
हरर फिल्म ‘कठपुतली’ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ।
२ मिनेट ९ सेकेन्डको दोस्रो ट्रेलरमा फिल्मको मूल कथा अभिनेता कर्माको वरिपरि घुमेको देख्न सकिन्छ। एक राजकुमारले एक विकट ठाउँको दरबारभित्र सामना गर्नुपरेका रहस्यहरु तथा अदृश्य शक्तिहरूबाट बच्नको लागि गरेको संघर्षको कथा ट्रेलरमा देखाइएको छ।
तीन हप्ता अगाडि फिल्मको पहिलो ट्रेलर सार्वजनिक भएको थियो। पहिलो ट्रेलरलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलिरहेको छ।
भिमसेन लामाको निर्देशन रहेको फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, शिल्पा मास्के, कर्मा, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइराला लगायतको अभिनय रहेको छ।
पृथ्वी राना मगर निर्माता रहेको फिल्मको कथा सम्पदा मल्लले लेखेकी हुन्। अष्ट्रेलियाका सिनेमाटोग्राफर जोएल फ्रूमले खिचेको फिल्मको सह-निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा रहेका छन्।
यो फिल्म यही पुष १६ गतेबाट देशैभर प्रदर्शनमा आउने भएको छ।