले सुनाए। महेन्द्रपुलदेखि केआइ सिंह पुलसम्म सडक खण्ड पनि महानगरकै जिम्मामा छ। अहिले बगर क्षेत्रमा अस्फाल्ट काम चलिरहेको छ। जाइकाको काम चलिरहेको स्थानमा इलाइटले सडक मर्मत कार्य अघि सार्दैन।

‘उहाँहरुले काम गरिरहनु भएको स्थानमा हामीले काम रोकेका छौं। महानगरको एकै समयको कन्ट्रयाक्टले समस्या छ तर पनि काम गरिरहेका छौं अहिले अन्य ठाउँमा धमाधम काम भइरहेको छ,’ पौडेलले भने।

जाइकाका कारण सडक मर्मतमा केही अवरोध भए पनि समन्वय गरेर काम गरिरहेको उनले बताए। ‘जाइकाको कामले अवरुद्ध भएको हो तर जाइका पनि दैनिक जीवनसँग जोडिएको अपरिहार्य योजना भयो। हामी समन्वय गरेर काम गरेका छौं,’ उनले भने।

पौडेलले समन्वय गरेर काम अघि बढाएको भने पनि निर्माण कार्यमा भने त्यो देखिँदैन। अस्फाल्ट गरेको स्थानमा जाइकाले आफनो काम नसकेको अवस्था छ। जसको लागि पुन मर्मत गरिएका सडक भत्काउनु पर्ने देखिन्छ।

उसो त महानगरले जाइकासँग समन्वय गर्नका लागि पत्र नकाटेको भने होइन। महानगरका इन्जिनियर राजु रेग्मी अनुसार महानगरले यस विषयमा जाइकालाई पत्र पठाएको थियो। यस्तै, इलाइटलाई पनि जाइकाले सडकमा काम सकेपछि मात्र अस्फाल्ट गर्न भनेको छ। जाइकाले अस्फाल्ट भएको स्थानमा क्षति पुर्‍याए उक्त स्थानमा अस्फाल्ट नै गरिदिनु पर्ने भनेको छ। जाइकाले क्षति भएका स्थानमा भनेअनुसार गरिदिएको पनि छ। यद्यपि, जाइकाले सडकको क्षति व्यहोरेर पुन: अस्फाल्ट गरे पनि पटकपटक भत्काइएको सडकको आयु लामो र राम्रो नहुने इन्जिनियर बताउँछन्।

अहिले जाइकाका कारण बगर क्षेत्रको सडक स्तरोन्न्तिमा ढिलाई भइरहेको छ भने रानीपौवादेखि अमरसिंह चोकसम्म सडकमा पनि असर पुर्‍याएको छ। कोरोनाका कारण जाइकाको काम ढिलाई भएर अस्फाल्टको काममा समस्या आएको खानेपानी संस्थान पोखराका प्रमुख तथा इन्जिनियर आशिष कार्की स्वीर्काछन्। दुई पटकको कोरोना लहरले काममा असर पुगेको उनले सुनाए। जापान पुगेका कामदार कोरोना महामारीले फर्किन नपाएका कारण पछिल्लो छ महिना काम रोकिएको उनले बताए। एकसय किलोमिटर पाइप बिछ्याउने काम ६७ प्रतिशत सम्पन्न भएको छ।

‘छ महिना काम रोकियो जाइकाले पाइपलाइन विस्तार गर्न सकेन,’ उनले भने,‘फरक प्रोजेक्ट भएका कारण उहाँहरुको समय सीमा काम गर्नुपर्ने थियो। त्यसैलेपनि पाइप नबिछ्याएको ठाउँमा उहाँहरुले अस्फाल्ट गर्नुभयो।’

कार्कीका अनुसार अहिले राष्ट्र बैंक चोकदेखि सृजना चोकसम्मको सडक भत्काउने तयारीमा जाइका छ। उक्त सडकखण्डमा जाइकाले पाइप लाइन बिछ्याएको छैन। अस्फाल्ट भने भइसकेको छ। यसअघि जाइकाले प्रदेश मातहात पिच भएको सडक खण्ड भत्काएर पाइप बिछ्याएको थियो। कार्कीका अनुसार अझैपनि पोखराको विभिन्न अस्फाल्ट भएको सडक भत्काउनु पर्ने छ।

‘धेरै ठाउँमा भत्काउनु पनि पर्छ नभत्काई हुन्न पाइप लाइन हो सिस्टम नै बिग्रिन्छ पाइपलाइन विस्तारको,’ कार्कीले भने, ‘राष्ट्रबैंक चोकदेखि सृजनाचोकसम्म अस्ति भर्खर बनाएको पिच हो त्यो पनि भत्काउनु पर्ने छ। नभत्काई हुन्न। तर, जाइकाले भत्काएको ठाउँमा बनाउँछ।’

अहिले पोखराको सडकमा भइरहेको अस्फाल्ट पिचको आयू ८ वर्षसम्म हुने इन्जिनियरहरुले बताए। तर, सुरुवातमा भने यसको आयु १० वर्ष हुने बताइएको थियो। अहिले सडक मर्मत र भत्काउने कार्यले भने अस्फाल्टको आयु छोटिने देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell