PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रचण्डको 'सेकेन्ड म्यान' को हुने? पदाधिकारीका लागि माओवादीमा यी नेता आकांक्षी



प्रकाश भण्डारी

प्रचण्डको 'सेकेन्ड म्यान' को हुने? पदाधिकारीका लागि माओवादीमा यी नेता आकांक्षी

काठमाडौं : नेकपा माओवादी केन्द्रले महाधिवेशनकै बेला पदाधिकारीको संख्या बढाएको छ। अन्तरिम विधानमा कति जना पदाधिकारी रहने भन्ने यकिन नभए पनि अध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिवसहित २९९ जनाको केन्द्रिय कमिटी हुने व्यवस्था थियो। त्यसलाई परिमार्जन गर्दै १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था माओवादीले विधानमा गरेको छ।

माओवादी केन्द्रमा पदाधिकारीमा आकांक्षी नेताहरुको संख्या धेरै भएपछि पदहरु थपिएको नेताहरु बताउँछन्। राष्ट्रिय सम्मेलनका लागि तयारी गरेको माओवादीले सम्मेलन हुनु अघिल्लो दिनमात्रै राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको थियो।  माओवादीको पछिल्लो निर्णयअनुसार अब एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, छ जना उपाध्यक्ष, एक जना महासचिव, दुई जना उपमहासचिव,तीन जना सचिव र एक जना कोषा अध्यक्ष रहने छन्।

को हुने सेकेन्ड म्यान?

माओवादी केन्द्रमा अध्यक्ष पछिको शक्तिशाली पदका रुपमा वरिष्ठ उपाध्यक्षलाई राखिएको छ। जसका लागि माओवादी केन्द्रमा रस्साकस्सी सुरु भएको नेताहरुले बताएका छन्। वरिष्ठ उपाध्यक्षका लागि नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महराले दाबी गरिरहेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए। उनका अनुसार वरिष्ठ उपाध्यक्षका लागि दुबै जना बलियो उम्मेद्वार हुन्। महराले पछिल्लो समय पनि जनयुद्ध कालमा जस्तै पार्टीमा सशक्त भूमिका निभाइरहेकाले उनको सम्भावना धेरै भएको ति नेता बताउँछन्। यौन दुर्व्यवहार प्रकरणमा मुछिएपछि पार्टीमा निस्क्रिय जस्तै रहेका महरा अदालतले सफाइ दिएपछि भने पार्टीभित्र सक्रिय छन्। उनले पछिल्लो समय माओवादीबाट विभाजन भएर बनेका विभिन्न राजनीतिक दलहरुसँग संवाद गरिरहेका छन्। अध्यक्ष पुष्पकमल दाहालले नेता नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाएर महरालाई उक्त पद सुम्पिएका थिए।

समावेशी बनाउन चुनौति

माओवादी केन्द्रले महाधिवेशनमार्फत पार्टीले समावेशी कमिटी बनाउने बताएको छ। पदाधिकारीमा पनि समावेशी बनाउन पहल भइरहेको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए। उनले सकेसम्म समावेशी बनाएर लैजान नेताहरुमाथि दबाव भएको बताए। 'अहिले उपाध्यक्ष लगायतमा समावेशीको कुरा उठेको छ,'उनले भने।

उपाध्यक्षका लागि मधेशबाट प्रतिनिधित्व गर्ने नेता, मुस्लिम लगायतलाई समेट्ने माओवादीको तयारी छ। उपाध्यक्षका लागि स्थायी कमिटी सदस्य पम्फा भुसाल, वर्षमान पुन, देव गुरुङ, लिलामणि पोखरेल, गिरीराजमणि पोखरेल लगायतका नेताको सम्भावना रहेको बताइन्छ।

महासचिव को?

माओवादी केन्द्रमा अर्को शक्तिशाली पदका रुपमा महासचिवलाई लिने गरिएको छ। पदाधिकारी संख्या थप गर्नुअघि महासचिवमा नेताहरुको आकर्षण रहेको थियो। त्यतिबेला पम्फा भुसाल, जनार्दन शर्मा र कृष्णबहादुर महराले महासचिवका लागि दावी गरेका थिए। पदाधिकारी संख्या थपेपछि भने जनार्दन शर्माको सम्भावना बलियो भएको माओवादी केन्द्रका नेताहरु बताउँछन्।

पदाधिकारीका लागि सकेसम्म सर्वसम्मत नभए निर्वाचन गरिने नेताहरुको भनाइ छ। आजबाट सुरु हुने बन्दसत्रमा प्रचण्डले राजनीतिक प्रस्ताव प्रस्तुत गर्नेछन्। पदाधिकारीको टुंगो भने पाँचौ दिनमा मात्रै लाग्ने छ। त्यसअघि प्रचण्ड लगायतका नेताहरुले सहमतिका लागि प्रयास गर्ने बताइएको छ। माओवादीले सर्वसम्मत नेतृत्व चयन गर्न नसकेपछि वाग्मती र प्रदेश १ मा निर्वाचनमार्फत पदाधिकारी चयन गरेको थियो।

'पदाधिकारीमा नयाँ अनुहार आउने'

साहले पदाधिरकारीमा थुप्रै नयाँ अनुहार आउने बताए। १५ जना पदाधिकारी संख्या बनाइनुको एउटा कारण नयाँ अनुहारलाई ल्याउनु पनि भएको उनको भनाइ छ। 'अध्यक्ष प्रचण्डबाहेक धेरै पदहरुमा नयाँ अनुहार आउने सम्भावना छ। त्यसैका लागि १५ जना पदाधिकारी संख्या बढाइएको हो,' उनले भने। समावेशी बनाउनेबारे नेताहरुमाथि दबाव भए पनि को कसलाई पदाधिकारीमा लैजाने भन्नेबारेमा अहिले यकिन भइनसकेको नेताहरुको भनाइ छ।

पार्टीका कमिटीहरुलाई समावेशी बनाउने विषयलाई प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदनमा पनि उल्लेख गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell