काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापा 'ओपन एन्ड भेट्रान टेनिस प्रतियोगिता'को सेमीफाइनलमा पराजित भएका छन्। पोखरामा आज भएको ५५ वर्ष समूहको सेमीफाइनलमा उनी पूर्व राष्ट्रिय टेनिस च्याम्पियन कृष्ण घलेसँग पराजित भएका हुन्।
उनले ट्वीट गर्दै आफू पराजित भएको भन्दै स्वास्थ्य प्रतिस्पर्धामा हारजित सामान्य र स्वभाविक भएको उल्लेख गरेका छन्।
पोखरामा आज भएको "१८औँ माछापुच्छ्रे बैंक ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता"को ५५ बर्ष समुहको सेमिफाइनलमा पुर्व राष्ट्रिय च्याम्पियन कृष्ण घलेसँग हारेँ।कृष्णलाई बधाई।
— Kamal Thapa (@KTnepal) December 28, 2021
स्वस्थ प्रतिस्पर्धामा हारजित सामान्य र स्वाभाविक हो।
आजै डबल्सको सेमिफाइनल खेल्न बाँकी छ।
Wish me good luck 🤞 pic.twitter.com/9fpBnax9nJ
केही हप्ता अघि भृकुटीमण्डपमा भएको राप्रपाको एकता महाधिवेशनमा थापा राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए। तर, उनले आफ्नो पराजय लिङ्देनसँग नभइ पूर्व राजा ज्ञानेद्र शाहका कारण भएको आरोप लगाउँदै आएका छन्। निर्मल निवासको प्रत्यक्ष हस्तक्षेपमा आफू हारेको उनको दाबी थियो।
अहिले पोखरामा टेनिसमा हार्दा 'हारलाई सामान्य स्वभाविक' भनेपछि थापा ट्रोलको सिकार बनेका छन्। थापामाथि सामाजिक संजाल प्रयोगकर्ताहरुले टेनिसमा हारको पछाडि 'निर्मल निवास लेख्न छुट्यो कि!' भन्दै व्यंग्य गरिरहेका छन्। केहीले भने यसपटक थापा राजनीति र टेनिस दुवैमा असफल भएको भन्दै आउने वर्षमा सफलता मिलोस् भन्ने कामना पनि गरेका छन्।
थापाले आजै डबल्सको सेमीफाइनलमा समेत प्रतिस्पर्धा गर्दैछन्। उनले यो खेलमा आफूलाई जित्न 'विस मि गुड लक' समेत लेखेका छन्।