काठमाडौं : नेकपा (माओवादी केन्द्र) को ८औँ राष्ट्रिय महाधिवेशन काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा जारी छ।
आइतवार उद्घाटन भएको महाधिवेशन विभिन्न स्थानमा महाधिवेशन प्रतिनिधि र कार्यकर्ताहरुलाई तस्बिर खिचाउन पाउने गरी होइङ बोर्ड राखिएका छन्। प्रज्ञा प्रतिष्ठानको गेट छिर्ने बित्तिकै दुई वटा ठूला होइङ बोर्ड छन्। प्रतिनिधिहरुले त्यसैको अगाडि सामुहिक तथा एकल फोटो खिचाइरहेका छन्।
आइतवार दिनभर कार्यकर्ताहरुको फोटो खिच्ने उत्साह देखिएसँगै उद्घाटनसत्र सकिँदानसकिँदै साँझ एकाएक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को कट आउट (पुत्ला) ठडियो।
नेकपा एमालेको विधान सम्मेलनका क्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका तस्बिरहरु त्यसैगरी महाधिवेशन स्थल वरपर ठडिएका थिए। जसलाई कतिपय कार्यकर्ताले ओलीको देवत्वकरण भनेर आलोचना समेत गरेका थिए।
ओलीलाई देवत्वकरण भनेर आलोचना गरिएकै शैलीमा प्रचण्डको तस्विर पनि प्रज्ञा भवनको मूल गेटको ठीक अगाडि राखिएपछि उनको पनि आलोचना सुरू भयो।
सामाजिक सञ्जालमा 'प्रचण्डको बा अवतार' भन्दै आलोचना भएपछि अहिले बन्दसत्र सुरु हुने क्रममा आइतवार बिहान त्यो कटआउट हटाइएको छ।