PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

लिगको छैटौं चरण सकिँदा किन प्रशिक्षकहरु रेफ्रीसँग असन्तुष्ट छन्? कौरको जवाफ : लडेंगे तो बढेंगे



मुकुन्द घिमिरे

लिगको छैटौं चरण सकिँदा किन प्रशिक्षकहरु रेफ्रीसँग असन्तुष्ट छन्? कौरको जवाफ : लडेंगे तो बढेंगे
तस्बिर: एन्फा

काठमाडौं : शहीद स्मारक 'ए' डिभिजन लिगमा छैटौं चरणको खेल सकिँदै गर्दा प्रतियोगिताभर कोही सबैभन्दा धेरै निशानामा छन् भने ती रेफ्रीहरु नै हुन्। 'ए' डिभिजन लिग सुरु भएदेखि नै रेफ्रीहरुको विवाद सतहमा आएको थियो। मङ्सिर १७ गते 'राजीनामा गरिपाउँ' भनेर रेफ्रीहरुले अखिल नेपाल फुटबल संघ एन्फाका महासचिवलाई पत्र नै बुझाएका थिए। उनीहरुको असन्तुष्टिको विषय थियो फिटनेस टेस्ट।

एन्फाले लिगको मध्यतिर फिटनेश टेस्ट गराउने प्रकृया अगाडि बढायो। रेफ्रीहरुले लिगको बिचमा टेस्ट गराउन नहुने तर्क गरिरहेका थिए। पछि यसै विवाद सेलायो पनि। फिटनेश टेस्ट गराउने विषयको सुत्रधार चाहिँ गौतम कौर थिए जसका कारण रेफ्रीहरु चिडिएका थिए। एन्फाले भित्र्याएको रेफ्री डिरेक्टर हुन् गौतम कौर। उनको 'हेपाहा व्यवाहार' लाई लिएर नेपाली रेफ्रीहरु चिडिएको थिए।

लिगको सातौं चरण शुक्रवारबाट सुरु हुँदैछ। छैटौं चरणको खेल सकिँदा केही क्लबका प्रशिक्षक रेफ्रीसँग अन्तुष्टि पोखिरहेका छन्। यसमा सबैभन्दा अघि रहेका छन् कुपण्डोलको टिम फ्रेन्ड्स क्लबका प्रशिक्षक मृगेन्द्र मिश्र। उनले सार्वजनिक रुपमा योग्य रेफ्रीहरु हुँदाहुँदै अयोग्यलाई अवसर दिएको भन्दै एन्फाको आलोचना गरिरहेका छन्।

'नेपालमा रेफ्रीहरु गुणस्तरीय छन्। तर, यहाँ नयाँ रेफ्रीहरुको प्रयोग गरिदियो। 'सी' डिभिजन खेलाइरहेकाले 'ए' डिभिजन खेलाउँदा त गाह्रो भइहाल्छ नि,' फ्रेन्ड्स क्लबका प्रशिक्षक मिश्रले पहिलोपोस्टसँग भने, 'उनीहरुको टेस्ट पनि गराएनन्। म्याच अघि फिटनेस टेस्ट गराउनुपर्थ्यो। हामीले त त्यो अहिलेसम्म देखेको छैन।'

रेफ्री डाइरेक्टरमा भारतीय नागरिक रहँदा यहाँको अवस्थाप्रति उनी जानकार नरहेको हुनसक्ने उनको तर्क छ।

'उनलाई त यहाँको थाहा हुँदैन नि। कुन रेफ्री कुन क्षेत्रमा बस्छ, त्यो क्षेत्र पनि हेरिदिनु पर्‍यो। क्लबसँग आवद्ध छ कि छैन, हेर्नुपर्‍यो। सबै बुझेर पो खटाउनु पर्‍यो त,' उनले भने, 'रेफ्री भनेको न्युट्रल म्यान हुनुपर्‍यो। फिफा रेफ्री हुँदाहुँदै अरु रेफ्री खटाइएको छ। फिफा एसिस्टेन्ट रेफ्री पनि थिए। नयाँ रेफ्रीहरुले स्कुल लिग, सी डिभिजन खेलाउने पो हो त।'

रेफ्रीकै कारण एपीएफ र मनाङसँगको नजिता प्रभावित बनेको उनको आरोप छ। एपीएफसँगको खेलमा फ्रेन्डसले बनाएको अग्रतालाई रेफ्रीले अफसाइट दिँदा खेलाडीको मनोबलमा असर गरेको र पराजीत हुन पुगेको उनको दाबी छ।

'एपीएफसँगको खेलमा सिधै अफसाइट दियो। त्यसपछि एपीएफले पेल्यो र जित्यो पनि,' उनले भने, 'मैले पनि पनि टीभीमा हेरेँ, त्यो अफसाइड थिएन,' उनले दाबी गरे, 'मैले क्लबमा म्यानेजर र प्रेसिडेन्टलाई यो विषयमा जानकारी गराइसकेको छु। मनाङको गेममा पनि रेफ्री चित्त बुझेन। ज्ञानेश्वरमा मनाङले अभ्यास गर्छ, त्यहीँको मान्छेलाई खेलाउन दिएको थियो। यस्तोमा न्युट्रल खेलाउन त उसलाई नि गाह्रो हुन्छ।' उनका अनुसार मनाङको फ्रि किक दिनुमा उनले रेफ्रीको 'कन्फ्लिक्ट अफ इन्ट्रेस्ट' मानेका छन्। त्यही फ्रि किकबाट मनाङले दोस्रो गोल गरे थियो। र, फ्रेन्डस हार्न पुग्यो।

मिश्रजस्तै खुलेर रेफ्रीको आलोचनामा उत्रिएका अर्का प्रशिक्षक हुन एपीएफका कुमार थापा। उनले क्षमतावान रेफ्री हुँदाहुँदै नयाँलाई अवसर दिएर हेलचेक्र्याइ गरेको आरोप लगाए। एनआरटीसँगको खेलपछि आक्रोशित बनेका उनले रेफ्रीको क्षमतामाथि औंला तेर्स्याए।

'एपीएफले जित्नुपर्ने थियो। कमब्याक गर्‍यो, त्यो सकारात्मक छ। तर, रेफ्रीको क्वालिटी नपुगेको हो कि होइन?,' उनले प्रश्नसहित व्याख्या गरे, ' हामीले दुइवटा पेनाल्टी पाउनुपर्ने हो। राइट टाइम राइट, डिसिजन लिनुपर्ने रेफ्रीलाई सिकाउने कुरा भएन। तर यस्तो रेफ्रीले यत्तिको म्याच खेलाउनु उपयुक्त होइन। रेफ्रीको निर्णयमा म सन्तुष्ट छैन।'

आफ्नो टिम मात्र नभई अन्य खेलमा पनि रेफ्रीको खराब निर्णयले खेल प्रभावित बनेको उनको बुझाई छ।

'हरेक टिमलाई प्रभावित पारेको छ। जे छ, त्यो तथ्यमा आधारित भएर गरेजस्तो देखिन्न,' उनले भने, 'परीक्षण गर्ने अवस्था यो होइन,' एपीएफका प्रशिक्षक थापाले भने।

अर्का प्रशिक्षक राजुकाजी शाक्य भने रेफ्रीलाई दोष नदिने बताउँदै केही नियम परिवर्तन भएको भए क्लबलाई जानकारी दिन आग्रह गरे। शाक्य एनआरटीका प्रशिक्षक हुन्।

'यहाँ टच गर्‍यो कि फल दिन्छ। बाहिर अर्कै नियम हुन्छ। एपीएफसँगको खेलमा खेलाडी मेसुकेलाई समातेर लडाएको थियो,' उनले भने, 'रेफ्रीहरुको समस्या छ भनेर दोष चाहीँ दिन्न तर क्लबलाई नियम थाहा छैन भने भन्नु पर्‍यो।'

किन हुँदैछ यस्तो?

रेफ्रीको स्तरमाथि अप्रत्यक्ष रुपमा लिगको सुरुवाती चरणबाटै अनौपचारिक रुपमा प्रशिक्षकहरु बोल्न थालेका थिए। पछिल्लो समय भने खुला रुपमै यस विषयलाई लिएर बोल्नेहरु धेरै छन्। केही हप्ताअघि एन्फामा भएको छलफलका क्रममा रेफ्रीको स्तरबारे पनि कुरा उठेको थियो। जसमा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले रेफ्री डिरेक्टर बाहिरबाट ल्याएर काममा राखिसकेपछि उसलाई विश्वास पनि गर्नुपर्ने सुनाएका थिए। उनको आशय थियो : रेफ्री कमिटीले क्षमता हेरेरै नयाँ रेफ्रीहरुलाई अवसर दिइरहेको छ।

अध्यक्ष शेर्पाले बचाउ गरे पनि रेफ्री कमिटीमा समस्या भइरहेको एक सिनियर रेफ्रीले सुनाए।

'एन्फाले एकजना रेफ्री डाइरेक्टर ल्याउनु भयो। उहाँले विकासको नाममा परिवर्तन देखाउने हिसाबमा नयाँहरुलाई प्रयोग गरेको चाहिँ हो,' नाम उल्लेख नगर्ने शर्तमा ती रेफ्रीले भने, 'एकदुई जना त काठमाडौंमा म्याच नै नखेलाएको रेफ्रीहरु पनि रहेछन्। उनीहरुलाई सिधै 'ए' डिभिजन खेलाइयो। उनीहरुले स्कुल गेम पनि खेलाएको छैन। तर, 'ए' डिभिजनमा डेभ्यु गराइए। त्यसैले समस्या आएको हो।'

रेफ्रीमा अपग्रेड हुँदा केही वर्ष फोर्थ अफिसियल बस्ने परम्परा नै थियो। त्यो अहिले मासिएको उनले सुनाए। 'अहिलेका भाइहरुलाई एकै पटक टफ गेममा मौका दिइएको छ। विदेशी खेल कर्मचारीले पुराना र अनुभवी व्यक्तिहरुसँग समन्वय गरेका थिए भने यस्तो समस्या आउँदैन थियो,' उनले भने, 'उहाँ (कौर) खाली मै हुँ भन्ने। म आएपछि परिवर्तन देखाउनुपर्छ भन्ने। हिटलर नेचरको हुनुहुन्छ। त्यसकै कारण हामी राजीनामा दिने अवस्थासम्म पुगेका थियौं।

रेफ्रीहरुले यसै विषयलाई लिएर कौरसँग कुरा नगरेको चाहिँ हैन। तर, उनीहरुले पाउने जवाफ हो: लडेँगे तो बडेँगे। नेपालमा जसरी कौरले रणनीति लिएका छन् त्यसरी भारतीय लिगमा लिन नसक्ने सिनियर रेफ्रीहरुको तर्क छ। उनीहरु प्रश्न गर्छन् के उनी भारतको आईएसएल वा आईलिगमा जस्ता लिगमा यस्तो जोखिम लिन सक्नुहुन्छ?

'रेफ्रीहरुले पहिला 'सी' डिभिजन खेलाउने, 'बी' खेलाउने अनि 'ए' मा फोर्थ अफिसियल बनाएर मात्र रेफ्रीका रुपमा मैदानमा पठाउने हो। तर यहाँ प्रकृयाको कुरा छाडौं स्कुलमा समेत खेल नखेलाएकाले ए डिभिजनमा डेब्यु पाएका छन्,' ती रेफ्रीले भने।

अर्कोतर्फ ए डिभिजन लिगका डाइरेक्टर सञ्जीव मिश्र रेफ्रीहरुको निर्णयमा सबै चित्त बुझाउन नसकिए पनि असक्षम रेफ्रीहरुलाई अवसर नदिइएको दाबी गर्छन्।

'रेफ्रीको निर्णय सँधै चित्तबुझ्दो त हुँदैन। चित्त बुझाउन पनि सकिँदैन। कम्पिटिसन कमिटीलाई, लिग कमिटीलाई, रेफ्री कमिटीले उपलब्ध गराउँछ। कमी कमजोरी भयोहोला। तर एकदमै असक्षम र गलत रेफ्रीहरु राखेको भन्ने होइन,' डाइरेक्टर मिश्रले भने, 'हामीलाई रेफ्री कमिटीले, रेफ्री डिपार्टमेन्टले रेफ्री पठाउने हो। यसमा हामीले हस्तक्षेप गरेको छैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell