PahiloPost

Jul 4, 2024 | २१ असार २०८१

यातायात व्यवस्था विभागमा यसरी छापिँदैछ स्मार्ट लाइसेन्स

यातायात व्यवस्था विभागमा यसरी छापिँदैछ स्मार्ट लाइसेन्स

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : सवारी चालक अनुमतिपत्र ( स्मार्ट लाइसेन्स) छपाइ सुरु भएको छ। यातायात व्यवस्था विभागले मंगलबार दिउँसोबाट छपाइ सुरु गरेको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवको उपस्थितिमा लाइसेन्स छपाइ सुरु गरिएको हो।

मंसिर पहिलो साता नै १४ लाख कार्ड आइपुगेको थियो। गुणस्तर परीक्षणका लागि फ्रान्स पठाएर रिपोर्ट आएपछि छपाइ सुरु गरिएको हो। उक्त कार्डको विभागले दिएको स्पेशिफिकेशन अनुसारको गुणस्तर भए/नभएको परीक्षणका लागि फ्रान्स पठाएको थियो। परीक्षणको रिपोर्ट आएपछि लाइसेन्स प्रिन्ट सुरु गरिएको हो।

विभागका निर्देशक डा. लोकनाथ भुषालले बिहान, दिउँसो र बेलुका गरी तीन सिफ्टमा लाइसेन्स छाप्न लागिएको बताए। उनका अनुसार, विभागसँग रहेको मास प्रिन्टरले प्रति मिनेट चारवटासम्म कार्ड छाप्न सक्छ। साना मेसिनले दिनमा एक हजार प्रति लाइसेन्स छाप्छ। विभागसँग एउटा मास प्रिन्टर र साना चारवटा मेसिनहरु छन्। त्यस आधारमा दैनिक ८ हजारभन्दा धेरै कार्ड छाप्न सक्छ।

अहिले करिब चार लाख चालककले स्मार्ट लाइसेन्स नहुँदा रसिदको भरमा हिँड्नुपरेको छ। तीन महिनामा उक्त ब्याक लग सकेर सबैलाई लाइसेन्स वितरण गरिने उनको दाबी छ।

चार लाख ब्याक लकबाहेक नवीकरण गर्ने सेवाग्राहीले मात्रै स्मार्ट लाइसेन्स पाउनेछन्। अहिले ट्रायल पास गर्ने चालकलाई परीक्षणकालीन लाइसेन्स दिन थालिएको छ। उक्त लाइसेन्सको अवधि एक वर्ष हुन्छ। एक वर्षभित्र पाँच पटकभन्दा बढी कारबाहीमा परे लाइसेन्स स्वतः खारेज हुनेछ। पाँच पटक भन्दा कम कारबाहीमा परे स्वतः स्मार्ट लाइसेन्स पाइनेछ।

नवीकरण गर्नेलाई मात्र तत्काल लाइसेन्स दिइने हुँदा केही सहज हुने अपेक्षा गरिएको छ। यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले ब्याक लक छपाइ सकिएपछि नवीकरण गर्नेले १० दिनमै लाइसेन्स पाउने दाबी गरे। उनका अनुसार उपत्यकाबाहिर भने थप केही दिन लाग्न सक्नेछ।



ट्रेन्डिङ पोस्ट

Ncell