
काठमाडौं : सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ३ मा बन्दै गरेको ८६ मेगावाटको सोलु खोला दूधकोशी जलविद्युत आयोजना परीक्षणका क्रममा पाइप पड्कँदा दुई जनाको मृत्यु भएको छ।
हिजो दिउँसोतिर परीक्षणका क्रममा पाइप पड्कँदा दुई जना इन्जिनियरको मृत्यु भएको हो। मृत्यु हुनेहरूमा मेकानिकल इन्जिनियर अछाम घर भएका २६ वर्षीय सुवास राज रेग्मी र काभ्रेका कन्सल्टेन्ट इन्जिनियर २९ वर्षीय अर्जुन थापाको उपचारका क्रममा मृत्यु भएको हो।
'परीक्षणको क्रममा पानी खोलिएको रहेछ। तर, वाइल्डिङ गरेको ठाउँमा पानीको प्रेसर थाम्न नसकेर दुर्घटना भएको बुझिएको छ,' जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषि ढकालले भने।
उनीहरूको उपचारको क्रममा मिसन अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। त्यस्तै, दुर्घटनामा परेर मोहम्मद जाबी अख्तर राइन घाइते भएका छन्। उनलाई थप उपचारको लागि काठमाडौंको ग्रान्डी अस्पताल ल्याइएको छ। त्यस्तै, मृतकको शव परीक्षणका लागि आज बिहान हेलिकप्टरबाट त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।