PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

माओवादी केन्द्रमा विचारको बहस : ‘पदके बात नाबा बेटा, विचारके बात बा'



विधुर ढकाल

माओवादी केन्द्रमा विचारको बहस : ‘पदके बात नाबा बेटा, विचारके बात बा'

बेटा : ‘ना तु मन्त्री बन्बे, ना तु सांसद होखबे, ना तोहराके प्रदेशमे कौनो पद मिलि, त तु काहेला काठमाडौं अइबे?’

बा : ‘पदके बात नाबा बेटा, विचारके बात बा।'

नेकपा (माओवादी केन्द्र)ले नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माण गर्ने नाराका साथ काठमाडौंमा ८ औं महाधिवेशन गरिरहेको छ। आइतवार उद्घाटन भएको महाधिवेशन १६ गते (शुक्रवार)सम्म चल्नेछ। १५ गते सम्मका लागि भन्दै सुरु भएको महाधिवेशनको बन्दसत्रमा समूहगत छलफल चलिरहेको छ। बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ र नेता राम कार्कीले पेस गरेको ‘केही पुरक, केही नविन प्रस्ताव’ पुरक प्रस्ताव तथा नेता देव गुरुङले पेश गरेको विधान प्रस्तावमाथि छलफल चलिरहेको छ।

नयाँ क्रान्तिकारी विचार निर्माणका लागि भन्दै देशभरबाट १६ सय बढी प्रतिनिधि तथा पर्यवेक्षक काठमाडौं आएका छन्। उनीहरुलाई माओवादी केन्द्रले रातीको बास र खानको व्यवस्था आफैँ गर्न भनेको छ। प्रतिनिधिहरु काठमाडौंमा आफन्तका डेराडेरामा राती पुग्छन्। दिनभर प्रज्ञा भवन, पार्टी मुख्यालय पेरिसडाँडा र काठमाडौंका केही पार्टी प्यालेसहरुमा भेला हुन्छन्।

बाबु र छोराबिचको माथिको संवाद चाहिँ सोमवार साँझ बागबजारको आकाशे पुलमा सुनिएको हो। प्रदेश २ बाट प्रतिनिधि बनेर आएका अर्धवैंशे र अर्का किशोर गन्तव्य तर्फ हिँड्दै संवाद गरिरहेका थिए। पर्साबाट आएका ती प्रतिनिधि कीर्तिपुर छोराको डेरामा जाँदै थिए।

पार्टीले बासको व्यवस्था नगरे पनि उनीहरु विचारको बहसका लागि काठमाडौं आएको बताउँछन्। अर्का एक प्रतिनिधि सैनिक मञ्च र खुलामञ्चको बिचमा रहेको पैदलमार्गमा मोबाइलमा कुरा गर्दै  थिए - ‘म यो खुलामञ्चको बिचमा छु। यहीँ आउनु यही कुर्छु।’

उताबाट के जवाफ आयो थाहा भएन् - सायद अर्कोतर्फ मोबाइलमा बोल्नेले प्रश्न गरेका थिए- ‘पार्टीले खान बस्न व्यवस्था गरेन्?’

उनको जवाफबाट अनुमान लगाइयो- ‘तडकफडक होइन, पार्टीले आफ्नो व्यवस्था आफैँ गर्न भनेको छ। ठिकै छ - विचार निर्माणको कुरा हो राजनीतिक यात्राको कुरा हो। अहिले खर्च बचाएर क्रान्तिका लागि बचत हुन पनि सक्ला।’

यसरी आफ्नो बास र गासको व्यवस्था गर्दै प्रतिनिधिहरु दस्तावेज माथिको छलफलमा दिनभर व्यस्तछन्। १५ गतेसम्मका लागि तय भएको महाधिवेशनमा पुरक प्रस्ताव पनि परेपछि छलफलका लागि समय थपिएको छ।

रौतहटका विन्देश्वर राय यादवले नयाँ विचारका लागि छलफल चलिरहेको बताए। ‘हामी क्रान्तिकारी विचार निर्माणका लागि बहस गरिरहेका छौँ,’ उनले भने, ‘अध्यक्षले ल्याएको दस्तावेज वैज्ञानिक छ। यसलाई थप बस्तुवादी बनाउनका लागि छलफल आवश्यक छ। त्यसमा केही समेट्नुपर्ने कुरा छुटेका छन्। छुटेका कुरालाई थप गर्नुपर्छ भनेर धारणा राखेको छु।’

उनले संविधान निर्माणमा संघीयता, समावेशी लगायतका विषय छुटेको भन्दै त्यसलाई समेट्नुपर्ने बताए। ‘पूर्ण समावेशी, भाषिक, जातजातिसहित आत्मनिर्णयको अधिकार दिने कुरा हामीले गरेका थियौँ,’ उनले भने, ‘संघीयता आउँदा यी कुराहरु मिसिङ छन्। त्यसलाई पनि प्रतिवेदनमा समेट्नुपर्छ।’

बाराकी लीलाकुमार खनालले पनि प्रचण्डको प्रतिवेदन मुलत: पूर्ण रहेको र केही परिमार्जनसहित पारित हुने बताइन्।

प्रतिनिधिहरु बिचको छलफलका क्रममा ‘प्रचण्ड-पथ’लाई विकसित गरेर लैजानुपर्ने धारणामा पनि आएको एक प्रतिनिधिले बताए। अध्यक्ष प्रचण्डले पेश गरेको प्रतिवेदनमा पुन: ‘प्रचण्ड-पथ’लाई स्थापित गर्ने कुरालाई पश्चगामी भने पनि कार्यकर्ताहरुले त्यसलाई विकास गरेर स्थापित  गर्नुपर्ने कोणबाट छलफल भएको छ।

‘वास्तवमा प्रचण्ड-पथका बारेमा पार्टीभित्र गम्भीर बहस, छलफलसहित सम्भव भए राष्ट्रिय सम्मेलन, सो सम्भव नभए कम्तिमा केन्द्रीय समितिको बैठक मार्फत् त्यसबारे एकरुप धारण बनाएर निर्णय लिनुपर्दथ्यो। तर, शान्ति प्रक्रियामा आएपछि विचार र नेतृत्वबारे आवश्यक बहस, छलफल गरी निष्कर्ष निकाल्ने काम गर्न सकिएन,’ अध्यक्ष प्रचण्डको प्रतिवेदनमा भनिएको छ, ‘यी दुवै नगरी अत्यन्त हलुका ढंगले विषयलाई पन्छाइनु गलत भएको छ। यस सन्दर्भमा कतिपय कोणबाट पुन: प्रचण्ड-पथ स्थापित गर्नुपर्ने हो कि भन्ने तर्क उठेको देखिन्छ। अब त्यसरी सोच्नु विल्कुल पश्चगामी सोच हुन पुग्दछ। र, त्यसी सोच्नु पनि हुँदैन।’

तर, प्रतिनिधिहरु प्रचण्ड-पथ छाड्नु भुल थियो भन्ने दस्तावेजको निष्कर्षलाई सुधार गर्नका लागि पनि प्रचण्ड-पथ कार्यान्वन गर्नुपर्ने सुझाव आएको एक नेताले बताए।

‘हिजो हाम्रोभन्दा पुरानो जबजलाई एमालेले बोकिरहेको छ। हाम्रो आफ्नो पहिचान र संघर्ष जोडिएको प्रचण्ड-पथको हामीले संरक्षण गर्न सकेनौँ,’ ती प्रतिनिधिले भने, ‘हाम्रो मौलिक विचार हामीले दिनुपर्छ। जबज भन्दा पछि बैज्ञानिक रुपले जनयुद्धलाई दिशानिर्देश गरेको विचार थियो प्रचण्ड-पथ। यसलाई परिस्कृत गर्दै अहिलेको वस्तुनिष्ट अवस्थालाई हेरेर हामीले यसलाई अगाडि बढाउनुपर्छ।’

ती प्रतिनिधिले मार्क्सवाद पनि देशकाल र परिस्थिति अनुसार परिस्कृत गर्नुपर्ने र कार्यान्वयन गर्नुपर्ने भन्दै ‘प्रचण्ड-पथ’लाई पनि छलफल गरी बस्तुनिष्ठ ढंगले परिस्कृत गर्दै आफ्नो विचार दिनुपर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell