PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पोर्चुगलबाट साइकलमा पेड्रोको काठमाडौं यात्रा, सगरमाथा आधार शिविर पनि पेडल घुमाउँदै...



सहयोग रञ्जित

पोर्चुगलबाट साइकलमा पेड्रोको काठमाडौं यात्रा, सगरमाथा आधार शिविर पनि पेडल घुमाउँदै...
सबै तस्विर : पेड्रो बेन्टो

सोलुखुम्बुको गोरकसेपबाट झिमसिमेमै कालापत्थर उक्लने योजना थियो। अनि त्यहाँबाट फर्किएर त्यसै दिन सगरमाथा आधार शिविर पुग्ने लक्ष्य। पोर्चुगलका पेड्रो बेन्टो मंसिर ६ गते यही योजना बुनेर काठमाडौंबाट निस्किएका थिए पेडल चलाउँदै। साइकलमा उकाली ओराली गर्दै ११ दिन लाग्यो गोरकसेप पुग्न। साइकल बोकेर आधार शिविरसम्म पुग्नु कम चुनौतीपूर्ण छैन। त्यसैले धेरैले आँट गर्दैनन्। जतिखेर उनी साइकलमा खुम्बुतिरको यात्रा गरिरहेका थिए, बाटामा भेटिने मानिसहरु ताली बजाउँदै उनलाई सम्मान अर्पण गर्थे।  

मंसिर १ गते लोबुचे हुँदै गोरकसेप पुग्दै गर्दा पेड्रोलाई उनका शेर्पा गाइड लाक्पाले भनेका थिए : तिमी त शेर्पा जस्तै रहेछौं। कति छिटो तिम्रो गति!

यो सुनेर पेड्रो हौसिएका थिए। राति खाना खाने बेलासम्म सबै कुरा ठीकै थियो। बिहानै ५ बजे कालापत्थर उक्लने योजना लाक्पासँग साटेका थिए उनले। तर, राति १० बजेपछि दृश्य फेरियो।

पेड्रोको टाउको अचानक दुख्न थाल्यो। दुखाईले रातभर निदाउन सकेनन् उनी। मंसिर २ गते बिहान ५ बजे उठेर हिँड्ने योजना पूरा भएन। पेड्रो नउठेपछि लाक्पा होटलको कोठामा पुगे र उनको अक्सिजनको मात्रा परीक्षण गरे। अक्सिजन लेभल रहेछ - ६०।

लाक्पाले भने : पेड्रो तिमीलाई लेक लाग्यो। हामीले योजना परिवर्तन गर्नुपर्छ।

काठमाडौंदेखि सोलुखुम्बुसम्म साइकलमा आइपुगेका पेड्रोलाई पछि हट्न मन थिएन। त्यसैले केही समय आराम गरे। अनि बिहान ८ बजे साइकल बोकेर लागे सगरमाथा आधार शिविरतिर। कालापत्थर जाने योजना स्थगित भयो।

करिब तीन घण्टाको यात्रापछि पेड्रो पुगे ५ हजार ३ सय ६४ मिटर उचाइमा रहेको सगरमाथा आधार शिविर पुगे। लेक लाग्दालाग्दै पनि पेडल चलाउँदै साइकलमा बेस क्याम्प पुगेका उनलाई त्यहाँ पुग्ने बित्तिकै चिच्याउन मन थियो। ठूलो स्वरले आफ्नो नाम भन्न मन थियो। परिवारका सदस्यको नाम सगरमाथालाई सुनाउन मन थियो। तर, उनले त्यसो गर्न सकेनन्। 

'सोचेको केही भएन। त्यहाँ बसेर म रोएँ। किनभने त्यो यात्रा निकै कष्टपूर्ण थियो,' उनले सम्झिए।

लेक लागेका कारण उनलाई गोरकसेपबाट हेलिकप्टरबाट रेस्क्यु गर्नुपरेको थियो। काठमाडौंको अस्पतालमा केही दिन आराम गरेर निस्किएपछि उनलाई हामीले सोधेका थियौं :  लेक लाग्दा पनि जीवन जोखिममा राखेर किन यात्रा गर्नुभयो?

उनको उत्तर थियो : मलाई गर्नु नै थियो। त्यसो नगरेको भए मेरो उद्देश्य पूरा हुँदैन थियो। हाम्रो लिमिट के हो भनेर हामीलाई थाहा हुँदैन। त्यसैले हामीले रिक्स लिनुपर्छ।

+++

जोखिमपूर्ण यात्राको सफर पेड्रोको लागि नयाँ भने होइन। यसपटक काठमाडौंदेखि सगरमाथा आधार शिविरसम्म साइकलमा यात्रा तय गरेका उनले २०१९ मा भने पोर्चुगलबाट नेपालसम्म आएका थिए साइकलमै।

सन् २०१९ अप्रिल १ बाट पेड्रो पोर्चुगलबाट नेपालको यात्रामा निस्किएका थिए। लक्ष्य थियो १० हजार किलोमिटर दुरी पार गर्दै काठमाडौं पुग्नु। स्पेन, फ्रान्स, इटली, स्लोभेनिया, क्रोएशिया, अलबानिया मोन्टेकार्लो, टर्की हुँदै इरान पुगे। इरानबाट भने विमान चढेर भारत।

कारण - उनी अफगानिस्तान र पाकिस्तानको यात्रामा निस्कन चाहँदैन थिए, सुरक्षा चुनौतिका कारण।

'दिनको ५० देखि २५० किलोमिटरसम्मको यात्रा हुन्थ्यो। मौसम लगायतका परिस्थितिमा भर पर्थ्यो यात्रा कति लामो हुने भन्ने। कहाँ बास बस्ने, ठेगान थिएन। के खाने, योजना थिएन। जहाँ पुगे, त्यहीँ रमेँ,' यात्रा सम्झँदै उनले सुनाए, 'इरानबाट मुम्बईसम्म मात्रै विमान चढेँ। बाँकी यात्राको कुनै योजना थिएन। घरबाट हिँडेको ७१ दिनमा काठमाडौं पुगें।'

यसरी साइकल चढेर पोर्चुगलबाट काठमाडौं आउनु उनको बाध्यताको विषय थिएन। थियो त रहर मात्रै। उनी आफैँलाई जित्न चाहन्थे। आफ्नो चोटलाई हराउन चाहन्थे।

१८ वर्षको उमेरमा नै मोर्डन बाइक रेसिङमा होमिएका थिए पेड्रो। पोर्चुगलसहित विभिन्न देशमा बाइक रेसिङका लागि पुग्थे। सन् २०१७ मा भने मोटरबाइक रेसिङका क्रममा उनी दुर्घटनामा परे। शरीरभर चोट थियो। ढाडमा दुई पटक सर्जरी गर्नु पर्‍यो - स्टिलको रड राख्न। करिब एक महिनाभन्दा बढी ह्विलचेयरको सहारामा चलायमान भए। 

त्यही क्रममा चिकित्सकले भनेका थिए : अब तिमी बाइक चलाउन सक्दैनौं। तिमी राम्ररी हिँड्न सक्दैनौं।

तर पेड्रोले चिकित्सकको कुरा सुनेर हार मानेनन्। उनले नर्स र डाक्टरसँग झगडा गरे। र, आफूलाई खुट्टामा उभिन दिन भने। जिद्धि स्वभावमा प्रस्तुत भएका पेड्रो लागे व्यायाम तिर। खुट्टालाई चलाउन थाले आफ्नै हिसाबले।

डाक्टरले 'अब तिमी बाइक चलाउन सक्दैनौं' भनेको कुराले उनलाई नराम्ररी प्रभावित पारिरहेको थियो। अस्पतालमा रहँदा नै एक दिन उनलाई सम्झनामा आयो एक वर्षअघि गरेको नेपालको यात्रा।

सन् २०१६ मा उनी पहिलो पटक नेपाल आएका थिए, याक अट्याकमा भाग लिन। अन्नपूर्ण, उपल्लो मुस्ताङ, थोरङलापास लगायतका क्षेत्र हुँदै गरेको १० दिने रेसिङबाट नै उनको सम्बन्ध नेपालसँग गाँसिएको थियो।

'त्यही बेलादेखि म नेपालको भएँ। यहाँको मानिसको माया र सौहार्दता देखेर प्रभावित पनि। त्यसैले पोर्चुगलमा अस्पतालको बेडमा बस्दा मलाई नेपालकै याद आयो। नेपालसम्म आएर आफूलाई फेरि प्रमाणित गर्नुपर्छ भन्ने लाग्यो,' उनले सुनाए।

२०१६ मा भएको याक अट्याकमा नेपाल आएर बाइक रेसिङमा सहभागी भएका उनी एकमात्र पोर्चुगिज थिए। विश्वका १० वटा 'हार्डेस्ट बाइक रेसिङ' पूरा गर्ने सपना बुनेका उनले ७ औं रेसिङ नेपालमा आएर गरेका थिए। कोस्टारिका, क्यानडा, इटली, अस्ट्रेलियालगायत मुलुकमा माउन्टेन बाइक रेसिङमा सहभागी भइसकेका उनीसँग त्यो लक्ष्य पूरा गर्न अब तीनवटा हार्डेस्ट बाइक रेसिङमा सहभागी हुनु छ।

'मलाई सक्दैन भनेर भनेका थिए। तर, मैले नेपालसम्मको यात्रा गरेँ साइकलमा। फेरि काठमाडौंबाट एभरेष्ट बेस क्याम्प पुगेँ। मलाई लाग्छ, अब ३ वटा रेस पनि पूरा गर्नसक्छु,' उनले भने।  

यसरी बाइक रेसिङ गर्दागर्दै उनले आफ्नो 'लिमिट' पहिचान त गरेकै छन्। सँगै नेपालका बालबालिकालाई पढाउन सहयोगसमेत गरिरहेका छन्। भूकम्पको समयमा पनि नेपालको लागि सहयोग जम्मा गर्न जुटेका उनी पोर्चुगलबाट साइकलमा नेपाल आउँदा होस् या काठमाडौंबाट सगरमाथा आधार शिविर पुग्दा, नेपालका बालबालिकाका लागि सहयोग जुटाउन लागिरहे। सँगै, जम्मा भएको रकम रकम आफू जस्तै दुर्घटनामा परेर प्यारालाइसिस भएका एक साथीका लागि छुट्याउँछन्। र, छुट्याउँछन दुर्घटनामा परेको बेला आफूलाई जोगाउने 'फायर फाइटर'का लागि पनि।

'पोर्चुगलबाट काठमाडौं साइकलमा आउँदा १२ हजार युरो सहयोग उठ्यो। केही हजार मलाई बचाउने फायर फाइटरलाई दिएँ। केही हजार नेपालका बालबालिकाको शिक्षाको लागि दिएँ। त्यसपछि नेपालसँगको मेरो सम्बन्ध झन बढ्यो,' उनले भने।

काठमाडौंदेखि सगरमाथा आधार शिविरसम्मको यात्रा पनि यही सम्बन्धको निरन्तरता भएको उनको भनाइ छ।

'मलाई थाहा छ। नेपालसँग मैले के अपेक्षा गर्नुपर्छ भनेर। त्यसैले त म फर्किएँ। यहाँ आउनु भनेको मेरो दोस्रो घरमा फर्किएको जस्तो लाग्छ,' उनी भावुक सुनिए, 'पहिलो पटक आउँदा नै मलाई यहाँ घर जस्तो लागिसकेको थियो। मैले यहाँको बालबालिकासँग बनाएको सम्बन्धले नै मलाई यहाँसम्म फेरि खिच्यो। दोस्रो र तेस्रो पटक पनि घरमा नै आएँ।'

हाल पोर्चुगल फर्किसकेका छन् उनी। अहिले आफ्नो परिवार र साथीभाइसँग नेपालमा बिताएका पलहरु सेयर गरिरहेका छन्। सगरमाथासम्म पुगेका तस्विर र भिडियोहरु देखाइरहेका छन्। धेरैले उनलाई भनिरहेका छन् 'क्रेजी'। उनी भने फेरि नेपाल फर्किने र यहाँका बालबालिकालाई सहयोग जुटाउन लागेका छन्। 

'नेपाल मेरो देशभन्दा धेरै फरक छ। तर मेरो नाता यहाँसँग जोडेको छ जस्तो लागिरहेको छ। त्यसैले म फेरि फर्किन्छु। जसलाई सहयोग गर्न सक्छु त्यो गर्न,' उनले दृढताका साथ सुनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell