PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

माओवादी महासचिवका दाबेदार अनन्त छन् कहाँ? महाधिवेशनमा भइरहेका छन् 'मिसिङ'



विधुर ढकाल

माओवादी महासचिवका दाबेदार अनन्त छन् कहाँ? महाधिवेशनमा भइरहेका छन् 'मिसिङ'

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को ८ औं महाधिवेशन अहिले काठमाडौंमा जारी छ। नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि भन्दै महाधिवेशन गरिरहेको माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को राजनीतिक प्रतिवेदन पेश गरेका छन्। त्यसमाथि छलफल र पारितका साथै महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ।

महाधिवेशनले २९९ जनाको केन्द्रीय कमिटी निर्वाचित गरेर १५ जना पदाधिकारी चयन गर्ने छ। विधानले पदाधिकारी संख्या तोके पनि पोर्टफोलियोको विषयमा भने मौनता नै राखेको छ।

महाधिवेशन अगाडि बसेको माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, छ जना उपाध्यक्ष, एक जना महासचिव, दुई जना उपमहासचिव,तीन जना सचिव र एक जना कोषाध्यक्ष रहने निर्णय गरेको थियो।

महाधिवेशनमा पदाधिकारी तथा केन्द्रीय कमिटी सर्वसम्मत गराउने गृहकार्यमा माओवादी केन्द्र रहे पनि पदाधिकारीमा नेताहरूका आकांक्षी बढेका छन्।

वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठले दाबी गर्दा कृष्णबहादुर महराले पनि वरिष्ठ उपाध्यक्षमा आँखा लगाएका छन्। महासचिवमा दाबी गरेका उनले महासचिव नपाएको अवस्थामा वरिष्ठ उपाध्यक्षमा दाबी गर्न सक्ने बताइएको छ।

महासचिवमा महरासहित अहिले चार नेताको दाबेदारी छ। पम्फा भुसाल, जनार्दन शर्मा ‘प्रभाकर’सँगै वर्षमान पुन 'अनन्त'ले पनि दाबी गर्दै आएका छन्।

अर्थ तथा योजना विभागको प्रमुख समेत रहेका अनन्त यो महाधिवेशनमा भने उपस्थित छैनन्। उनी हाल उपचारका लागि चीनमा छन्। जन्डिस बिग्रिएर नेपालमै उपचार गराइरहेका उनलाई असोज १३ गते थाइल्याण्ड लगिएको थियो।

थाइल्याण्डको समिट भेज अस्पतालमा उपचार गराउँदा पनि स्वास्थ्यमा सुधार नआएपछि उनलाई चीन लगिएको थियो।

उनको उपचार सन्चेन प्रान्तको थर्ड पिपल्स अस्पतालमा उपचार भइरहेको छ। महिना दिन अगाडि मंसिर १० गते उनलाई उक्त अस्पतालमा भर्ना गरिएको थियो।

महासचिवमा दाबी गरिरहेका भए पनि अहिले उनको पक्षमा दह्रोसँग लविङ गर्ने नेताहरुको अभाव देखिएको छ। उनकी पत्नी तथा पूर्व सभामुख एवं नेतृ ओनसरी घर्ती समेत महाधिवेशनमा सहभागि भएकी छैनन्। घर्ती पनि अनन्तको उपचारकै लागि चीनमा छिन्।

उनले चीनमा उपचार गराइरहेका उनको स्वास्थ्यमा सुधार आइरहेको माओवादी केन्द्रका केन्द्रीय सदस्य दुर्गा चापागाँईले जानकारी दिए। उनी अनन्तका पूर्व स्वकीय सचिव समेत हुन्। स्वास्थ्यमा सुधार आए पनि चिकित्सकहरुले उनलाई थप केही दिन अस्पतालमा बस्न सुझाव दिएपछि उनी चीनमा नै रोकिएका हुन्।

गत शुक्रवार मात्रै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका थिए। टेलिफोन कुराकानीका क्रममा प्रचण्डले स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै अस्पतालमा नै आराम गर्न सुझाव दिएका थिए। सो छलफलमा अनन्तले प्रचण्डसँग आफ्नो दाबीलाई स्मरण गराएको टेलिफोन सम्बादबारे जानकार माओवादीका एक नेताले बताए।

उपस्थित नहुँदा महासचिवमा कमजोर दाबेदारी  

उनी महाधिवेशनमा अनुपस्थित हुँदा महासचिवमा उनको दाबेदारी कमजोर बनेको छ। महासचिवमा उनीसहित प्रभाकरको पनि दावेदारी छ। अनन्त र प्रभाकर दुवै माओवादी जनयुद्धको समयमा माओवादी जनमुक्ति सेनाका ‘भाइस-कमाण्डर’हुन्। प्रचण्ड सुप्रिम कमाण्डर। जनसेनाका भाइस-कमाण्डर मध्ये एक नन्दकिशोर पुन ‘पासाङ’ उपराष्ट्रपति छन्। त्यस्तै, अर्का भाइस-कमाण्डर चक्रपाणि खनाल ‘वलदेव’ले खुलेर पदको दाबी गरेका छैनन्।

विगत चार महिनादेखि नेपालमा नै नरहेका अनन्त, प्रभाकरका अगाडि कमजोर देखिएका छन्। त्यतिमात्र नभइ महासचिवमै महराको पनि दाबी रहेको बताइन्छ। महरा र अनन्त लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्छन्। यस्तोमा लुम्विनी प्रदेशको मत पनि विभाजन हुने देखिन्छ। अर्कातर्फ कर्णाली प्रदेशमा जनार्दनको एकल उपस्थिति छ। उनलाई सूदुर पश्चिमको पनि साथ रहेको बताइन्छ। महाधिवेशनको उद्घाटन कार्यक्रम पनि शर्माले नै सञ्चालन गरेका थिए। महराको दाबीले पनि अनन्तलाई थप कमजोर बनाएको लुम्बिनी प्रदेशका एक प्रतिनिधिले बताए।

‘सकेसम्म हाम्रै प्रदेशबाट होस भन्ने त हो। तर हाम्रो प्रदेशबाट दुई जनाले दाबी गर्दा हामी नै विभाजन हुनुपर्ने अवस्था देखियो,’ उनले भने, ‘अर्कोतिर प्रभाकर कामरेड पनि बलियो दाबेदार हो। उहाँको पक्षमा कर्णाली एक ढिक्का देखिन्छ।‘

महासचिवमै भुसालको पनि दाबेदारी पनि बलियो छ। महिला नेतृत्वलाई अगाडि बढाउने र समावेशी एजेन्डा अगाडि बढाउने विधानमै लेखेको माओवादी भित्र पदाधिकारीमा पनि महिलाको समानुपातिक र समान हैसियतको प्रतिनिधित्वको आवाज उठिरहेको छ। यस्तो अवस्थामा अध्यक्ष पछिको यो पदका लागि भुसालको पक्षमा महिला नेतृहरुको लविङ रहेको छ।

१५ गतेसम्म चल्ने सम्मेलनमा पदाधिकारीका लागि सकेसम्म सर्वसम्मत नभए निर्वाचन गरिने नेताहरुको भनाइ छ।

हालका स्थायी कमिटी सबै पदाधिकारी!

यसैबिच माओवादी केन्द्रले पदाधिकारीको संख्या १५ पुर्‍याएपछि हालका स्थायी कमिटी सदस्यहरु सबै पदाधिकारीमा अट्ने भएका छन्। माओवादी केन्द्र र एमालेबिच एकतापछि बनेको नेकपामा माओवादी केन्द्रबाट १९ स्थायी कमिटी र २ आमन्त्रित सदस्य थिए।

स्थायी कमिटीमा रहेका मध्ये चार जना अहिले माओवादी केन्द्रमा छैनन्। रामबहादुर थापा 'बादल', टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा एमालेमा छन्। बादल एमाले उपाध्यक्ष हुँदा रामाझी र भट्ट सचिव छन्।

स्थायी कमिटीमा रहेका अग्नि सापकोटा हाल सभामुख छन्। आमन्त्रित सदस्य अमिक शेरचन लुम्विनी प्रदेशको प्रदेश प्रमुख छन्। यस्तो अवस्थामा बाँकी रहेका स्थायी कमिटी सदस्यहरु पदाधिकारीमा अटाउने देखिन्छन्। तर, अहिलेको स्थायी कमिटीमा महिला सहभागिता नहुँदा महिलालाई समावेश गर्नका लागि केही स्थायी कमिटी सदस्यलाई पदाधिकारीबाट बाहिर राख्नुपर्ने अवस्था आउन सक्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell