
काठमाडौं: नेकपा (माओवादी केन्द्र) को ८औं महाधिवेशन अन्तर्गत बन्दसत्र जारी छ। बन्दसत्रमा आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रस्तुत गरेको दस्तावेज, नेता राम कार्कीले प्रस्तुत गरेको पुरक प्रस्ताव र नेता देव गुरुङले पेश गरेको विधानसम्बन्धी प्रस्तावमाथि टोली नेताहरुले आफ्नो धारणा राख्न थालेका छन्।
धारणा राख्ने क्रम शुक्रवारका लागि सकिएको छ। साँझसम्म ११ टोलीका तर्फबाट दस्तावेजमाथि आफ्नो धारणा राखेका छन्। पार्टी प्रवक्ता कृष्णबहादुर महराका अनुसार साँझसम्म प्रदेश १ को दुई समूह, प्रदेश २, वाग्मती, गण्डकी, कर्णाली, सुदूरपश्चिम, प्रवास, विभाग, सल्लाहकार र आयोगका १/१ समूहका तर्फबाट टोली नेताले आफ्नो धारणा राखेका छन्।
यसरी धारणा राख्नेहरुले फरक मत नराखेको दाबी प्रवक्ता महराले गरे। उनका अनुसार दस्तावेजको मूल स्पिरिटलाई कायम राख्दै अन्तर्राष्ट्रिय परिस्थिति, सामाजिक अवस्था, देशको राजनीतिक परिस्थितिका विषयमा लिखित तथा मौखिक सुझाव आएका छन्।
बन्दसत्रमा प्रस्तुत दस्तावेजमाथि छलफल गर्नका लागि माओवादीले २५ वटा समूह बनाएको थियो। जसमध्ये बाँकी १४ समूहले भोलि सुझाव/मत राख्ने छन्। बन्दसत्र १६ गतेसम्म चल्ने छ।