PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

सप्तकोशी डेभलपमेन्ट बैंकमा १६ करोड बढीको हिनामिना : भट्टराईलाई फसाइएको आफन्तको दावी



अनन्तराज न्यौपाने

सप्तकोशी डेभलपमेन्ट बैंकमा १६ करोड बढीको हिनामिना : भट्टराईलाई फसाइएको आफन्तको दावी

विराटनगर : बैंकिङ कसुर मुद्दामा मोरङ प्रहरीको हिरासतमा रहेका सप्तकोशी डेभलपमेन्ट बैंकका जुनियर अफिसर हिमाल भट्टराईका आफन्तले यस प्रकरणमा बैंकका सिइओ नवीन सुवेदीकै प्रत्यक्ष संलग्नता भएको दाबी गरेका छन्।

हिमालका बाबु अम्बिकाप्रसाद, भाइ मनोज, दाजु जनार्दन लगायतका आफन्तले सोमबार पत्रकार सम्मेलन गर्दै रकम हिनामिना प्रकरणमा नवीनको संलग्नता भएको दाबी गरेका हुन्।

सप्तकोशी बैंकको रेमिट्यान्स शाखाबाट १६ करोडभन्दा बढी हिनामिना गरेको आरोपमा बैंकका कर्मचारी हिमाल मङसिर १९ गतेदेखि जिल्ला प्रहरी मोरङको हिरासतमा छन्।

उनलाई प्रहरीले पुस २ गते मोरङ अदालतमा बैंकिङ कसुरको अभियोगमा मुद्दा दर्ता गरेको छ।

‘मेरा छोरालाई सादा पोशाकका प्रहरीले मङ्सिर ८ गते बैङ्कमा होहल्ला गरी अभद्र व्यवहार गरेको उजुर परेको भन्दै मङ्सिर १९ गते पक्राउ गरे’, बाबु अम्बिकाप्रसादले पत्रकार सम्मेलनमा भने, ‘बैंकले मङसिर ८ गते हिमालले अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा जाहेरी हालेको रहेछ।’

अम्बिकाको प्रश्न छ, ‘बैंकले मंसिर ९ गते हिमाललाई बैंकको नयाँ गाडी लिन काठमाडौं पठाएको छ र हिमालले गाडी बुझेको लिखित प्रमाण पनि छ। उसैले काठमाडौंमा गाडी बुझेर विराटनगर ल्याएको प्रमाण छ। यदि ८ गते उसले अभद्र व्यवहार गरेको भए बैंकले ९ गते गाडी लिन काठमाडौं किन पठाउँछ?’

अम्बिकाले सिइओ सुवेदीले प्रहरीका माथिल्ला अधिकारीलाई पनि प्रभावमा पारेको र प्रहरीको हिरासतअन्तर्गत अस्पताल भर्ना भएका हिमाललाई झुक्याएर सिइओले खाली कागजमा सही गर्न लगाएको आरोप लगाए।

उनले भने, ‘प्रहरीले पक्राउ गरेपछि छोरो हिमाल बिरामी भएर गोल्डेन अस्पतालमा भर्ना भएको थियो। त्यहाँ सिइओ सुवेदी खालि कागजमा सही गराउन पुगे। तर ड्युटीमा रहेको प्रहरीले सही गर्न नमिल्ने अडान लिए। यसपछि नवीनले ड्युटीमा रहेका प्रहरी हवल्दार र जवानलाई माथिल्ला अधिकारीबाट फोन गर्न लगाए। हिमालले सिइओलाई अति विश्वास गर्छन्। उनीहरू नातेदार पनि हुन्। हिमाल सिइओ नवीनका फुपूका छोरा हुन्।’

हिमालका भाइ मनोजका अनुसार हिमाललाई बैंकको रेमिट शाखामा काम दिइएको थिएन। हिमाललाई जेनरल सर्भिस डिपार्टमेन्ट दिइएको थियो र उनको मुख्य काम सरसामान र अन्य भौतिक वस्तुको रेखदेख तथा आपूर्ति थियो। तर हिमालले रेमिट खाताको रकम हिनामिना गरेको भन्ने आरोप लगाइएको छ।

मनोजको आग्रह थियो, ‘सिइओ नवीनकी बहिनी पर्ने बबिता सुवेदीका नाममा नवीनले आफैँ खाता खोलिदिएका थिए र यो खाताको सञ्चालन नवीन आफैँ गर्थे। यो खाताबाट १४ करोडभन्दा बढीको कारोबार भएको देखिन्छ। यसको छानबिन गरिनु पर्छ।’

मनोजले हाल हिरासतमा रहेका हिमाललाई सिइओ नवीनले म तेरो दाजु हुँ, तलाईं अप्ठ्यारो पार्ने काम गर्दिन भन्दै फकाएको र हिमालले नवीनको विश्वासमा परेर सबै कागजमा दस्तखत गरेको दाबी गरे।

उनले अधिकारप्राप्त सरकारी निकायले सिइओ नवीनको सम्पत्ति र त्यसको स्रोतका बारेमा अनुसन्धान गरेमा सबै स्पष्ट हुने बताए।

उनले पटकपटक गरेर बैंकको १६ करोडभन्दा बढी रकम हिनामिना हुँदा सिइओलाई कसरी थाहा हुँदैन भन्ने प्रश्न गर्दै नातामा सिइओ सुवेदीको भाइ पर्ने हिमाललाई पनि सुवेदीले नै बैंकमा जागिर लगाइदिएको जानकारी दिए।

मनोजको भनाइ थियो, ‘हिमाललाई सुवेदीले जागिर लगाएदेखि नै गलत काम गर्न लगाएछन्। सुवेदीले तँलाई केही हुँदैन भनेर दिएको आश्वासनमा हिमालले गल्ती गरेछन्।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell