PahiloPost

Nov 26, 2024 | ११ मंसिर २०८१

३ लाख ६३ हजार किलो 'अफिमको दाना' कसरी भित्रियो नेपाल? लेखराज भट्ट मन्त्री हुँदाको निर्णयले फैलाउने त होइन लागु औषधको खेती?



सविन ढकाल

३ लाख ६३ हजार किलो 'अफिमको दाना' कसरी भित्रियो नेपाल? लेखराज भट्ट मन्त्री हुँदाको निर्णयले फैलाउने त होइन लागु औषधको खेती?

काठमाडौं : 'नियमित भन्दा फरक केही सामान आइरहेको छ। लागु औषधि पनि हुनसक्छ।'

गएको कात्तिक पहिलो साता प्रहरीलाई सुचना आयो विमानस्थलबाट। लागु औषध नियन्त्रण व्यूरोको टोली त्रिभुवन विमानस्थलको भन्सार कार्यालयतिर लाग्यो।

प्रहरीलाई लागु औषध नै भएको सुचना चाहिँ आएको थिएन। सबै कानुनी प्रकृया पूरा गरेर तोकिएको कोटामा आएको पोस्तादाना (अफिमको बियाँ) भन्ने थियो। यही बियाँ लागु औषध त होइन? प्रहरीले अनुसन्धान सुरु गर्नु अघिको आशंका यही थियो।

अनुमतिका सबै प्रकृया पूरा गरेर भित्रिएको पोस्तादाना (अफिमको बियाँ) अङ्कुरण हुने प्रकारको भेटिएको छ। विभिन्न कम्पनीले विदेशबाट आयत गरिएको पोस्तादाना उम्रिने खालको रहेको खुलेको छ। मिठाइमा प्रयोग हुने पोस्तादान उम्रिने गुणको भेटिएपछि यो विषय अहिले प्रहरीको अनुसन्धानमा तानिएको छ। यसरी भित्र्याइएको पोस्तादान उम्रियो भने अफिमको बिरुवा बन्छ। अफिम लागु औषध हो जसको नेपालमा खेती गर्न निषेध छ।

लागू औषध नियन्त्रण व्युरोका प्रहरी जसरी परिचालित भएका थिए, त्यो चाहिँ यस प्रकरणमा देखिएन। आयत गरिएको पोस्तादानामा लागु औषधको मात्र भेटिएन। त्यसै अनुसार अनुसन्धान पनि अगाडि बढेन। लागु औषध नियन्त्रण ब्युरोले गत कार्त्तिकमा नेपालमा विदेशबाट पोस्तादाना आयत भइरहेको र लागु औषधको मात्र हुनसक्ने भनेर अनुसन्धान गरेको थियो। विभिन्न प्रयोगशालामा परीक्षण गर्दा लागु औषधको मात्र नभेटिएपछि प्रहरी अनुसन्धानबाट बाहिरियो।

टर्की हुँदै नेपाल आएको पोस्तादाना प्रहरीले परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (नास्ट) र केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्न पठाएको थियो। कार्तिक १४ गते दुवै प्रयोगशालामा परीक्षणको लागि पठाएको हो। त्यसको दुई दिन अर्थात् कार्तिक १६ गते नास्टले आयत गरेको पोस्तादानामा लागु औषध नभएको भन्दै ब्युरोलाई पत्राचार गरेको थियो।

तर, लागु औषधको मात्रा नभेटिए पनि यसरी आयात गरिएको पोस्तादाना उम्रिने क्षमता भएको खुल्यो, त्यो पनि तीब्र रफ्तारमा। लागु औषध नियन्त्रण ब्युरोको टोलीले कार्तिक १४ गते वनस्पति विभागलाई आयात गरिएको पोस्तादाना उम्रिने हो या होइन भनेर परीक्षण गर्न पठाएको थियो। यसरी परीक्षणका लागि पठाएको डेढ महिनापछि विभागले पोस्तादाना उम्रिने खालको रहेको भन्दै पत्राचार गरेको थियो। मङ्सिर २९ गते वनस्पती विभागले पठाएको पत्रमा पोस्तादाना 'अङ्कुरण' हुनसक्ने भन्दै पत्राचार गरेको हो। यसरी पठाइएको नमुनामा ९० प्रतिशत उम्रनसक्ने क्षमता देखियो। अर्थात्, जति पोस्तादाना छर्‍यो 'ह्वारह्वार्ती' उम्रिने।

यस प्रकरणमा लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार प्रहरीले आयातकर्तालाई कारबाही गर्ने कुनै आधार भेटेन।

अनुसन्धानका क्रममा सरकारी मापदण्ड पूरा गरेर ड्राइ फुडका रुपमा पोस्तादाना खरिद गरेको भने पुष्टि भएको छ। तर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन अनुसार पनि उम्रिने क्षमता भएका कुनै पनि वस्तु यसरी आयात गर्न पाइँदैन। नेपाल साइटिसमा हस्ताक्षर गर्ने मुलुक भएकाले पनि यस्ता वस्तु आयात निर्यात गर्न पाउँदैन। विरुवा संरक्षण ऐन २०६४ ले अनुमतिविना विरुवाजन्य उपज (बीऊ) आयात गर्न निषेध गरेको छ। तर, नेपालमा यस ऐनअनुसार निवेदन दिएर यस्ता उम्रिनसक्ने ड्राइ फुड भित्रिएको देखिन्न।

२०७७ चैत ३१ गते धनलक्ष्मी फुड प्रालिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट १ सय ४४ मेट्रिक ट्रन पोस्तादाना (अफिमको बियाँ) आपूर्ति गर्न स्वकृति पाउँदा विरुवा संरक्षण ऐनलाई नजरअन्दाज गरेको देखिएको छ। तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले केही समयदेखि राज्यबाट नै रोकिएको पोस्तादानालाई आयत गर्न स्वीकृति दिएका थिए। मन्त्रालयले २ हजार मेट्रिक टन पोस्तादान आयात गर्न कोटा निर्धारण गरेको थियो।

'केही समय अगाडि हामीले कोटा निर्धारण गरेका थियौँ। कुन कम्पनीलाई कसरी आयात गर्न वाणिज्य विभागले स्वीकृति दियो उतै सोध्नु होला,' उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डाक्टर नारायणप्रसाद रेग्मीले भने।

झापाका व्यवसायी प्रदीप मित्तलको समूहलाई २ हजार टन पोस्ता दानाको पैठारी गर्ने अनुमति दिएको थियो सरकारले। त्यस्तै, वैभव ट्रेड कन्सर्न, कुवेर एक्जिम प्रालि, राठी ट्रेडिङ लगायत कम्पनीहरूले पोस्तादान ल्याउनको लागि स्वीकृत पाएका थिए। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उनीहरुलाई स्वीकृति दिएको थियो।

गएको कार्तिक महिनादेखि हवाई मार्ग हुँदै नेपालमा पोस्तादाना भित्रिन थालेको हो। टर्की हुँदै काठमाडौँसम्म हजारौँ किलो पोस्तादाना भित्रियो। प्रहरीले विमानस्थलमा अस्वाभाविक मात्रमा पोस्तादान आएको जानकारी पाएपछि शङ्का लागेर अनुसन्धान थालेको थियो।

'यसमा लागु औषध पाइएन। लागु औषध भएको भए मुद्दा चलाउन मिल्थ्यो। तर, उम्रिने क्षमता भएकाले यो लागू औषध नियन्त्रणका लागि थ्रेट बनेको छ। कसैले यो छर्‍यो भन्ने अफिम बन्ने भएकाले यो अनुसन्धानको विषय भने हो,' लागु औषध नियन्त्रण ब्युरोका प्रमुख एसएसपी हृदय थापाले भने।

लागु औषध नियन्त्रणको अनुसन्धान बाहिर रहे पनि विरुवा संरक्षण ऐन २०६४ अनुसार यसप्रकारको आयात गैरकानुनी ठहर्छ। ऐनले यसरी आयात भएका वस्तु जफत गरी नष्ट गर्नसक्ने प्रष्ट व्यवस्था गरेको छ।

टर्कीबाट आयात भारतमा तस्करी !

पोस्ता दाना भनेको अफिमको बिरुवामा लाग्ने दाना हो। यो अफिमको बियाँ नै हो। तर, खानेकुरामा प्रयोग हुने पोस्तादानामा लागु औधको मात्र भने हुँदैन। अफिम नार्कोटिक अर्थात् लागूपदार्थ भएजस्तो पोस्तादाना चाहिँ होइन। यसलाई फल अन्तर्गत लिइएको छ। यसको प्रयोग विशेषतः मसलामा गरिन्छ। प्रायः होटल, विभिन्नखाले भोजमा यसको प्रयोग हुने गर्छ। सबैभन्दा धेरै चाहिँ मिठाइमा प्रयोग हुनेगर्छ।

होटेलमा पनीर बटर मसला, मटर पनीर, चिकन करी, मिक्स भेज करी लगायतका सबैजसो करी र झोलिलो आइटममा कुकले प्रयोग गर्ने ग्रेभीमा पोस्ता दानाकै प्रयोग हुन्छ। यसबाहेक सेल रोटी र अनरसाको मसलामा पनि पोस्तालाई प्रयोग गरिँदै आएको छ।

नेपालमा चालु आर्थिक वर्षभित्रमात्रै ३ लाख ६३ हजार किलोग्रामभन्दा धेरै पोस्तादाना नेपाल भित्रिएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ। यसरी भित्रिएको पोस्तादाना कहाँ गयो भन्ने खुलेको छैन। के यसरी आएको पोस्तादाना मिठाइ वा अन्य खानेकुरामा प्रयोग भयो त? यतिका धेरै मात्रामा नेपालमा पोस्तादानाको माग छ त? यी प्रश्नको जवाफ सम्बन्धित निकायहरूले खोजेको देखिँदैन। नेपाल र भारतमा पोस्तादानाको मूल्य फरक छ। भारतमा प्रतिबन्ध लगाएको कारणले पनि नेपालबाट भारत तस्करी हुने गरेको देखिएको छ।

'टर्कीबाट आएको पोस्तादाना झापा र मोरङ गएको देखिएको छ। भारतीय सीमाना नजिकै स्टोर गर्नुले भारततिर नै तस्करी भएको देखाउँछ,' एक प्रहरी अधिकृतले भने।

'हामीले सरकारले निर्धारण गरेको कोटा अनुसार अनुमति मात्र दिएका हौँ। कानुनमा पोस्तादानको कुनै वर्गीकरण गरेको छैन,' वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रेमकुमार श्रेष्ठले भने। त्यस्तै, आफूहरूलाई उम्रिने वा नउम्रिने भन्ने कुनै जानकारी नभएको समेत उनले बताए।

तर, विरुवा संरक्षण ऐनले भने उक्त ऐनअनुसारको प्रकृया पूरा नगरी भन्सार कार्यालयले कुनै पनि प्रकृया अगाडि बढाउन नहुने प्रष्ट पारेको छ।

रुकुममा भएको अफिम खेती नष्ट गर्दै प्रहरी। फाइल फोटो

संयुक्त राष्ट्र सङ्घको अफिस अन ड्रग एन्ड क्राइम अन्तर्गत नार्कोटिक्स कन्ट्रोल बोर्डको स्वकृति लिएर मात्र यस्तो सिड आयात गर्न पाइन्छ। तर, नेपालका फरक निकायलाई वेवास्ता गरेर पोस्तादाना भित्रिएको छ। यसरी भित्रिएको पेस्तादानाले अफिम उत्पादन गर्ने देखिए पनि सम्बन्धित निकायले चासो नदिँदा तस्करीमात्र होइन लागु औषध प्रवर्द्धन हुने त्रास फैलिएको छ।

भारतमा आयात प्रतिबन्ध छ पोस्ता दाना भित्र्याउन। तर, नेपाल भित्र्याउन पूर्व माओवादी तथा हाल नेकपा एमालेका नेता समेत रहेका लेखराज भट्ट मन्त्री रहँदा गरिएको यो निर्णयले शंका पैदा गरेको छ। एक वर्ष अघिमात्र रुकुम जिल्ला प्रहरीले एउटा सूचना जारी गरेको थियो जसमा - अफिम खेती नगर्न सर्वसाधारणलाई चेतावनी दिइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell