PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

प्रदेश २ को नाम र राजधानी टुंगो लगाउन १६ सदस्यीय समिति गठन, सहमति नजुटे निर्वाचन!



राधेश्याम पटेल

प्रदेश २ को नाम र राजधानी टुंगो लगाउन १६ सदस्यीय समिति गठन, सहमति नजुटे निर्वाचन!

वीरगंज : प्रदेश २ को नाम र राजधानीको नामाकरण गर्नको लागि सहमित जुटाउन १६ सदस्यीय समिति गठन भएको छ। प्रदेश २ को प्रदेशसभाको मंगलवारको बैठकले सभामुख सरोजकुमार यादवको सभापतित्वमा १६ सदस्यीय समिति गठन गरेको छ।

सभामुख यादवको सभापतित्वमा गठित ‘राजधानी तथा नामकरणसम्बन्धी अध्ययन विशेष समिति–२०७८’ मा हरेक दलबाट दुई–दुई जना दलका प्रतिनिधिहरु रहेका छन्। उक्त समितिले विभिन्न चरणको छलफल वा अन्तक्रिर्यामार्फत १५ दिनभित्र प्रतिवेदन तयार पारी प्रदेश सभामा पेश गर्नेछ। पेश गरिएको प्रतिवेदनका आधारमा प्रदेशसभाबाट नाम र राजधानी तय गरिनेछ। सहमति नजुटे प्रदेशसभामा निर्वाचन प्रक्रियाबाट नाम र राजधानी तोकिने प्रदेश सभाको तयारी छ।

मधेस प्रदेश र जनकपुर राजधानीको लागि ६ प्रदेश सांसद आवश्यक

प्रदेश २ को स्थायी राजधानीको लागि पर्साबाहेक बाँकी ७ जिल्लाका प्रदेश सांसदहरुको आपसी सहमति जनकपुर नै राजधानी राख्नु पर्ने रहेको छ। प्रदेश सांसदहरुका अनुसार पर्साका ८ प्रदेश सांसदबाहेक अधिकांशको जनकपुर राजधानी बनाउने इच्छा छ। त्यसकारण राजधानीको विषयमा सहमति जुट्न सकिने सम्भावना प्रबल रहेको छ भने प्रदेशको नामाकरणको सवालमा पनि मधेस प्रदेशको पक्षमा पनि सहमति नजिक पुगिएको जसपाका एक प्रदेश सांसदले बताए। उनका अनुसार प्रदेश २ मा १०३ प्रदेश सांसद रहेकोमा दुई तिहाई बहुमतको लागि ६९ जना प्रदेश सांसदको साथ पुग्ने सम्भव हुने देखिएको छ। ६९ मध्ये ६३ जना प्रदेश सांसदको सहमति मधेस प्रदेशमा भइसकेको बताइएको छ।

नेपाली कांग्रेसका १९ जना सांसद र नेकपा एकीकृत समाजवादीका १३ जना प्रदेश सांसदमध्ये ६ जनालाई सहमतिमा ल्याएर सहजै सहमति गर्न सकिने सम्भावना छ। केन्द्र सरकारमा कांग्रेस, माओवादी, जनता समाजवादी र नेकपा एकीकृत समाजवादीको गठबन्धनको सरकार रहेकोले एकीकृत समाजवादीबाटै प्रदेश सांसदलाई सहमतिमा ल्याई प्रदेशको नाम मधेस प्रदेश राख्ने योजनामा छन् मुख्यमन्त्री लालाबाबू राउत। पर्सा क्षेत्र नं ३ खका लोसपाका प्रदेश सभा सदस्य प्रह्लाद गिरीले मधेस प्रदेशको नामको कारण आफूहरु मधेस प्रदेशमा सहमति जनाएको बताए। यसअघि लोसपा जसपामा हुदाँ मधेस प्रदेश नै माग गरेको थियो। नेपाली काँग्रेस मिथिला–भोजपुरा, नेकपा(एमाले,माओवादी र एकीकृत समाजावदी)ले जानकी प्रदेश माग गरेका थिए। प्रदेश सभामा हाल जसपाको ३९, कांग्रेसको १९, लोसपाको १६, नेकपा एकीकृत समाजवादीको १३, नेकपा एमाले र माओवादी केन्द्रको ८–८ गरी कुल १०३ प्रदेश सभा सदस्यहरु रहेका छन्।

यी हुन् १६ सदस्यीय समितिका सदस्यहरु

१. सभामुख सरोजकुमार यादव – सभापति

२. उपसभामुख उपमा देव – उपसभापति

३. उपेन्द्रप्रसाद कुशवाहा – सदस्य

४. किशोरी साह (कमल) – सदस्य

५. जगतप्रसाद यादव – सदस्य

६. दिलीपकुमार साह – सदस्य

७. परमेश्वर साह – सदस्य

८. विन्देश्वरप्रसाद यादव – सदस्य

९. शत्रुधन महतो – सदस्य

१०. शारदादेवी थपा – सदस्य

११. शिवचन्द्र चौधरी – सदस्य

१२. शैलेन्द्रकुमार यादव – सदस्य

१३. सञ्जयकुमार यादव – सदस्य

१४. सावित्रीदेवी साह – सदस्य

१५. सुन्दरबहादुर विश्वकर्मा – सदस्य

१६. सुरीता साह – सदस्य



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell