PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

ठगी प्रकरणमा इच्छाराज तामाङ : सरकारी वकिलको प्रतिउत्तर बहस सकियो



पहिलोपोस्ट

ठगी प्रकरणमा इच्छाराज तामाङ : सरकारी वकिलको प्रतिउत्तर बहस सकियो

काठमाडौं : बैकिङ कारोबारमा आफ्ना निक्षेपकर्तालाई ठगेको आरोप लागेका नेकपा एमालेका पूर्व सभासद् तथा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङको मुद्दामा सरकारी वकिलहरुको प्रतिउत्तर बहस सकिएको छ। आज दिउँसोबाट सरकारी वकिलहरुको प्रतिउत्तर बहस सकिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सह न्यायाधीवक्ता गंगाप्रसाद पौडेलले बताए।

तीन सातादेखि अदालतमा प्रतिवादीको थुन्छेक बयान, निजी वकिलको वकालत भइरहेको थियो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा फाइल बुझाएको थियो। जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा ठगी र सङ्गठित अपराधमा मुद्दा दायर गरेको थियो। अब अदालतबाट तामाङ लगायत अन्यलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी वा साधारण तारिकमा रिहा गर्ने आदेश हुनेछ।

तामाङ लगायत ४२ जना विरुद्ध अदालतमा मुद्दा दायर भएको हो। जिल्ला अदालत काठमाडौंमा उनीहरू विरुद्ध ५ अर्ब ७७ करोड ८० लाख ९० हजार ९ सय २ रुपैयाँ बिगो सहित ठगी र सङ्गठित अपराधमा मुद्दा दर्ता भएको हो। अदालतमा दर्ता भएको अभियोगपत्रमा तामाङ विरुद्ध ठगी मुद्दामा पाँच वर्ष कैद, बिगो बराबरको जरिवाना र ठगिएको रकम तिर्न माग गरिएको छ। त्यस्तै सङ्गठित अपराध गरेको पुष्टि भएमा ५० प्रतिशत थप कैद र जरिवाना हुनेछ। सरकारी वकिल कार्यालयले दर्ता गरेको अभियोगपत्रमा तामाङको नाममा रहेको ९८ रोपनी जग्गा रोक्का गर्न समेत माग गरिएको छ।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले तामाङ सहित गत असोज १८ गते ठगी आरोपमा १२ जना पक्राउ गरेको थियो। अन्य ३० जना फरार रहेको प्रहरीले जानकारी दिएको छ। तामाङ सञ्चालक रहेको सिभिल सहकारीबाट अर्बौ रुपैयाँ ठगी भएको र त्यसमा उनको प्रत्यक्ष संलग्नताको आरोप छ। तामाङ, सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठसहित सिभिल १२ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा सहकारीका कर्मचारी समेत रहेका छन्। प्रहरीले विजयविक्रम साह, एलिना तुलाधर, बुद्धराज तामाङ, कैस्तुभ चेतन ढुङ्गाना, भगवानबहादुर सिंह, संगित श्रेष्ठ, शंकरप्रसाद पाठक, मायानानी महर्जन, राकेश महर्जन र हरिहर प्रसाद लामिछानेलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell