PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

दुध उत्पादनमा कमी आउँदा हेटौँडा दुग्ध वितरण आयोजनाले विदेश निर्यात गर्न सकेन घ्यु



निशा गुरुङ

दुध उत्पादनमा कमी आउँदा हेटौँडा दुग्ध वितरण आयोजनाले विदेश निर्यात गर्न सकेन घ्यु

हेटौँडा : चालु आर्थिक वर्ष २०७८/७९ मा हेटौँडा दुग्ध वितरण आयोजनाले दुध उत्पादनमा कमी आउँदा घ्यु विदेश निर्यात गर्न सकेको छैन। गत आव २०७७/७८ मा आयोजनाले घ्यु उत्पादन गरेर धमाधम विदेश निर्यात भएको थियो।

४८ वर्षअघि हेटौँडा औद्योगिक क्षेत्रमा स्थापना गरिएको दुग्ध वितरण संस्थानअन्तर्गतको आयोजनाले गत वर्षबाट दक्षिण कोरिया, जापान र अस्ट्रेलियामा घ्यु पठाउँदै आएको थियो। तर, चालु आवमा भने विदेशमा घ्यु पठाउन नसकिएको आयोजना प्रमुख नरेश जोशीले बताए।

प्रमुख जोशीका अनुसार आयोजनाले गत वर्ष ६५ हजार लिटर घ्यु ती देशमा निर्यात गरेको थियो। संघीय सरकारको स्वामित्वमा सञ्चालित उद्योगबाट एक वर्षमा सबैभन्दा बढी जापानमा ४५ हजार, दक्षिण कोरियामा २२ हजार र अस्ट्रेलियामा ४ हजार लिटर घ्यु निर्यात भएको थियो।

‘अहिले घ्युको माग बढेपनि हामिले पठाउन सकिरहेको छैनौँ। हामी अन्य देशमा पनि बिक्री गर्ने प्रयास गरिरहेका थियौँ। तर, स्टक कम भएको हुँदा स्थानीय बजारमा मात्रै पुग्ने गरेको छ,’ जोशीले भने।

गत वर्ष हेटौँडामा उत्पादित घ्यु पहिलो पटक विदेश निर्यात गरेको आयोजनाले चालु वर्षमा भने निर्यात गर्न सकिएको छैन। आठ हजार लिटरसम्म घ्यु निर्यात गर्न सफल भएको आयोजनाले गत वर्ष भन्दा चालु आर्थिक वर्षमा ३५ प्रतिशतले दुध उत्पादनमा कमी आएपछि निर्यात गर्न नसकिएको जानकारी दिएको छ।

आयोजनाले घ्युबाहेक दही, पनिर, मखन, फ्रेस मिल्क, लालमोहन, रसभरी, आइसक्रिम, प्रशोधित क्रिम, पेंडा र खुवालगायत पदार्थ पनि बिक्री गर्दै आएको छ। आयोजनाले वीरगंज, हेटौँडा, नारायणगढ, काठमाडौंमा थोक तथा खुद्रा पसलबाट करिब ३० वर्षदेखि यी पदार्थ बिक्री गरिरहेको छ। आयोजनाअन्तर्गत रौतहटको चन्दनिगाहपुर, गरुडा, सर्लाहीको नवलपुर, वरहथवा, हरैया, वसवरिया र सिम्रौनगढमा दुग्ध चिस्यान केन्द्र स्थापना गरिएको उनले बताए।

आयोजनामा प्रतिदिन ६० हजार लिटर दुध, ३ हजार लिटर घ्यु, मख्खन र पनिर ५ सय केजी भण्डार क्षमता रहेको छ। आयोजनामा फ्रेस मिल्क एक हजार ५ सय बोतल प्रतिसिफ्ट, पेंडा ३ सय ६० प्याकेट प्रतिदिन र लालमोहन ९ सय प्याकेट प्रतिदिन उत्पादन हुने गरेको तथ्यांक छ।

आयोजनाले मकवानपुर, बारा, पर्सा, रौतहट र सर्लाहीबाट दैनिक २५ हजार लिटर दुध संकलन गरिरहेको छ। गत वर्ष संकलित दुधको करिब ११ करोड रुपैयाँ भुक्तानी गरेको थियो।

चालु आवको मंसिरसम्म आयोजनाले ८ करोड रुपैयाँ भुक्तानी गरेको जोशीले बताए। आयोजनाले १ सय ६४ वटा दुग्ध उत्पादक सहकारी संस्था र पाँच चिस्यान केन्द्रमार्फत दुध खरिद गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell